Shittalpati
जित्नेलाई सिफारिस गरौँ, मेरो होईन हाम्रोलाई उम्मेदवार बनाऔं : नेता केसी

गुल्मी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले आगामी स्थानीय तहको निर्वाचनमा जित्नेलाई मात्र उम्मेदवारका लागि सिफारिस गर्नु पर्ने बताएका छन् । शनिबार नेपाली काँग्रेस गुल्मीको आयोजना निर्वाचन सम्बन्धी भएको छलफल तथा अन्तक्र्रिया कार्यक्रमलाई तम्घासमा सम्बोधन गर्दै वडातहदेखि नै जित्ने व्यक्तिलाई उम्मेदवारको लागि सिफारिस गर्नुपर्ने बताएका हुन् ।

नेता केसीले भने,‘वडातहदेखि नै जित्ने उम्मेदवारलाई सिफारिस गरौँ । पार्टी भित्र कसैले पनि मेरो होईन हाम्रो मान्छेलाई उम्मेदवार बनाऔं ।’ पार्टीभित्र वृहत् रुपमा छलफल गरेर उम्मेदवार सिफारिस गर्न नेता केसीले आग्रह गर्दै भने,–‘पार्टीभित्र उम्मेदवार जो भएपनि सबै मिलेर निर्वाचनमा विजयी गराउँन लागौँ ।’ उनले गत निर्वाचनको मत परिणामका आधार गठनबन्धन गर्न समेत आग्रह गरे । उनले प्रतिगमनलाई परास्त पार्न पाँच दलीय गठबन्धन गरिएको बताए । नेता केसीले गठबन्धनले देश र जनताका लागि निकै फाईदा हुने काम गरेको समेत उल्लेख गरे । नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले लुम्बिनी प्रदेशमा गठबन्धनलाई व्यवस्थापन गर्ने जिम्मेवारी आफ्नो भएको बताए । उनले गठबन्धनको नाममा नेपाली काँग्रेस पार्टीलाई भारतीय काँग्रेस पार्टी आई जस्तो नबनाउन पनि आग्रह गरे । यदि गठबन्धन गर्ने हो भने स्थानीय वडातह देखि आवश्यकताका आधारमा वडा र गाउँपालिकालाई जिम्मा दिने पनि उनले उल्लेख गरे । जहाँ जुन पार्टीको नेतृत्व बढी छ त्यो मापदण्डको आधारमा गठबन्धन गर्न सभापति पुनले सबैलाई आग्रह गरे । काँग्रेस पार्टीले जितेमा देश र जनतालाई फाइदा हुने उनले दाबी गरे ।

नेपाली काँग्रेस उपसभापति भुवन प्रसाद श्रेष्ठले मतपरिणामका आधारमा गठबन्धन गर्न आग्रह गरे । उनले स्थानीय तहमा नेतृत्व परिवर्तन सहित गठबन्धन गर्नुपर्ने बताए । उनले गठनबन्धन भित्रबाट पहिले कुनै स्थानीय तहमा नेतृत्व गरेको राजनीतिक दलले पुनः त्यही स्थानीय तहमा नेतृत्व गर्न खोजेमा गठबन्धन हुन नसक्ने भन्दै नेपाली काँग्रेस पार्टी एकल ढङ्गले पनि चुनाव लडन तयार हुनुपर्नेमा जोड दिए । काँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीले जिल्ला गठबन्धनको आवश्यकता रहेको उल्लेख गरे । उनले स्थानीय आवश्यकतका आधारमा वडादेखि नै छलफल र अन्तरक्रियाबाट गठबन्धन गर्न आग्रह गरिएको बताए ।

प्रकाशित मिति: शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update