Shittalpati
‘बगनासकालीका जनताको हित र विकासका लागि पालिका अध्यक्षमा उम्मेदवारी’

पाल्पा, वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट बगनासकाली गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेकी सुनिता अधिकारीले बगनासकालीका जनताको हित र विकासका लागि पालिका अध्यक्षमा उम्मेदवारी दिएको बताएकी छन् । उनले शितलपार्टीसँगको कुराकानीमा यहाँका जनताहरुको जीवनस्तर माथि उठाउने गरी विकास र समृद्धिको क्षेत्रमा काम गर्न अध्यक्षमा उम्मेदवारी दिएको बताएकी हुन् ।

उनले पहिलो स्थानीय सरकारले विकासको रुपरेखा कोरिसकेको र कोरिएका रुपरेखालाई पूर्णता दिने समेत बताईन् । अधिकारीले भनिन् ‘ स्थानीय तहमा बाटाहरु खोलिएका छन् स्तोरन्नती गर्नुछ, बालमैत्री स्थानीय शासनलाई कायम गर्नुछ, जनताको जीवनस्तर उकास्न कृषिमा क्रान्ति ल्याउनु छ, स्वास्थ्य क्षेत्रलाई उकास्नुपर्ने छ, शिक्षामा सबैको पँहुच र समानता ल्याउनुछ, करिव ६० प्रतिशत घरहरुमा एक घर एक धारा खानेपानी पुगेको छ, बाँकी घरहरुमा एक घर एक धारा पुर्‍याउनु छ ।’

बगनासकालीको अहिलेको विकासको गतिलाई अझ फराकिलो बनाउँदै जनताको जीवनस्तर उकास्ने गरी काम गर्ने एजेण्डा रहेको उनले बताईन् । उनले भनिन् ‘संघीय सरकारले बजेट देला र हामीले परिचालन गरौला भन्ने भन्दा पनि यहाँको आन्तरिक आम्दानीलाई बृद्धी गर्दै, अन्य श्रोतहरुबाट समेत वजेट ल्याएर विकास गर्ने मेरो दृढ संकल्प छ ।’

२०५७ सालदेखी स्ववियू सदस्यबाट राजनीतिक यात्रा सुरु गरेकी निडर र आत्मविश्वासी अधिकारी त्रिभुवन बहुमुखी क्याम्पसमा इकाई सभापति हँुदै स्ववियूको केन्द्रिय सदस्य बनेकी थिइन । विद्यार्थी हक, हित र विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेकी अधिकारी नेविसंघको जिल्ला कोषाध्यक्ष हुँदै २०६५ सालमा जिल्ला सभापति बनिन । झण्डै १० वर्ष नेविसंघको जिल्ला सभापति समहालेकी अधिकारी तत्कालिन अवस्थामा विद्यार्थी हक, हित र राष्ट्रिय राजनीतिमा अग्रहणी भूमिका निर्वाह गरिन । महिला भएर पनि हरेक काम र राजनीतिक परिवर्तनका आन्दोलनमा पुरुष सरह योगदान गरेकी उनी दृढ राजनीतिक संकल्पकै कारण नेपाली काँग्रसको १४ औं महाधिवेशनबाट नेपाली काँग्रसको जिल्ला सचिव भइन । पार्टी भित्रको आन्तरिक मतदानमा अत्याधिक मत सहित जिल्ला सचिव बनेकी अधिकारीको यात्रा अहिले जनप्रतिनिधितर्फ मोडिएको छ । सरल, मिजास र निडर स्वभावकी अधिकारी बगनासकाली गाउँपालिकाका जनताको जीवनस्तर परिवर्तन र जनतालाई सरकारको हुनुको महसुस गराउन आफु लाग्ने बताएकी छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update