Shittalpati
नेपाली काँग्रेस पाल्पा क्षेत्र नं.२ को कार्यालय उद्घाटन

पाल्पा, नेपाली काँग्रेस क्षेत्र नं. २ को क्षेत्रीय कार्यालय उद्घाटन गरिएको छ । बुधबार तानसेनको लहरेपिपलमा एक औपचारिक कार्यक्रमकाबिच कार्यालयको उद्घाटन गरिएको हो । नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन गर्दै सभापति श्रेष्ठले गठबन्धनबिचको छलफल सहमति नजिक पुगेको बताएका छन् । उनले जिल्लाका ८ वटा स्थानीय तहमा गठबन्धनमा कसले कहाँ उम्मेदवार चयन भन्ने सहमति जुटिसकेको र बाँकी तिनाउ र रम्भामा सहमतिको प्रयास गरिएको बताए । सभापति श्रेष्ठले केन्द्रको निर्देशन अनुसार नै पाल्पामा गठबन्धन गरेर निर्वाचनमा जाने तयारी गरिएको जानकारी गराए । उनले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले सबै पार्टीलाई सँगै लैजाने जिम्मेवारी रहेकाले यसमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

‘पाल्पामा पालिका प्रमुख र उपप्रमुखको जिल्लागत रुपमा र अन्यको हकमा स्थानीय तहले नै समन्वय गरी गठबन्धन गर्ने गरी कार्य अन्तिम चरणमा पुगेको छ । अहिले नयाँलाई छनौट गर्नेभन्दा पनि स्थानीय स्तरमै रहेर काम गरेकाहरुलाई उम्मेदवार चयन गछौं’ सभापति श्रेष्ठले भने । नेताहरुले पदीय जिम्मेवारी पुरा गरे काँग्रेसकोे स्थानीय तहमा जित सुनिश्चित हुने उनले बताए । सभापति श्रेष्ठले निर्वाचन आयोगले मतदाता शिक्षाका लागि छुट्टै कर्मचारी नखटाउने भएकाले स्थानीय नेता तथा उम्मेदवारहरुले मतदाता शिक्षाका लागि जनताको घरदैलोमा पुग्न निर्देशन समेत दिए ।

कार्यक्रममा क्षेत्रीय सभापति मुक्तिराम जिसीले कार्यालयलाई व्यवस्थित बनाई क्षेत्रका हरेक गतिविधिहरु सञ्चालन गरिने बताए । उनले क्षेत्रका हरेक डाटाहरुलाई आधुनिक तरिकाबाट व्यवस्थित ढंगले लैजाने समेत प्रतिवद्धता व्यक्त गरे । कार्यक्रम क्षेत्रीय सभापति जिसीको अध्यक्षता, उपसभापति लक्ष्मीप्रसाद अधिकारीको स्वागत र सचिव कृष्ण आलेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update