Shittalpati
पाल्पामा गठबन्धनका उम्मेदवारलाई जिताउन कतै चुनावी सभा, कतै घरदैलो

पाल्पा, पाल्पामा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन कतै चुनावी सभा त कतै घरदैलो कार्यक्रम भएका छन् । यहाँ २०७४ को निर्वाचनमा एमालेले कब्जा गरेका पालिकाहरुमा समेत आफ्ना उम्मेदवारहरुलाई विजयी गराउने गरी पाँच दलीय गठबन्धनले घरदैलो कार्यक्रमदेखि चुनावी सभाहरुलाई व्यापक बनाएको छ ।
यहाँका १० वटै स्थानीयमा काँग्रेस सहितको गठबन्धनले आफ्ना उम्मेदवारलाई विजयी बनाउन मतदाताहरु समक्ष अपिल गर्दै आएको छ । ५ दलिय गठबन्धनले शनिबार रिब्दीकोट गाउँपालिका –२ देउरालीमा संयुक्त चुनावी सभा गरेको छ । चुनावी सभालाई गठबन्धनका संयोजक एवं नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले सम्बोधन गरे हुन् । सभालाई सम्बोधन गर्दै संयोजक श्रेष्ठले आसन्न स्थानीय तह निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवालाई विजयी गराउन सम्पूर्ण मतदातामा अपिल गरेका छन् । उनले लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न आग्रह गरे । काँग्रेस सभापति समेत रहेका श्रेष्ठले केपी शर्मा ओलीले संसद् विघटन गरी असंवैधानिक कदम चालेका कारण त्यसका विरुद्ध गठबन्धन एक भएर लोकतन्त्रको संरक्षणमा लागेको बताए । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल किशोर घिमिरेले गठबन्धन ओलीको सर्वसत्तावादका विरुद्ध निर्माण भएको बताए । उनले देश, लोकतन्त्र र संविधानका विरुद्ध देखापरेको प्रतिगमनकारी षडयन्त्रलाई चिर्दै मुलुक, लोकतन्त्र र संविधानको रक्षामा गठबन्धन बनेको बताए । उनले गाउँको विकास र समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदाता गर्न मतदाताहरुलाई आग्रह गरे ।

यस्तै नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य यादवबहादुर रायमाझीले लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको गठबन्धनलाई आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गरी गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन सबैलाई आग्रह गरे । कार्यक्रममा पालिका अध्यक्षका उम्मेदवार नारायण कार्की, उपाध्यक्षका उम्मेदवार कान्ता अधिकारी, वडा अध्यक्षका उम्मेदवार ओमप्रका पोखरेल लगायतले पालिकाको समृद्धि र विकास लागि आफुहरुलाई मतदान गर्न सबैलाई अपिल गरे । पालिका निर्वाचन प्रचारप्रसार समितिका संयोजक गोविन्द्र आचार्यको अध्यक्षता, नेपाली काँग्रेसका वडा सचिव दिपक पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।


रम्भा गाउँपालिका ३ पिपलडाँडामा पनि चुनावी सभा तथा उम्मेदवार परिचय कार्यक्रम भएको छ । त्यहाँ नेकपा एकिकृत समाजवादीका केन्द्रीय पोलिटव्युरो सदस्य सोमप्रसाद पाण्डे, गठबन्धनका संयोजक हिमालदत्त श्रेष्ठ, नेकपा एकिकृत समाजवादीका केन्द्रीय सल्लाहकार पदम अर्याल, नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सदस्य कृष्ण अधिकारी, काँग्रेस प्रदेश १ (ख) का सभापति दीपक पौडेल, काँग्रेस नेता विष्णु बोम्रेल,समाजवादीका नेता टोप जर्घा, नेपाली काँग्रेस रम्भाका सभापति रिखिराम अर्याल लगायतले पालिकाको समानुपातिक विकासका लागि गठबन्धनका उम्मेवारलाई विजयी गराउन आग्रह गरे । पालिका अध्यक्षका उम्मेदवार दुर्गा अधिकारी,उपाध्यक्षका उम्मेदवार विष्णु कुमार थापा र वडा अध्यक्षका उम्मेदवार थम्मनबहादुर गाहाले पालिकाका जनताहरुको जीवस्तर उकास्न आफुहरुलाई विजयी बनाउनुपर्नेमा जोड दिए ।
तिनाउ गाउँपालिमा –५ विस्कुनडाँडामा पनि गठबन्धनको चुनावी सभा भएको छ । उता बगनासकाली गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु पोखराथोकमा घर दैलो अभियानमा व्यस्त छन् । अध्यक्षका उम्मेदवार सुनिता अधिकारी ,उपाध्यक्षका उम्मेदवार कमल पाण्डे लगायतका वडाका अध्यक्ष, सदस्यहरु घरदैलोमा व्यस्त छन् । माथागढी गाउँपालिकामा पनि नेपाली काँग्रेसका उम्मेदवारहरु घरदैलो अभियानमा छन् । पालिका अध्यक्षका उम्मेदवार सन्तोष थापा मगर, उपाध्यक्षका उम्मेदवार विजया भट्टराई, ७ का वडा अध्यक्ष जंगबहादुर दर्लामी, महाधिबेशन प्रतिनिधि दुर्गा रायमाझी, वडा सदस्यहरु रहवास ओखरी गौडामा मतदाताहरु भेट्नमै व्यस्त छन् । रामपुर नगरपालिका, रैनादेवी छहरा गाउँपालिका, पूर्वखोला गाउँपालिका, तानसेन नगरपालिकामा पनि गठबन्धनका उम्मेदवारहरु घरदैलोमै व्यस्त छन् । न्यूज डेस्क

 

 

प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update