Shittalpati
पाल्पामा गठबन्धनका उम्मेदवारलाई जिताउन संयुक्त अपिल

पाल्पा, सत्तारुढ दलहरुको पाँचदलीय गठबन्धनले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन सार्वजनिक अपिल गरेको छ । गठबन्धनले संयुक्त अपिल जारी गर्दै राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि पाल्पाका दश वटै स्थानीय तहका उम्मेदवारहरुलाई विजयी गराउन मतदाताहरु समक्ष अपिल गरेको हो ।

गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ,नेकपा माओवादी केन्द्रका संयोजक नेत्रप्रसाद पाण्डे, नेकपा एककिृत समाजवादीका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेय (कमल),राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी र जसपाका जिल्ला उपाध्यक्ष हेमबहादुर सोमैद्वारा जारी संयुक्त अपिलमा आफ्ना उम्मेदवारहरुलाई विजयी गराउन आम मतदाताहरु समक्ष आह्वान गरिएको छ ।

सार्वजनिक अपिलमा राजनीतिक स्थिरता, सुशासन र समृद्धि,तीनवटै तहको सरकार सञ्चालनमा नियन्त्रण र सन्तुलन कायम गर्न,संविधानको कार्यान्वयन र रक्षा गर्न,विकृति, विसंगति र व्यक्तिवादी प्रवृत्तिको अन्त्य गरी विधिको शासन स्थापित गर्न, स्थानीय तहमा मिलिजुली काम गर्ने संस्कृतिको विकास गर्न,लोकतान्त्रिक संस्कृतिको विकास गर्न,सुशासन र पारदर्शिता कायम गर्न अत्याधिक मतका साथ आफ्ना उम्मेदवारहरुलाई विजयी गराउन अपिल गरिएको छ ।

लोकतन्त्रिक परिवर्तनलाई उल्टाउने दुस्प्रयास भएको भन्दै परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँच दलीय गठबन्धन बनेको बताइएको छ । २०७४ सालको निर्वाचनबाट गठन भएको नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको तत्कालीन संघीय सरकारले नागरिकका इच्छा र चाहना तथा लोकतन्त्रका आधारभूत मूल्य, मान्यता अनुसार काम गर्न नसकेको र जनभावना विपरित आन्तरिक किचलो, चरम व्यक्तिवादी प्रवृत्ति र गुटबन्दीमा देशको शासनसत्ता अगाडि बढाई भ्रष्टाचार, अनियमितता, महङ्गी जस्ता कुराहरू संस्थागत गर्नपुगेको गठबन्धनको आरोप छ ।

विधिको शासनभन्दा व्यक्तिको शासनलाई प्राथमिकता दिएकै कारण देशभक्त, लोकतन्त्रप्रेमी, सुशासनका पक्षधर र स्थिरता चाहनेहरू ने.क.पा. बाट अलग हुने परिस्थितिको सिर्जना भएको अपिलमा जनाइएको छ । ‘व्यक्तिवादी, स्वेच्छाचारी र निरंकुश प्रवृत्तिलाई हावी राख्न सनकको भरमा २/२ पटक जननिर्वाचित नेपालको संघीय संसदलाई विघटन गर्ने कार्य समेत हुन पुग्यो । यस्ता प्रवृत्तिलाई निरूत्साहित गरी देशमा स्थिरता, लोकतन्त्रिक पद्धति, नागरिक अधिकार र विधिको शासन स्थापित गर्ने उद्देश्यले पाँच दलीय गठबन्धन निर्माण भई केन्द्रमा नेपाली काँग्रेसको नेतृत्वमा विगत ८ महिनादेखि गठबन्धनको सरकारले सत्ता सम्हालिरहेको छ’ अपिलमा भनिएको छ । सार्वजनिक अपिलमा अहिले पनि लोकतान्त्रिक गणतन्त्र र संविधानका विरूद्धमा चुनौति कायमै रहेको र निरंकुश, अलोकतान्त्रिक तथा चरम व्यक्तिवादी चरित्रका विरूद्ध लोकतन्त्रको रक्षार्थ पाँचदलीय गठबन्धन बनेको दावी गरिएको छ । ‘सबै स्थानीय तहमा पाँच दलीय गठबन्धनमा रहेका दलहरू मिलेर निर्वाचनमा जानुपर्ने अहिलेको आवश्यकता हो । यसकारण आदरणीय पाल्पाबासी मतदाताहरूसमक्ष यो संवेदनशीलतालाई मनन् गरी पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरूलाई आफ्नो अमूल्य मत प्रदान गरी विजयी बनाउन हार्दिक अपिल गर्दछौँ ’ गठबन्धनद्वारा जारी अपिलमा भनिएको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update