पाल्पा, स्थानीय तहको निर्वाचन नजिकिएसँगै पाल्पामा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सत्ता गठबन्धन दलहरु कस्सिएका छन् । उनीहरुले ठाउँ ठाउँमा चुनावी सभादेखि घरदैलो कार्यक्रमलाई व्यापक बनाएका छन् । उम्मेदवारहरुलाई सँगै लिएर मतदाताको घर घरमा पुेगको गठबन्धन दलले राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि नेपाली काँग्रेस सहितको गठबन्धनका उम्मेदवाहरुलाई मतदान गर्न आग्रह गर्दै हिडेका छन् ।
आइतबार जिल्लाको बगनासकाली गाउँपालिका २ पोखराथोकमा भएको चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनका संयोजक तथा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले पालिकाको समृद्धि र सुशासनका लागि गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन मतदाताहरुलाई आग्रह गरे । उनले केपी शर्मा ओलीका कारण लोकतन्त्र खतरामा परेको भन्दै त्यसको संरक्षणका लागि काँग्रेस सहितको गठबन्धनलाई विजयी बनाउन आग्रह गरे । विशिष्ट अतिथि नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य यादवबहादुर रायमाझीले लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको गठबन्धनलाई आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गरी गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन सबैलाई आग्रह गरे । नेकपा माओवादीका जिल्ला इञ्चार्ज नेत्रप्रसाद पाण्डेले गठबन्धन ओलीको सर्वसत्तावादका विरुद्ध निर्माण भएकाले मतदाताले गठबन्धनका उम्मेदवारलाई जिताउनु अहिलेको आवश्यकता रहेको औल्याए । प्रचार–प्रसार संयोजक माधव नेपालले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सबै मतदाताहरुलाई आग्रह गरे ।
कार्यक्रममा महासमिति सदस्य दुर्गा रायमाझी, नेपाली काँग्रसकोतर्फबाटपालिका अध्यक्षमा उम्मेदवारी दिएकी सुनिता अधिकारी, उपाध्यक्षमा एकिकृत समाजवादीबाट उम्मेदवार दिएका कमल पाण्डे,वडा अध्यक्षका उम्मेदवार उदय घिमिरे लगायतले पालिकाको समृद्धि र विकासका लागि आफुहरुलाई मत दिन आग्रह गरे ।
पूर्वखोला गाउँपालिकामा पनि चुनावी सभा भएको छ । त्यहाँ नेकपा एकिकृत समाजवादीका केन्द्रीय पोलिटव्युरो सदस्य सोमप्रसाद पाण्डे,राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरे, सविधान सभा सदस्य लीला सारु, नेपाली काँग्रेसका महासमिति सदस्य सन्दीप राना, नेपाली काँग्रेस क्षेत्र नं १ का क्षेत्रिय सभापति झमनबहादुर राज मगर लगायतले पालिकाको समग्र विकासका लागि गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गरे । जिल्लाका तिनाउ गाउँपालिका ,माथागढी गाउँपालिका, रामपुर नगरपालिका, रैनादेवी छहरा गाउँपालिका, तानसेन नगरपालिका, रम्भा गाउँपालिका,निस्दी गाउँपालिका, रिब्दीकोट गाउँपालिकामा पनि गठबन्धनका उम्मेदवारहरु घरदैलोमै व्यस्त छन् ।
न्यूज डेस्क