पाल्पा, वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि पाल्पामा चुनावी सरगर्मी निकै बढेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिएसँगै यहाँ चुनावी सरगर्मी बढेको हो । चुनावी मैदानमा उत्रिएका दल र स्वतन्त्र उम्मेदवार मत माग्न यतिखेर मतदाताको घर–घरमा पुगेका छन् । चुनावको मिति नजिकिँदै गर्दा गठबन्धन दलले पनि उत्साहजनक रुपमा घरदैलो र चुनावी अभियानलाई तिव्रता दिएको छ । यहाँका दश वटै स्थानीय तहमा गठबन्धनका उम्मेदवारहरू उत्साहजन रुपमा मतदाताको घरदैलोमा व्यस्त छन् । उनीहरुले घरदैलो र चुनावी अभियानमार्फत आफ्ना एजेण्डा र संल्पकहरु मतदाताहरु समक्ष राख्दै मत मागिरहेका छन् ।
गठबन्धनले मंगलबार तानसेन नगरपालिकाको वडा नं ११ र १२ मा घरदैलो तथा चुनावी सभा गरेको छ । तानसेन –१२ मा भएको चुनावी सभालाई पाँच दलीय गठबन्धनका संयोजक हिमालदत्त श्रेष्ठले सम्बोधन गरेका छन् । उनले चुनावी अभियानलाई सम्बोधन गर्दै राजनीतिक स्थिरता, सुशासन र समृद्धि,तीनवटै तहको सरकार सञ्चालनमा नियन्त्रण र सन्तुलन कायम गर्न,संविधानको कार्यान्वयन र रक्षा गर्न,विकृति, विसंगति र व्यक्तिवादी प्रवृत्तिको अन्त्य गरी विधिको शासन स्थापित गर्न, स्थानीय तहमा मिलिजुली काम गर्ने संस्कृतिको विकास गर्न,लोकतान्त्रिक संस्कृतिको विकास गर्न,सुशासन र पारदर्शिता कायम गर्न अत्याधिक मतका साथ गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन मतदाताहरु समक्ष आग्रह गरेका छन् । कार्यक्रममा नगर प्रमुका उम्मेदवार सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा गाहा सिंजाली र वडाध्यक्ष पदका उम्मेदवार मेजरसिं केसीले वडाको खानेपानी समस्या समाधान गर्दै आर्थिक समृद्धि र विकास गर्न आफुहरुलाई विजयी गराउन मतदाताहरुलाई आग्रह गरेका छन् । सोहीअवसरमा ५० भन्दा बढी एमाले कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । एमालेका गतिविधिहरुबाट असन्तुष्ट जनाउँदै उनीहरु काँग्रेस प्रवेश गरेका हुन् ।
यस्तै गठबन्धनले तानसेन नगरपालिका–११ बन्दिपोखरामा पनि घरदैलो कार्यक्रम गरेको छ । विगत लामो समयदेखि नेकपा एमालेले नेतृत्व गर्दै आएको यहाँ अहिले भने गठबन्धनको उत्साहजनक सहभागिता देखिएको छ । घरदैलो कार्यक्रममा यहाँका स्थानीयहरु पनि काँग्रेस सहितको गठबन्धनप्रति उत्साहित देखिएका छन् । उनीहरुले पटक पटक एमालेलाई जिताएको तर वडाको विकासमा केही पनि नगरेकाले यस पटक गठबन्धनका उम्मेदवारलाई भोट दिने बताएका छन् । घरदैलोमा मत माग्न पुगेका वडा अध्यक्षका उम्मेदवार यादब सि कार्की, वडा सदस्य अमर राना,शिव खाती, गिता ठडराई र लाल बहादुर खातीलाई मतदाताहरुले यस पटक भोट दिने बताएका हुन् । यस्तै तिनाउ गाउँपालिका, माथागढी गाउँपालिका,रामपुर नगरपालिका, रम्भा गाउँपालिका,निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र निस्दी गाउँपालिकाकामा समेत गठबन्धनका उम्मेदवारहरु घरदैलोमै व्यस्त छन् । न्यूज डेस्क