Shittalpati
आधिको पठनमा उठेका आँधी

जनक कार्की
प्रत्येक दिनको मुद्रित र विद्युतीय आमसञ्चार माध्यमबाट समाचारको सूचीमा महिला हिंसा र यौन शोषणको खबरले बलियो स्थान पाउँछ । हजुरबाले नातिनीको बलात्कार, दाइजोको कारण बुहारीलाई जिउँदै जलाइयो, प्रेम प्रस्ताव नस्वीकारेमा प्रेमीद्वारा तेजाब आक्रमण, श्रीमतीद्वारा श्रीमान विरुद्ध बलात्कारको मुद्दा दायर, बलात्कार पछि युवतीको हत्या आदि इत्यादि समाचारको हेडलाइन हाम्रो लागि नयाँ रहेन । यस्तै महिला माथिको घरेलु हिंसा, यौन शोषण र बलात्कारको कथा हो उषा शेरचनको उपन्यास आधि । नेपाली साहित्य क्षेत्रमा उषा शेरचन परिचित नाम हो ।

लामो समयदेखि लेखनलाई निरन्तरता दिइरहेकी साहित्यकार उषाको यो पहिलो उपन्यास हो । यस अघि उनको ञ नजन्मेका आस्थाहरू (कविता संग्रह) अक्षरहरूका शिविरबाट (मुक्तक संग्रह) र तेस्रो रङ्ग (कथा सग्रह) कृतिका साथै अभीप्सा, सञ्चयन, मेरो माटो मेरो गीत, संवेदन संवेदन र आकाश छुने रहर गीति एल्बम प्रकाशित छन् । साहित्यलाई निरन्तरता दिने क्रममा उषा शेरचनले ६३ वर्षको उमेरमा पहिलो उपन्यास लेखेर स सिर्जना गर्ने चाहनालाई उमेरले पर्खाल लगाउँदैन भन्ने द्रहो उदाहरण पेश गरेकी छिन् । आधि अर्थात मानसिक पीडा । यो मानसिक पीडा हो उपन्यासको प्रमुख पात्र चाँदनीको । आकशको चन्द्रमामा देखिने दाग हुन्छ तर आधिको चाँदनी बेदाग छिन् । उनको जीवनमा जंकाभेट भएका पुरुषले मस्तिष्कमा पटक पटक गहिरो चोटको दाग लगाएर जान्छन् । चाँदनी किशोर अवस्थामा नै आफ्नै काका पर्नेबाट बलात्कृत हुन्छिन् । बलात्कारको त्रासबाट मानसिक पीडा खपिरहेकी चाँदनीले अर्को पुरुषको सहारा पाउँछिन् । सार्थकलाई जीवनसाथी बनाइसके पछि, चाँदनीको जीवनमा पूर्णिमाको जून जत्रै खुसी छाउँछ । तर यो खुसी धेरै दिन टिक्दैन । श्रीमानको घरेलु हिंसाले चन्द्रमाको जीवनमा फेरि ग्रहण लाग्छ । अन्तिममा चाँदनीले एक्लै जिउने अठोट गर्छिन् । आफू जस्तै यौन र घरेलु हिंसामा परेर मानसिक पीडा खपिरहेका महिलाको उद्दार गर्न ‘उज्यालो घर’ नामक आश्रमको स्थापना गरेर क्रान्तिको बीज रोप्छिन् । विश्वभरका महिला यतिबेला आफूलाई भएको यौन हिंसाको विरुद्ध #metoo अभियान अन्तर्गत बोलिरहेका छन् । यस अभियानले हामीले नसोचेका स्थापित पुरुषको नाम पनि बाहिर आइरहेको छ ।

नेपालकै अवस्थालाई हेर्ने हो भने राजनीतिज्ञ, कलाकार, फिल्म निर्माता आदिको नाम सार्वजनिक भएको छ । यसमा कति सत्यता छ स त्यो अनुसन्धानले बताउने कुरा हो । तर यस्तो अभियानले महिलाको अवाज बुलन्द बनाएको छ । पुरुषहरूमा पनि अब मनोमानी गर्ने क्षमतामा ह्रास आएको छ । यो कुराहरू अब साहित्यमा पनि आउन थालेका छन् । उपन्यासको पात्र चन्द्रमाले पनि आफू माथि भएको यौन शोषण विरुद्ध अवाज उठाउन नसके पनि अन्त्यमा पीडित महिलाको सहयोगार्थ सेल्टर हाउस खोलेर समाजमा परिवर्तन ल्याउन खोजेकी छिन् । महिला माथिको हिंसा घरपरिवार र आफन्तबाटै सुरु हुन्छ । हालचालै एउटा समाचार बाहिरिएको छ । एकजना पूर्व मिस नेपालले घरेलु हिंसाको कारण सत्र वर्ष लामो सम्बन्धलाई विराम लगाउँदै छिन् । यति धेरै शिक्षित र समाजिक हैसियत भएको महिला त हिंसामा छन् भने सामन्य महिलाको के कुरा के गर्नु ¤ विवाहोत्तर सम्बन्धको फेसन जस्तै छ यो समयमा । यस्ता सम्बन्धमा एउटा महिलाले अर्को महिलाको घर उजाड्न सहयोग गरिरहेका छन् । नारीको दुश्मन स्वयं नारी पनि हो भन्ने कुरालाई उपन्यासमा दर्शाइएको छ ।

उपन्यासको सबैभन्दा बलियो पक्ष भनेको घरेलु हिंसा र यौन शोषणको मुद्धालाई उठाइनु हो । पुरुषको नंग्न मस्तिष्क र यौन मनोविज्ञानाई देखाइएको छ । महिला जबसम्म चुप हुन्छन्, तबसम्म पुरुषको दमन सहिरहनु पर्छ । उपन्यासको महिला पात्रले ढिलै भएपनि पुरुष विरुद्ध अवाज उठाएर समाजमा हिंसा विरुद्धको अभियान चलाइएकी छिन् । यो समाज परिवर्तनको लागि आदर्श कदम बन्न सक्छ । उपन्यास निकै सरल भाषामा लेखिएकोले साधरण पाठकले पनि सजिलै छिचोल्न सक्नेछन् । संसारका कुनै पनि कृति बेदाग पक्कै छैनन् । केही कमजोरी आधिमा पनि छ । लेखनमा परम्परागत शैली छ । प्रस्तुतिमा नयाँपनको कमी छ । कथाको प्रवाह कताकता छुटे जस्तो भान हुन्छ । समग्रमा आधि उपन्यास महिलाको आवाज हो । अहिलेको कुरुप समयलाई बुझ्न यो उपन्यास सार्थक छ ।

प्रकाशित मिति: शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update