Shittalpati
स्थानीय निर्वाचन : पाल्पामा एमालेविरुद्ध गठबन्धन

कृष्ण पोखरेल
पाल्पा, आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पामा एमालेविरुद्ध गठबन्धनले संयुक्त उम्मेदवारी दिने भएका छन् । पाँच दलिय गठबन्धनको बुधबार तानसेनमा बसेको संयुक्त बैठकले संयुक्त चुनाव लड्ने गरी कार्यदल गठन गरेको छ । सत्ता गठबन्धनले केन्द्रले गरेको निर्णय बमोजिम पाल्पामा पनि चुनावी गठबन्धन गर्ने निर्णय भएको काँग्रेसले जनाएको छ ।

संयुक्त बैठकले स्थानीयतह चुनावी गठबन्धनका लागि नेपाली काँग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय संयुक्त संयन्त्र गठन गरेको छ । संयुक्त संयन्त्र समितिको सदस्यमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नेत्र प्रसाद पाण्डे, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष खिमानन्द पाण्डे( कमल) राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी र जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष मेयरमान राना रहेका छन् । बैठकले चुनावी तालमेललाई सफल बनाउन आवश्यक परामर्श छलफल तथा संवादको लागि पाँच दलबाट तीन/तीन जना सदस्य रहने गरी कार्यदल गठन गर्ने निर्यण गरेको हो ।

गठनबन्धनको बैठकले पाल्पाका १० वटै स्थानीय तहका ८१ वटै वडामा तालमेल गरेर निर्वाचनमा उम्मेदवारहरुको तयारी गर्ने छलफल गरेको छ । स्थानीयतहको निर्वाचन २०७४ मा नेकपा एमालेले पाल्पाका ६ वटा र ४ वटा स्थानीय तहमा नेपाली काँग्रेसले विजयी हासिल गरेको थियो । नेकपा माओवादी केन्द्रले तानसेन नगरपालिका वडा नंं १३ वौघागुम्वा, रिब्दीकोट गाउँपालिका वडा नंं ८ फेक, , रैनादेवी छहरा गाउँपालिका वडा नंं १ सिद्धेश्वर र तिनाउ गाउँपालिका वडा नं. २ दोभानमा वडा अध्यक्षमा विजयी भएको थियो ।

चैत्र २५ गतेसम्म गठबन्धन दलहरुले आ–आफ्नो किसिमले तयारीमा जुटुने, आगामी बैंठकमा प्रत्येक वडा वडाको गठबन्धनको अवस्थाबारे जानकारी गराउने, जिल्लाको राजनीतिक अवस्था अनुसार, पालिकामा गठबन्धन दलको जनमतको आधारमा उम्मेदवारीको टुङ्गो लगाईने नवगठित संयुक्त संयन्त्रका संयोजक हिमालदत्त श्रेष्ठले बताए ।

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update