मन बहादुर खत्री
इस्मा–२, हस्तिचौर, मैनडाँडा, गुल्मी
मिठो बोली बोल्न सिक जितिन्छ दुनियाँ
घमण्डको तागतले मिल्छ कहाँ नियाँ ?
हास्नु बोल्नु सबै भाइबन्धु समान् ठानी
भेटिन्छ र नत्र कहाँ संगतिको खानी ?
थोरै बोल्नु धेरै सुन्नु ज्ञानी मान्छे भइन्छ
नबुझेर फत्फताउँदा कैले अघि गइन्छ ?
छर्छिमेकी वरपर राख्नु सबैलाई
सघाउँछ कस्ले नत्र पर्दा तिमीलाई ?
नगरेकै राम्रो धेरै चुरीफुरी अहिले
बोल्ने मान्छे काम गर्ने ठहरियो कहिले ?
शान्त बन स्वच्छ बन दीर्घ सोंच राख
चिडाएर साथीभाइ कैले बन्छ साख ?
अर्ती बुद्धि लिनु राम्रो साना–ठूलाबाट
कार्यसिद्धि हुन्छ कहाँ आफ्नो बिना आँट ?
म र मेरो हटाएर भन्नु पर्छ हाम्रो
साझा सोंच लिए हुन्छ कहिले नराम्रो ?
चाप्लुसी र चाकडीले कति फाइदा होला ?
खै को बन्यो नेताजीका बोकी हिड्ने झोला ?
कहिले यता कैले उता हिड्छौ बाटो फेरी
कस्ले काम फुकाउला संकट् पर्दा खेरी ?
राजनीति कुटनीति साह्रै गरे पनि
कतिञ्जेल साथ देलान् भरौटेले पनि ?
ढिलो चाँडो तिम्रो काँधमा पर्ला जिम्मेवारी
तिमी जस्तै बटारिए चल्ला कसो गरी ?
प्रकृति नि रिसाउँछ भाग्य खोसी दिन्छ
सत्य काम नगरेमा कस्ले भर लिन्छ ?
बाल्बालिका बुढाबुढी सबै आश गर्छन्
प्रतिकूल हुँदै गए कस्ले गर्छ दर्शन ?
अस्तित्वमा रहनू आफु राखी अरुलाई
कस्ले हेर्छ कस्ले टेर्छ नगरी भलाइ ?
कैल्यै पनि नसोच्नू म छु जान्ने ज्यादा
कस्ले के नै गर्न सक्छ एक्लै मात्र लाग्दा ?
सद्भाव र समन्वय राख्दै कार्य गर्दा
कस्ले हात दिदंैन र अप्ठेरोमा पर्दा ?
कर्तव्य हो हामी सब्को जिम्मा पूरा गर्नु
नत्र हुन्छ अधिकार खोज्दा लाज मर्नु ।
विधि नीति तोड्नु हुन्न जति जाने पनि
कल्ले दिन्छ साथ सधैभरी आप्mनो बनी ?
तिम्ले मैले भोग्नु पर्छ जगतको लीला
एकैनास कहाँ हुन्छ जीवनको लीला ?