Shittalpati
प्रेस चौतारी पाल्पाका उपाध्यक्ष घिमिरे प्रेस युनियनमा प्रवेश

पाल्पा, प्रेस चौतारी पाल्पाका उपाध्यक्ष विष्णु घिमिरे नेपाल प्रेस युनियन पाल्पामा प्रवेश गरेका छन् । युनियनका गतिविधि र विचारलाई आत्मसाथ गर्दै घिमिरे मंगलबार युनियन प्रवेश गरेका हुन् ।

युनियनले नवप्रवेशी घिमिरेलाई एक कार्यक्रमका बिच स्वागत गरेको छ । घिमिरेलाई लुम्बिनी प्रदेशका उर्जा,जलश्रोत तथा सिचाई मन्त्री वीरबहादुर राना,नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, प्रेस युनियनका केन्द्रीय उपसभापति दिपक आचार्य, प्रेस युनियन पाल्पा सभापति भरत शर्मा, बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण बस्याल, युनियनका संस्थापक सभापति झपेन्द्र गहिरे, युनियनका सल्लाहकार जगदीश भट्टराई लगायतले सदस्यता वितरण गर्दै युनियनमा स्वागत गरेका छन् । युनियनमा प्रवेश गर्दै घिमिरेले आफुले युनियनका गतिविधि र विचारसँग प्रभावित भएको बताए । उनले आफु केहि समय अगाडि देखिनै युनियन तथा काँग्रेसँंग निकटता रहँदै आएकाले पनि युनियनसँग सहकार्य गर्न सहजता मिल्ने बताए । घिमिरे पाल्पा पाटीका सम्पादक, श्रीनगर टेलिभिजनका प्रवन्धक तथा जिल्लाका क्रियाशिल पत्रकार समेत हुन् ।

सोही अवसरमा युनियनले नेपाल प्रेस युनियनका केन्द्रीय उपसभापति दिपक आचार्य र युनियन चितवन शाखाको टोलीलाई पाल्पामा स्वागत गरेको छ । स्वागत कार्यक्रममा उर्जा,जलश्रोत तथा सिचाई मन्त्री वीरबहादुर रानाले नवप्रवेसी घिमिरेलाई अत्यन्त उच्च मनोवलका साथ अगाडि बढ्न आग्रह गरे । उनले नयाँ प्रवेशीहरुको संरक्षण गर्ने दायित्व युनियन र काँग्रेसमा आएको बताए । नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति समेत रहेका रानाले लोकतान्त्रिक संगठनहरुमा अन्य विचारका व्यक्तिहरुलाई समेत स्थान दिने गरेको धारणा व्यक्त गरे । उनले भने‘लोकतान्त्रिवादीहरुले कसैलाई निशेषध गर्दै, सबैलाई स्थान दिन्छ, त्यही भएर पनि गठबन्धन गरिएको हो, कमजोर भएर होइन ।’ उनले लोकतन्त्रको संस्थागत विकास गर्न प्रेस युनियनलाई सशक्त भएर कलम चलाउन समेत आग्रह गरे ।

नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पत्रकारहरुले लोकतन्त्रको पक्षमा कलम चलाउनुपर्ने बताए । उनले काँग्रेसको शुभेच्छुक संस्था प्रेस युनियन भएकाले काँग्रेस र लोकतन्त्रलाई बलियो बनाउने दिशामा सशक्त ढंगले कलम चलाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष दीपक आचार्यले नवप्रवेशी घिमिरेलाई स्वागत तथा बाधाई ज्ञापन गर्दै उनलाई युनियनको केन्द्रीय समितिले उचित स्थानमा हेर्ने बताए । उनले आसन्न युनियनको केन्द्रीय महाधिवेशनमा पाल्पाबाट सहयोगको अपेक्षा गरे । युनियन पाल्पाका संस्थापक सभापति झपेन्द्र गहिरेले युनियनका गतिविध र पार्टीका विषयमा जानकारी गराएका थिए । युनियन चितवनका सभापति अनिल ढकालले भ्रमणको उद्देश्यका विषयमा जानकारी गराएका थिए । कार्यक्रम युनियनका सभापति भरत शर्माको सभापतित्व, उपसभापति पुष्करराज रेग्मीको स्वागत, सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update