पाल्पा, नेपाली काँग्रेसको सूचना तथा सञ्चार समितिले नेपाल प्रेस युनियनसँग छलफल गरेको छ । समितिले आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाल प्रेस युनियनको भूमिका विषयमा छलफल गरेको हो ।
छलफलमा नेपाली काँग्रेसका जिल्ला उप–सभापति तथा प्रचार–प्रसार समितिका संयोजक झपेन्द्र गहिरेले निर्वाचन प्राविधिक विषय भएकाले हरेक विषयलाई गम्भिर रुपमा लिएर अगाडि बढ्नुपर्ने बताए । उनले निर्वाचनमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने भएकाले निर्वाचनलाई प्रभावकारी, निष्पक्ष र सभ्य बनाउन पत्रकारहरुलाई आग्रह गरे । उपसभापति गहिरेले प्रेस युनियसँग काँग्रेस सहकार्य गरेर अगाडि बढ्ने बताए ।
सूचना तथा सञ्चार समितिका संयोजक तथा पार्टी सचिव सन्तोष थापा मगरले लोकतन्त्रलाई संस्थागत गर्न प्रेस युनियनको महत्वपूर्ण योगदान रहेको बताए । उनले अहिले लोकतन्त्र कमजोर बन्दै गएकाले त्यसको संस्थागत विकासमा काँग्रेसले आम निर्वाचनमा बहुमत ल्याउनु आवश्यक रहेको भन्दै त्यसमा सहयोग गर्न प्रेस युनियनलाई आग्रह गरे । संयोजक थापाले प्रेस युनियनको कार्यालय व्यवस्थापनमा समस्या रहेको भन्ने कुरामा पार्टीले आवश्यक पूर्वाधारमा सहयोग गर्ने समेत बताए । प्रेस युनियनका सभापति भरत शर्माले विगतका निर्वाचनमा प्रेस युनियनले महत्वपूर्ण भूमिका खेलेको भन्दै आसन्न निर्वाचनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । छलफलमा पार्टीका प्रवक्ता शोभाकर न्यौपाने, क्षेत्रीय सभापति झमान राज मगर, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य माधव अर्याल, युनियनका पूर्व सभापति प्रकाश नेपाल, युनियनका प्रदेश पार्षद् मुक्ति न्यौपाने, सचिव रामचन्द्र रायमाझी, काँग्रेसका युवा नेता विष्णु पाण्डे लगायतले निर्वाचनलाई व्यवस्थित र मर्यादित तवरबाट अगाडि बढ्ने वातावरण सिर्जना गर्न सबैको भूमिका अपरिहार्य रहेको बताए । न्यूज डेस्क