पाल्पा,वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस पाल्पाले स्थानीय तहका उम्मेदवारहरुको टुंगो लगाएको छ । पाँच दलीय गठबन्धनबाट सहमति भए अनुसार ६ वटा पालिका पाएको काँग्रेसले आइतबार राती मात्र उम्मेदवारको टुँगो लगाएको हो ।
काँग्रेसले आइतबार निस्दी गाउँपालिकाको अध्यक्षमा गोविन्द प्रसाद अर्याल,पूर्वखोला गाउँपालिकाको उपाध्यक्षमा विष्णु कुमारी आचार्यलाई उम्मेदवार बनाएको छ । यस्तै आइतबार राति भएको सहमति अनुसार काँग्रेसले तानसेन नगरपालिकाको नगरप्रमुखको उम्मेदवारमा सन्तोषलाल श्रेष्ठ, रामपुर नगरपालिकाको नगरप्रमुखमा रमणबहादुर थापा, उप–प्रमुखमा बालकुमारी थापालाई उम्मेदवार बनाएको काँग्रेसका जिल्ला उप सभापति झपेन्द्र गहिरेले जानकारी दिए । उनका अनुसार काँग्रेसले रम्भा गाउँपालिकाको उपाध्यक्षमा बिष्णु कुमार थापा, माथागढी गाउँपालिकाको अध्यक्षमा सन्तोष थापा मगर ,उपाध्यक्षमा विजया भट्टराई, बगनासकाली गाउँपालिकाको अध्यक्षमा सुनिता अधिकारी, रिब्दीकोट गाउँपालिकाको उपाध्यक्षमा कान्ता अधिकारी, रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा रूक्मागत भट्टराई र तिनाउ गाउँपालिकाको उपाध्यक्षमा लालबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
काँग्रेसले पालिका उम्मेदवार टुँग्याए पनि वडा तहका केही ठाँउमा उम्मेदवार टुँग्याउन बाँकी रहेको छ । उम्मेदवार टुँग्याउन बाँकी रहेका वडाहरुमा आज विहान टुँगो लाग्ने नेपाली काँग्रेस सूचना विभाग प्रमुख सन्तोष कुमार थापाले बताए । उनका अनुसार आज १२ बजेपछि काँग्रेसका उम्मेदवारहरुले सम्बन्धित निर्वाचन कार्यालयमा गएर उम्मेदवारी दर्ता गराउने छन् ।