Shittalpati
बिमा कार्यक्रमको सेवा बन्द गर्ने मिसन अस्पतालको निर्णय स्थगित

पाल्पा, स्वास्थ्य बिमा बापतको भुक्तानी रोकिँदा सेवा बन्द गर्ने निर्णय गरेको तानसेनको युनाइटेड मिसन अस्पतालले उक्त निर्णय स्थगित गरेको छ । स्वाथ्य बिमा बोर्डबाट केही रकम भुक्तानी भएपछि अस्पतालले सेवा बन्द गर्ने निर्णय स्थगित गरेको हो ।

अस्पतलाले एक विज्ञप्ति जारी गर्दै बोर्डले अस्पताललाई दिनुपर्ने रकम मध्ये २ करोड ७५ लाख ७४ हजार भुक्तानी गरेको र अगामी दिनदेखि प्रत्येक महिना भुक्तानी गर्ने समझदारी भए अनुरुप बिमा कार्यक्रमको सेवालाई निरन्तरता दिने जनाएको छ ।

‘जिल्ला प्रशासन, अन्य सरोकारवालाहरुको प्रयासमा अस्पताल प्रशासन र स्वास्थ्य बिमा बोर्डबिचको छलफलपछि स्वास्थ्य बिमा बोर्डले अस्पतालाई २ करोड ७५ लाख ७४ हजार भुक्तानी गरेको र अगामी दिनदेखि प्रत्येक महिना भुक्तानी गर्ने समझदारी भएको हुँदा अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत स्वास्थ्य सेवा सुचारु राखेको जानकारी गराउँदछौं’ अस्पतालका निर्देशक रचेल कारखद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अस्पतालले स्वास्थ्य बिमा बोर्डले असार मसान्तसम्म भुक्तानी प्रक्रियालाई सेवा सम्झौता बमोजिम दाबी गरेको प्रत्येक १५ दिनमा भुक्तानी गरी अस्पतालबाट दिइने सेवाहरुको निरन्तरतामा सहयोग पुर्‍याउन समेत आग्रह गरेको छ । उसले यदि सम्झौता कार्यन्वयन नभए कार्यक्रम सञ्चालनका विषयमा पुर्नविचार गर्ने समेत बताएको छ । अस्पतालले केही दिन पहिले पत्रकार सम्मेलन गरेर स्वास्थ्य बिमा बोर्डबाट रकम भुक्तानी नपाएको भन्दै बिमाको विरामीलाई भुक्तानी दिन नसकिने जनाएको थियो । त्यो लगत्तै विभिन्न संघ संस्था, राजनीतिक दल र मिडियाहरुको ध्यानाकर्षण भएको थियो । यस विषयमा नवजनचेतना राष्ट्रिय दैनिक र शितलपाटी डटकममा समेत समाचार प्रकाशित भएको थियो । त्यस लगत्तै सम्बन्धित निकायले यस विषयमा चासो देखाएको हो ।

पाल्पामा युनाइटेड मिसन अस्पताल, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज, आँखा अस्पताल लगायतका बिमा अनुमती पाएका स्वास्थ्य संस्थाहरुले लामो समयदेखि भुक्तानी नपाएको बताउँदै आएका छन् । भुक्तानी उपलब्ध गराउन बोर्डसमक्ष पटक–पटक अनुरोध गरे पनि वास्ता नगरिएको यहाँका अस्पतालहरुले बताउँदै आएका हुन् । अहिले स्वास्थ्य बिमा बोर्डले केही अस्पतालहरुमा भने भुक्तानी पठाई सकेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update