Shittalpati
पाल्पा रेडक्रसको खोज र खोप अभियान, पालिकालाई शत प्रतिशत कोभिड खोप सुनिश्चत गर्ने

कृष्ण पोखरेल
पाल्पा, जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले खोज र खोप अभियान सञ्चालन गरेको छ । उसले पाल्पाको निस्दी र पूर्वखोला गाउँपालिकालाई कोभिडको शत प्रतिशत खोप सुनिश्चत भएको गाउँपालिका बनाउनका लागि खोज र खोप अभियान सञ्चालन गरेको हो । अन्य पालिकाको तुलनामा निस्दी र पूर्वखोला गाउँपालिकाकामा कोभिड खोप लगाउने संख्यामा कमी देखिएपछि रेडक्रसले आउँदो असार भित्र शत प्रतिशत कोभिड खोप सुनिश्चत भएको गाउँपालिका घोषणा गर्ने गरी विशेष अभियान सञ्चालन गरेको छ ।

रेडक्रस पाल्पाले जिल्ला स्वास्थ्य कार्यालय, गाउँपालिकाको स्वास्थ्य शाखा, महिला स्वयसेविकाको सहकार्यमा खोज र खोप अभियान शुरु गरेको हो । उसले ३ महिने अभियानको पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, जिल्ला स्वास्थ्य कार्यालय, प्रमुख जिल्ला अधिकारीसँग छलफल अन्तक्र्रिया गरी अभियानको शुभारम्भ गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले रेडक्रसले सञ्चालन गरेको यो अभियानले दुई पालिकालाई शत प्रतिशत कोभिड खोपयुक्त घोषणा गर्न सजिलो हुने बताए । कार्यक्रममा नेपाल रेडक्रस लुम्बिनी प्रदेशका महासचिव लालप्रसाद पंगेनीले कोभिड खोप दर कम भएका प्रदेशका १२ जिल्लाका २४ पालिकाभरी यो कार्यक्रम लागु भएको बताए । पहिलो खोप शतप्रतिशत भएपनि दोस्रो र बुस्टर डोजमा कमी देखिएकाले यो अभियान शुरु गरिएको महासचिव पंगेनीले बताए । नेपालमा कोभिड सक्रमण दर न्यून भएपनि भारत, चीन, लगायत युरोपियन मुलुकमा नयाँ–नयाँ भेरियेन्टको कारण सक्रमण दर बढ्दै गएकाले एक दुई महिना भित्र नेपालमा पनि भयावह स्थिति हुन सक्ने भएकाले पूर्व तयारी, सावधानी तथा जनचेतनाका कार्यक्रम अहिलेदेखि नै सञ्चालन गर्नुपर्ने रेडक्रस पाल्पाका बरिष्ठ कार्यक्रम अधिकृत बाबुराम कार्कीले बताए । अधिकृत कार्कीले रेडक्रसले कोभिड क्षेत्रमा विगतदेखी हालसम्म गरेका गतिविधीका विषयमा जानकारी गराए ।

रेडक्रस पाल्पाले जिल्लाका १० वटै पालिका, ठूला अस्पताल जिल्लाका एम्वुलेन्स तथा चालकदेखी विभिन्न पक्षहरुलाई कोभिड विरुद्धका सामग्री सहयोग गर्दै आएको र जनचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममा निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु, जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरी, स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशा, पूर्वखोला गाउँपालिकाकी उपाध्यक्ष भागिरथी शर्मा भट्टराई, स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल, सुहारा पाल्पाका दिनेश घिमिरे, पत्रकार किरण कौशल लगायतले कार्यक्रमले पार्ने प्रभावका विषयमा चर्चा गरेका थिए । कार्यक्रमका फोकल पर्सन सागर केसीले खोज र खोप अभियानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै, मनोसामाजिक परामर्श, सचेतनाका कार्यक्रम, किशोर किशोरी लक्षित कार्यक्रम, विद्यालय, शिक्षक, विद्यार्थी र महिला स्वयंसेविका लक्षित कार्यक्रम सञ्चालन गरिने बताए । नेपाल रेडक्रसका जिल्ला सभापति बुद्धि प्रसाद शर्माको सभापतित्व, उपसभापति शोभा शाक्यको स्वागत र कोषाध्यक्ष भिमसेन कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update