Shittalpati
काँग्रेसको भातृ संस्था राष्ट्रिय मगर संघको काजीपौवामा वडा समिति गठन

पाल्पा, तानसेन नगरपालिका –७ काजीपौवामा नेपाली काँग्रेसको भातृ संस्था नेपाल राष्ट्रिय मगर संघ वडा समिति गठन भएको छ । नेपाली काँग्रेस वडा कार्यालयको आयोजनामा समिति गठन गरिएको हो । काँग्रेसले ‘घर–घर जाऔ काँग्रेस जिताऔं’ अभियान अन्तर्गत समिति गठन गरेको जनाएको छ । काँग्रेसले रिमा सारुको सभापतित्वमा २७ सदस्यी राष्ट्रिय मगर संघ वडा समिति गठन गरेको हो । जसको उप–सभापतिमा शम्भु गाहा,सचिव आशिष चिदी,कोषाध्यक्ष दमन्ती सूर्यबंशी रहेका छन् ।

समिति निर्माणसँगै स्थानीय तहमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरिएको छ । कार्यक्रममा नेपाल राष्ट्रिय मगर संघ पाल्पाका सभापति तथा नेपाली काँग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति झमनबहादुर राज मगरले नेपाली काँग्रेस आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गरे । उनले नेपाली जनताले काँग्रेस पार्टीको नेतृत्व चाहिरहेको बताउँदै स्थानीय निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन सबैलाई आग्रह गरे । पछिल्लो समयमा अन्यपार्टी परित्याग गरी काँग्रेस प्रवेश गर्ने नेता तथा कार्यकर्ताको लहर बढेको बताउदै प्रमुखअतिथि समेत रहेका मगरले नेपाली काँग्रेसको चारतारे झण्डामुनि गोल बन्द हुन र निर्वाचनमा एक भइ अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

नेपाली काँग्रेस क्षेत्र नं.२ का क्षेत्रीय सभापति मुक्तिराम जिसीले स्थानीयस्तरमा आर्थिक विकास र समृद्धिको लहर ल्याउन स्थानीय तहको निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । उनले विकास र समृद्धि काँग्रेसको नेतृत्वमा मात्र हुन सक्ने भन्दै काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन मतदाताहरुलाई अनुरोध गरेका हुन् । नेपाल शिक्षक संघको जिल्ला अध्यक्ष एवं महाधिवेशन प्रतिनिधि धनकला गाहाले पार्टीलाई थप बलियो र सक्षम बनाउन भातृ संस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताईन् । कार्यक्रममा महाधिवेशन प्रतिनिधि शान्ति झेडी,महासमिति सदस्य बिधान श्रेष्ठ, नेपाल राष्ट्रिय मगर संघ प्रदेश उपसभापति जनक गाहा लगायतले काँग्रेसलाई विजयी बनाउन सबै लाग्नु पर्ने धारणा व्यक्त गरे । काँग्रेसका वडा सभापति प्रदीप खनालको सभापतित्व, तरुण दलका वडा सभपति परजंग बलालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update