पाल्पा, स्वास्थ्य बिमा बापतको भुक्तानी नपाएपछि यहाँका अस्पतालहरुले उपचार सेवा बन्द गर्ने घोषणा गरेपछि जिल्लाका राजनीतिक दलहरुको ध्यानाकर्षण भएको छ । यहाँका ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले अस्पतालहरुले भुक्तानी नपाए सेवा बन्द गर्ने चेतावनी दिएपछि उनीहरुको ध्यानाकर्षण भएको हो ।
उनीहरुले अस्पतालहरुले स्वास्थ्य बिमाको रकम उपलब्ध नभएको बहाना बनाएर जनतालाई सेवा नै नदिने घोषणा गर्नु गलत भएको भन्दै निर्वाध रुपमा सेवा सञ्चालन गर्ने प्रवन्ध मिलाउन सम्बन्धित अस्पतालहरुको ध्यानाकर्षण गराएका छन् । कुनै पनि बहानामा नेपाल सरकारले जनतालाई उपलब्ध गराएको सुविधा रोक्न नमिल्ने नेपाली काँग्रेस पाल्पाले जनाएको छ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा स्वास्थ्य मन्त्री भएको समयमा ल्याएको स्वास्थ्य बिमा कार्यक्रमलाई विभिन्न बहानामा कमजोर गराउने प्रयत्न भैरहेको भन्दै बहानाबाजी नगर्न र सहज रुपमा सेवा निरन्तर दिनु अहिलेको आवश्यक रहेको काँग्रेसको ठहर छ ।
नेपाली काँग्रेसका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले स्वास्थ्य बिमा कार्यक्रम लागु भएका र कार्यान्वयन भएका अस्पतालहरुमा नियमित दाबी भुक्तानी गर्न आफूहरुले स्वास्थ्य बीमा बोर्डमा ध्यानाकर्षण गराएको बताए । काँग्रेस सभापति श्रेष्ठ भन्छन् ‘अस्पतालहरुले स्वास्थ्य बिमाको रकम उपलब्ध नभएको बहानामा जनतालाई सेवा नै नदिने घोषणा गर्न मिल्दैन । पार्टीको तर्फबाट हामीले प्रमुख जिल्ला अधिकारी तथा बिमा समितिसम्म कुराकानी गरिरहेका छौं । बक्यौता रकम पनि किस्ता किस्तामा प्राप्त भइरहेकै छ ।’ ‘२०७३/०७४ आर्थिक वर्षदेखिकै बक्यौता रहनुमा त्यस समयका सरकारको मुख्य जिम्मेवारी थियो र वर्तमान सरकार आईसकेपछि एक किस्ता रकम भने भुक्तानी गरेको छ । अब उपचार पनि निरन्तर दिने र बक्यौता रकम पनि निकाशा हुँदै जाने गरी व्यवस्थापन हुनु आवश्यक छ । यसमा काँंग्रेस पाल्पाको गम्भीर ध्यानाकर्षण भएको छ, जनताले सेवा पाउनु नैसर्गिक अधिकार हो’ सभापति श्रेष्ठले भने । ‘स्वास्थ्य बिमाबाट जनताले सहज उपचार सेवा प्राप्त गरिरहेका छन् । नेपाल सरकार अन्तर्गतका अस्पताल तथा अन्य अस्पतालहरुले सेवाको प्रभावकारिताका विषयमा ध्यान दिनुपर्छ’ श्रेष्ठले भने । स्वास्थ्यजस्तो गम्भीर र संवेदनशिल विषयमा जिल्लाका सरोकारवालाहरु सबै गम्भीर बन्नु पर्ने सभापति श्रेष्ठले बताए ।
नेकपा एमाले पाल्पाले पनि अस्पतालहरुले स्वास्थ्य बिमाको रकम उपलब्ध नभएको बहानामा जनतालाई सेवा नै नदिने घोषणा फिर्ता गरी निर्वाध रुपमा सेवा सञ्चालन गर्ने प्रबन्ध मिलाउन सम्बन्धित अस्पतालहरुको ध्यानाकर्षण गराएको छ । ‘स्वास्थ्य जनताको मौलिक हक हो । नचाहेर पनि मानिसहरुको स्वास्थ्यमा प्रतिकुल परिस्थिति पैदा हुन्छ । जनताको स्वास्थ्य उपचार राज्यको दायित्व अन्तर्गत पर्दछ भन्ने मान्यता अनुरुपनै पूर्ववर्ती सरकारले जनहितका लागि गरेको स्वास्थ्य बिमा कार्यक्रमले जनताले प्राप्त गर्दै आइरहेको स्वास्थ्य बिमा सुविधाका बारेमा विभिन्न अस्पतालहरुले बक्तव्य नै जारी गरी सेवा दिन नसकिने जानकारी गराएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । अस्पतालहरुले स्वास्थ्य बिमाबाट जनतालाई सेवा दिए वापतको बक्यौता रकम तत्काल उपलब्ध गराउन एमालेले सरकारसँंग माग समेत गरेको छ । उसले पाल्पा जिल्ला अस्पताललाई थप सेवा सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गरी विशेषज्ञ सेवा समेतको व्यवस्था गर्न ध्यानाकर्षण गराउँदै स्वास्थ्य बिमाको प्रथम सेवा प्रदायक अस्पतालबाट सहज र सुलभ ढंगले सिफारिस उपलब्ध हुने व्यवस्था मिलाउन पनि सम्बन्धित निकायसँग आग्रह गरेको छ ।