नेपाल सम्पदाले भरिपूर्ण मुलुक हो । यहाँ थुप्रै ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका सम्पदाहरु छन् । तर तिनीहरुको उचित किसिमले संरक्षण र प्रवद्र्धन हुन सकिरहेको छैन । सरकारको संवेदनहीनता, सरोकारवालाको उदासीनता र मानवीय गैरजिम्मेवारपूर्ण रबैयाका कारण नेपालामा रहेका अनेक बहुमूल्य प्राकृतिक सम्पदाहरू नष्ट भइसकेका छन् भने अन्य त्यस्तै सम्पदाहरू अति जोखिममा परेका छन् । अन्य सम्पदाहरूको तुलनामा यहाँका भौगर्भिक सम्पदाहरू अझै बढी जोखिममा परेको पाइएको छ । नेपालमा विश्व सम्पदाको संरक्षण तथा सम्वद्र्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउने उद्देश्यले हरेक वर्ष विश्व सम्पदा दिवस मनाईने गरिन्छ ।
आज पनि प्रकृतिको संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरण लगायतका क्षेत्रमा सरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले विविध कार्यक्रम गरी यो दिवस मनाउँदै छन् । तर हरेक वर्ष यो दिवस मनाइने गरे पनि सम्पदा संरक्षणमा कसैको पनि ध्यान जान सकेको छैन । सडक विस्तार तथा खोलामा भइरहेको मानवजन्य अव्यवस्थित क्रियाकलापले नेपालमा भौगर्भिक संरचना र सम्पदा लोप हुँदै गएका छन् । यो क्षेत्रमा पनि केही महत्वपूर्ण भौगर्भिक सम्पदाहरू छन्, जो अहिले अति जोखिममा छन् । पछिल्लो समय पाल्पाको ऐतिहासिक रानीमहल क्षेत्र पनि पहिरो, बाढी तथा कटानको तीव्र चपेटामा परेको छ भने यसको संरक्षणमा कालीगण्डकी नदीको माथिल्लो र तल्लो तटीय क्षेत्र दुवैतिर वैज्ञानिक कदम चाल्नुपर्ने देखिन्छ । यो त एउटा प्रतिनिधि क्षेत्र मात्र हो । यस्तै सम्पदाको संरक्षण गर्नुपर्ने स्थानहरू नेपालका विभिन्न स्थानमा रहेका छन् । दाङ, मुस्ताङ कालीगण्डकी खोला क्षेत्र, रसुवा, सुनकोसी क्षेत्रमा पाइने सम्पदा पनि संरक्षण गर्नुपर्ने क्षेत्रहरू नै हुन् यस्ता थाहा पाइसकिएका क्षेत्रबाहेक अन्य कुन–कुन स्थान अति महत्वपूर्ण छन् भन्ने कुराको ढिलाइ नगरी अनुसन्धान गर्नु आवश्यक छ । सडक विस्तारका क्रममा चोइट्याइएका मन्दिर र सत्तलका अवशेषहरुले सम्पदाप्रतिको हाम्रो उदासिनता जागृत गर्दछ । यसर्थ यि सम्पदाहरुको संरक्षण गर्न सके मात्र विश्व सम्पदा दिवस मनाउनुको औचित्य रहन्छ ।