रमेश विश्वकर्मा
गुल्मी, आसन्न वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले मेयरमा उम्मेदवारी दिने भएका छन् । उनले रेसुङ्गा नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयर पदमा उम्मेदवारी दिने भएका हुन् । नेपाली काँग्रेस रेसुङ्गा नगर कार्यसमितिले नगरपालिकाको प्रमुख पदमा तीन जनाको नाम क्षेत्रिय कार्य समिति र जिल्ला कार्य समितिमा सिफारिस गरेसंगै क्षेत्रबाट आएको राय सहितको सिफारिसलाई जिल्ला कार्यसमितिले जिल्लाको रायसँगै नेपाली काँग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिमा पठाएको थियो । प्रदेश कार्यसमितिले सभापति पन्थीलाई नेपाली काँग्रेसको तर्फबाट रेसुङ्गा नगरपालिकाको प्रमुख पदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
जनताको प्रत्यक्ष जीविकोपार्जनसँग जोडिएर काम गरेका नेताका रुपमा परिचित सभापति पन्थी नगरपालिकाको प्रमुख पदका लागि उम्मेदवार बन्न लागेको नेपाली काँग्रेसले जनाएको छ । २०४६ सालदेखि निरन्तर नेपाली कांँग्रेसको राजनीति गर्दै आएका पन्थी झन्डै ९ वर्षसम्म नेपाल तरूण दलको जिल्ला सभापति, पार्टी सचिव हुँदै नेपाली काँग्रेस जिल्ला सभापति बनेका हुन् ।
नेपाली काँग्रेसले प्रत्यक्ष जनताको जनजीविकोसँग जोडिएर काम गर्ने भएकाले आफु नगरपालिकामा बहुमतका साथ बिजयी हुने पन्थीको दाबी छ । उनले सधै नेपाली काँग्रेस पार्टी विपन्न, गरिब र दलित समुदायको पार्टी भएको बताउदै आएका छन् । गुल्मीमा उनको पहलमा तम्घास–सिमलटारी खण्डको सडकमा पक्की पुल बन्न लागेका छन् । पन्थी आफु सत्ता बाहिर रहेर पनि जिल्लाको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । उनी बजेट माग गर्न बारम्बार सरकार समक्ष पुग्ने गरेका छन् ।