Shittalpati
खुसी दिवस र कोरोनाको सन्त्रास

विश्वभर शुक्रबार अन्तर्राष्ट्रिय खुसी दिवस मनाईएको छ । सन् २०१३ देखि संयुक्त राष्ट्रसंघले संसारभरीका मानिसको खुसीको महत्वलाई पहिचान गर्नका लागि मार्च २० का दिन यो दिवस मनाउँदै आइरहेको पाइन्छ । सन् २०१५ मा संयुक्त राष्ट्रसंघले १७ वटा दिगो विकास लक्ष्य घोषणा गरेर गरीबी अन्त्य गर्न, असमानता घटाउन तथा पृथ्वीको रक्षा गर्न प्रयत्न गरेको थियो । यी तीनै प्रयासले नै संसारमा खुसी छाउने विश्वास रहेको छ ।

यस वर्ष ‘ह्याप्पिनेस फर अल, टुगेदर’ अर्थात् सबैका लागि खुसी, सँगै भन्ने नाराका साथ यो दिवस मनाइएको छ । खुसी आफैभित्र छ, कुनै वस्तु या परिस्थितिले बाध्यकारी नबनाउने मानव जीवनको यो अपरिहार्य कुरालाई महत्व दिँदै सन् २०१६ देखि यो दिवस मनाउन थालिएको हो । तर यस पटक विश्वको खुसीमा कोरोनाको ग्रहण लागेको छ । यद्यपि मानिस खुसी हुने उपायको खोजी गरिरहेकै छन् । तर कोरोना भाइरसको संक्रमणले मानिसको खुसीलाई निराशामा बदल्दैछ । पछिल्लो समय कोराना संक्रमितको सूचीको २५ औँ स्थानमा फिनल्यान्ड छ । त्यहाँ चार सय भन्दा बढीमा संक्रमण भइसकेको छ । खुसी देशको दोस्रो स्थानमा रहेको डेनमार्कमा पनि कोरोनाको संक्रमण देखिएपछि पहिलेको खुसी हराउँदै छ । नेपालमा चीनबाट आएका एक व्यक्तिमा कोरोना संक्रमण भएपनि उपचार भइसकेको छ र थप संक्रमण भेटिएको छैन । खुसीको सूचकाङ्कमा नेपाल सयौँ स्थानमा रहेको छ । मानिसमा बढ्दै गएको अनावश्यक भयका कारण यस वर्षको खुसी दिवस दिवसमै सिमित रहेको छ । विश्वका १ सय ७० भन्दा बढी मुलुक कोरोना भाइरसले ग्रस्त छन् । जसले गर्दा खुसी दिवस मनाउनुको सट्टा अधिकांश मुलुकका नागरिकहरु कोरोनाको त्रासै त्रासमा समय बिताउन बाध्य छन् ।

प्रकाशित मिति: शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update