पाल्पा,यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका कारण गाउँ–गाउँमा चुनावी गतिविधि बढेको छ । उम्मेदवार र राजनीतिक दलका नेताहरु मतदातालाई भेट्न घर–घरमा पुगेका छन् । घरमा मतदाता नभेटिए खेतबारीमा भएपनि पुगेर उम्मेदवारले आफूलाई सहयोग गर्न अनुरोध गरेका छन् । पाल्पामा गठबन्धन दलका उम्मेदवारहरु मतदातालाई भेट्न गाउँ गाउँ, टोल टोलमा पुगेका छन् । उनीहरु आफ्ना एजेण्डा सहित घरदैलोमा पुग्दा जनताको समर्थनले उत्साह थपेको बताएका छन् ।
शुक्रबार तिनाउ गाउँपालिका ४ छापमा घरदैलो कार्यक्रम पछि कोणसभामा बोल्दै गठबन्धनबाट गाउँपालिकाका उम्मेदवार बनेका माओवादी केन्द्रका राजेश श्रेष्ठ, काँग्रेसका उपाध्यक्षका उम्मेदवार लाल बहादुर थापा वडा अध्यक्षका उम्मेदवार देवसिह दर्लामीले घरदैलोमा पुग्दा जनताको समर्थनले थप उत्साह पैदा भएको बताए । उनीहरुले पालिकाका नागरिकहरुको दैनिक सहज बनाउनेदेखि शिक्षा, स्वास्थ्य र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने संकल्प गरेका छन् । कोण सभामा नेपाली काँग्रेस जिल्ला सदस्य विष्णु प्रसाद पाण्डे, काँग्रेस तिनाउका सभापति प्रेम प्रसाद पाण्डे, पुरन केसी, एकिकृत समाजवादीका जिल्ला सदस्य अरबिन्द्र पाण्डे लगायतले गठबन्धनसँग प्रतिष्पर्धा गर्न सक्ने क्षमताका कुनै पनि पार्टी नभएकाले तिनाउमा आफुहरुको जित सुनिश्चित रहेको बताए ।
माथागढी गाउँपालिकामा पनि घर–घरमै पुगेर मतदातालाई भेटघाट गर्ने कार्यक्रम तीव्ररुपमा चलेको छ । नेपाली काँग्रेसले आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन घरदैलो तथा चुनावी अभियान लाई तिव्रता दिएको छ । शुक्रबार नेपाली काँग्रेसबाट पालिका अध्यक्षका उम्मेदवार बनेका सन्तोष थापा मगर, उपाध्यक्ष विजया भट्टराई, वडा नं ४ का वडा अध्यक्ष मधु पराजुली लगायत वडा सदस्यहरुको टोलीले झेडवामा घरदैलो गरेका छन् । घरदैलो अभियानमा जनताले थपेको उर्जाले आफुहरुको जित सुनिश्तिच रहेको पालिका अध्यक्षका उम्मेदवार सन्तोष थापाले बताए । उनले पाँच वर्षमा आफुहरुले जनतासँग निकट भएर काम गरेकै कारण अहिले पनि जनताको उत्साजनक समर्थन रहेको बताए । ‘माथागढीलाई समृद्ध बनाउने संकल्पसहित हामी अगाडि बढेका छाँै’, उनले भने पालिकालाई कस्तो बनाउने भन्नेबारेमा जनतासँगै राय सुझाव लिएर अगाडि बढ्छौँ । ’
यस्तै बगनासकाली गाउँपालिकामा पनि गठबन्धनका उम्मेदवार मतदाताको घर घरमा पुगेका छन् । उनीहरुले शुक्रबार बगनासकाली ८ बराङ्दीमा घरदैलो गरेका छन् । नेपाली काँग्रेसबाट अध्यक्षको उम्मेदवार सुनिता अधिकारी र एकिकृत समाजवादीबाट उपाध्यक्षको उम्मेदवार खिमानन्द पाण्डे (कमल), वडा अध्यक्ष, सदस्यहरु वडाको समृद्धिसहितको संकल्प लिएर घरदैलो गरिरहेका छन् । उनीहरुले शिक्षा तथा स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय बनाउने संकल्प सहित जनताको घरदैलोमा छन् ।
निस्दीमा पनि गठबन्धनका उम्मेदवारहरुले घरदैलो गरिहेका छन् । काँग्रेसबाट अध्यक्षको उम्मेदवार बनेका गोविन्द प्रसाद अर्याल, माओवादी केन्द्रबाट उपाध्यक्षका उम्मेदवार बनेका रामप्रसाद खत्री सहित वडा अध्यक्ष, सदस्यहरु निस्दीलाई भ्रष्टचारमुक्त र समृद्धिको रुपमा विकास गर्ने संकल्प सहित मतदाताहरुको घर घरमा पुगेका छन् । उनीहरुले मतदाताहरुको घर र घरमा पुग्दा उत्साहजन रुपमा प्रक्रिया दिने गरेको बताएका छन् ।
पूर्वखोला गाउँपालिकामा पनि गठबन्धनका उम्मेदवारले आफ्ना एजेण्डा सहित जनतासँग मत मागी रहेका छन् । पालिका अध्यक्षका उम्मेदवार नेकपा एसका मिन गिरी, उपाध्यक्षका उम्मेदवार काँग्रेसका विष्णु कुमारी आचार्य, वडा अध्यक्ष, सदस्यहरुले पूर्वखोलालाई शिक्षा, स्वास्थ्य र कृषिको माध्यमबाट आर्थिक समृद्धि ल्याउन मतदान गर्न मतदाताहरुसँग अपिल गरेका छन् । रामपुर नगरपालिकामापनि नेपाली काँग्रेसका उम्मेदवारहरुले नगरको पाँच वर्षे संकल्प सहित मतदाताको घर घरमा छन् । नगर प्रमुखका उम्मेदवार रमणबहादुर थापा, उपप्रमुखका उम्मेदवार बालकुमारी थापासहित वडा अध्यक्ष, सदस्यहरु रामपुरलाई समृद्ध नगर बनाउने संकल्प सहित मतदाताहरुलाई भेटिरहेका छन् ।
रिब्दीकोट गाउँपालिकामा पनि गठबन्धन दलका उम्मेद्बार तथा कार्यकर्ताले घरदैलो तथा भेटघाटलाई तिब्रता दिएका छ्न । उनीहरुले शुक्रबार रिब्दिकोट गाउँपालिका ८ फेकको सोमहर र चण्डीस्थानमा भेटघाट तथा घरदैलो गरे । घरदैलोमा माओवादी केन्द्र रिब्दीकोटका इन्चार्ज नवीन ओली, नेपाली काँग्रेसका जिल्ला सदस्य माधव थापा , काँग्रेसका नेता गोबिन्द आचार्य, माओवादी केन्द्रका नेता मेघराज आचार्य, गाउँपालिका अध्यक्ष पदका उमेदवार नारायण बहादुर कार्की उपाध्यक्ष पदका उम्मेदवार कान्ता अधिकार र वडा अध्यक्ष तथा सदस्य पदका उमेदवारहरुको सहभागी रहेको थियो ।
यस्तै,गठन्धनका उम्मेदवारले रैनादेबी छहरा –५ मुझुङमा घरदैलो कार्यक्रम गरेका छन् । गठबन्धनकाको तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार रुक्मागत भट्टराई, उपाध्यक्षका उम्मेदवार युवराज थापा, वडा अध्यक्ष पदका उम्मेदवार हुमान सिंह कार्की लगायतले रैनादेवी छहराको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । सोही ठाउँमा भएको चुनावी सभालाई नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नेत्र प्रसाद पाण्डे ,नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र बिक लगायतले गठबन्धनको जित सुनिश्चित रहेको भन्दै गठबन्धनका उम्मेदवारलाई मतदान गर्न मतदाताहरु समक्ष आग्रह गरेका छन् । रम्भा गाउँपालिका, तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिकामा पनि गठबन्धनका उम्मेदवारहरुले आफ्ना एजेण्डा लिएर मतदाताहरुको घर घरमा पुगेका छन् ।