पाल्पा, वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट इस्मा गाउँपालिका २ गुल्मीको वडा अध्यक्षमा उम्मेदवारी दिएका लोकनाथ आचार्यले वडाको समृद्धि र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनले एनजेडीसँगको कुराकानीमा वडाका नागरिकको समृद्धि र वडाको समग्र विकासका लागि वडा अध्यक्षमा उम्मेदवारी दिएको बताएका हुन् । सामाजिक क्षेत्रमा समेत क्रियाशिल अचार्यले भ्रष्टाचार रहित समाजको निर्माण दिगो र सन्तुलन विकास गर्ने लक्ष्य राखेका छन् । उनले बालबालिका, बृद्ध, अपांग, एकल महिला, पिछडीएको वर्ग समुदायलाई न्याय र सम्मान दिलाउदै वडालाई समृद्ध, विकसित र नमुना वडा बनाउने अठोट लिएको बताए ।
अध्यक्षका उम्मेदवार आचार्यले विगतमा राजनीतिक प्रतिशोधका आधारमा विकास गर्ने परिपाटी रहेकाले त्यसको अन्त्य गरी समान र सन्तुलित रुपमा विकास निर्माणलाई अगाडि बढाउन आफु लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने ‘आफु लामो समयदेखि वडाको सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आएकाले पनि यहाँको विकास र समृद्धिका लागि के गर्नुपर्छ भन्ने स्पष्ट भिजन म सँग छ, सोही अनुरुप मैले काम गर्ने छु ।’ वडामा थुप्रै आर्थिक सम्भावनाका स्रोतहरु रहेकाले तिनीहरुको उचित परिचालन गरी वडाको समृद्धि र विकासमा समर्पित हुने आचार्यले बताए । उनले भने‘यहाँ खोला नालादेखि प्रसस्त बनजंगल छन्,तिनीहरुको उचित किसिमले परिचालन गर्न सके यहाँको विकास हुन्छ, सोही साेंच मैले लिएको छु ।’ वडामा कृषिको प्रचुर सम्भावना रहेकाले यहाँको कृषि योग्य भूमिको प्रयोग गरी यहाँका जनतालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको वडा अध्यक्षका उम्मेदवार आचार्यले बताए । उनले शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाई सबैको पहुँचमा वृद्धि गर्ने बताए । आचार्यले परम्परागत कृषिलाई व्यवसायिक बनाई युवाहरुलाई गाउँमै रोजगारका अवसर सिर्जना गर्ने आफ्नो लक्ष्य रहेको बताए ।
वडामा रहेका दलित, जनजाती, गरिब तथा विपन्न समुदायको उत्थान, युवाहरुलाई खेलकुदमा प्रेरित, स्वास्थ्य सेवा सुविधा,सबैमा निःशुल्क शिक्षा पुर्याउने उनले प्रतिवद्धता ब्यक्त गरेका छन् । यसै गरी उनका एजेण्डाहरुमा कुनै पनि योजनाहरु बाडाफाँड गर्दा जनताका राय, सल्लाहलाई मध्यनजर गर्दै काम गर्ने, वडामा ब्यवसाय तरकारी खेती गर्ने किसानलाई निशुल्क विउ विजन वितरण गरिने, वडा अन्र्तगतका विकास निर्माणका अधुरा कामहरुलाई ५ बर्ष भित्र पुरा गर्ने, ५ बर्ष भित्रमा वडा भित्र शिक्षा, स्वास्थ्य, पक्की सडक तथा कृषिलाई पूर्ण रुपले विकास गरी नमुना वडा बनाउने रहेका छन् ।
विगत २० वर्षदेखि गरिबसँग विशेस्वर कार्यक्रममा संलग्न रहेर सेवा गरेका आचार्य जनताबिच लोकप्रिय छवि बनाएका व्यक्ति हुन । उनले २०४८ सालमा नेपाली काँग्रेसको क्रियाशिल सदस्यता लिएका हुन् । उनी तत्कालिन गाउँ कार्यसमितिमा नेविसंघ, तरुणदल सचिव हुँदै २०५८ मा नेपाली काँग्रेसको तर्फबाट गाउँ कार्यसमिति सचिव समेत बने । त्यस यता सामाजिक कार्यमा निरन्तर लागिपरेका आचार्य स्वच्छ छवि र कर्तव्य निष्ठा भएका व्यक्ति हुन् । आफु जनतासँग निकट रहेर काम गरेकाले पनि आफुलाई वडावासीले अत्याधिक मतले विजयी बनाउने आचार्यले बताए । उनले सबै मतदाताका घर घरमा पुग्दा मतदाता आफु र आफ्नो पार्टीलाई मतदान गर्न आतुर रहेको उल्लेख गरे । सर्वसम्मत उम्मेदवार चयन गरेर पार्टीले सकरात्मक सन्देश दिनु नै आफ्नो जितको पहिलो खुड्कीलो रहेको आचार्यले बताए । ‘राजनीतिक र सामाजिक जीवनमा आफ्नो व्यक्तिगत फाइदा कहिल्यै हेरिनँ,’ आचार्यले भने । ‘म राजनीति र सामाजिक क्षेत्रमा हुँदा व्यक्तिगत लाभ हेरेको भए आज म आर्थिक रुपमा सबल हुने थिएँ । तर मैले जनहित मात्र हेरेँ, व्यक्तिगत फाइदा हेरिन त्यसैले पनि मैले वडावासीबाट सोंचे भन्दा पनि बढी साथ पाएँ ।’ आफुले जिते वडावासीलाई कहिल्यै पछुतो हुन नदिने आचार्यले बताए ।