Shittalpati
के भन्छन् तानसेन नगर सरकार प्रमुखका दुई उम्मेदवार ?

रामचन्द्र रायमाझी/कृष्ण पोखरेल
पाल्पा, स्थानीय तह निर्वाचन आउन अब ६ दिन मात्रै बाँकी छ । देशभर उम्मेदवारहरु मत माग्न घरदैलोमा व्यस्त छन् । आफ्ना योजनासहित उम्मेदवारहरुले भोट मागी रहेका छन् । पाल्पामा पनि महत्वका साथ हेरिएको तानसेन नगरपालिकाको नेतृत्वका लागि उम्मेदवारहरु चुनावी मैदानमा छन् । हाल एमालेको नेतृत्वमा रहेको तानसेन नगरपालिकाको प्रमुखमा कुन दलले जित हात पार्ला भन्नेमा धेरैले चासो राखेका छन् । तानसेनमा पाँच दलीय गठबन्धन र एमालेबिच मूख्य प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ लामो समय एमालेले नेतृत्व गरेको नगर अब काँग्रेसको हातमा जान सक्ने केहीको आंकलन छन् भने केहीले एमाले विभाजनको असर तानसेनमा नपर्ने बताएका छन् । यहाँ काँग्रेसले जसरी भए पनि नेतृत्व आफ्नो हातमा पार्न पाँच दलीय गठबन्धनको साथ लिएको छ, भने एमालेले कुनै पनि हालतमा नेतृत्व अर्कोलाई नसुम्पिने दाउमा छ । काँग्रेसले शैक्षिक व्यक्तित्व तथा कुशल व्यवस्थापक सन्तोषलाल श्रेष्ठलाई नगर प्रमुखको उम्मेदवारी बनाएको छ भने एमालेले पार्टी अध्यक्ष तथा शैक्षिक व्यक्तित्व धनेन्द्रराज घिमिरेलाई उभ्याएको छ । यि दुवै जना आ–आफ्ना योजना सहित अहिले घरदैलो अभियानमा छन् । नगर प्रमुखका दुवै प्रतिस्पर्धी उम्मेदवार के भन्छन् त तानसेनको विकासमा ?

‘तानसेन निरन्तर खस्कियो,अब हामी बनाउँछौं’ 

     सन्तोषलाल श्रेष्ठ

 नगर प्रमुखका उम्मेदवार                    

नेपाली काँग्रेसबाट तानसेन नगर सरकारको प्रमुखका उम्मेदवार बनेका सन्तोषलाल श्रेष्ठले खस्कदै गरेको तानसेनको शाख जोगाउन आफुले उम्मेदवारी दिएको बताएका छन् । दुई दशकसम्म तानसेनको नेतृत्व गरेको दलले अपेक्षित विकास गर्न नसकेका कारण तानसेनको शाख खस्कदै गएको अवस्थामा यसलाई फर्काउनका लागि यसपटक मतदाताले नयाँ नेतृत्व खोजेका कारण नै आफुले नगर प्रमुखमा उम्मेदवारी दिएको शितलपाटिसँगको कुराकानीमा उनले बताए । ‘पाल्पामा एमालेले दुईदशक राज गरेपनि जनतालाई सन्तुष्ट बनाउने ढंगले काम गरेको देखिएन । नारा मात्र दियो, काम भएको देखिएन । पारदर्शी पनि भएन’, श्रेष्ठले भने ‘विगतमा तानसेन शिक्षा र स्वास्थ्यको हव नै बनेको थियो तर तानसेन नगरको नेतृत्वको अक्षमताका कारण त्यो विस्तारै कम हुँदै गएको छ यसतर्फ मेरो ध्यान जाने छ ।’ ढाका र करुवाबाट ख्याती कमाएको तानसेनले संरक्षणको अभावमा क्रमशः शाखा गुमाउँदै गएको भन्दै श्रेष्ठले प्रख्यात तानसेनको शाखा जोगाउन आफु लागि पर्ने बताए । ‘तानसेनलाई पुनर्जीवन दिने योजना मसँग छ,’ उनले भने । तानसेनलाई चलायमान बनाउन पर्यटन विस्तारमा जोड दिने योजना रहेको श्रेष्ठले बताए । तानसेनमा साना तथा घरेलु उद्योगहरु प्रसस्त भए पनि तिनको संरक्षण र प्रवद्र्धन हुन नसकेको भन्दै तिनको संरक्षण र प्रवद्र्धन गरी रोजगारको वातावरण सिर्जना गर्ने मेयरका उम्मेदवार श्रेष्ठले बताए । उनले तानसेनका केही ठाउँहरुमा सुकुम्बासी, भूमिहिन र अव्यवस्थित बसोबास रहेकाले त्यसको व्यवस्थापन गरी समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । श्रेष्ठले सडक व्यवस्थित गर्ने, ढल निकास र खानेपानीको समस्या समाधान गर्ने बताए ।
नागरबासीको दैनिकीलाई सहज र समृद्ध बनाउन सहयोग गर्ने कुरालाई पनि प्राथमिकतामा राखिएको उनले बताए । कर व्यवस्थापनका विषयमा पनि आफुले ध्यान दिने श्रेष्ठले बताए । उनले भने ‘नगरवासीहरु दिन प्रतिदिन करको बोझले थिचिइरहेका छन् । यो समस्या निदान गर्न व्यक्तिको आर्थिक स्थितिलाई ध्यानमा राखेर करको दायरा तोक्ने हाम्रो संकल्प छ । आयस्रोत कम भएकालाई करै नलाग्ने योजना अगाडि सारिएको छ ।’ आर्थिक र समृद्ध नगरको रूपमा विकास गर्न निस्वार्थ भएर लाग्ने उनले बताए । उनले भने ‘अरु थुप्रै महत्वपूर्ण र नगरका लागि आवश्यक योजनाहरू मसँग छन् । तीनको कार्यान्वयन गरेर तानसेन नगरलाई देशमै उत्कृष्ट सुशासनयुक्त, आर्थिक र व्यापारिक केन्द्र बनाउने छु ।’ श्रेष्ठले निर्वाचित भएमा आफुले पाएको तलबभत्ता विपन्न नागरिकको हितमा खर्च गर्ने घोषणा समेत गरेका छन् ।
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट अवकाश प्राप्त गरेका श्रेष्ठ शैक्षिक, सामाजिक व्यक्ति समेत हुन् । त्रिभुवन बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको कूशल जिम्मेवारी बहन गरेका श्रेष्ठ ३० वर्ष प्राध्यापन क्षेत्रमा संलग्न रहे । प्राध्यापक संघको क्षेत्रिय सभापति हुँदै केन्द्रीय सदस्य भएका उनी वि.स. २०४८ सालमा नेपाली काँग्रेको क्रियाशिल सदस्यता लिएका थिए । उनी काँग्रेस पाल्पाको जिल्ला सदस्य समेत भए । स्वास्थ्य क्षेत्रमा समेत योगदान पुर्याएका श्रेष्ठ लुम्बिनी मेडिकल कलेजका सञ्चालक समेत हुन् । अत्यन्त सरल, इमान्दार र निष्ठावान व्यक्तिको छवि बनाएका उनी तानसेनको समग्र विकासका लागि नगर प्रमुख पदका लागि चुनावी मैदानमा छन् ।
‘स्मार्ट सिटी सहितको पर्यटकीय नगर बनाउँछौं’

   धनेन्द्रराज घिमिरे
नगर प्रमुखका उम्मेदवार

नेकपा एमालेको तर्फबाट तानसेन नगर प्रमुखमा उम्मेदवारी दिएका धनेन्द्रराज घिमिरेले तानसेनलाई स्मार्ट सिटी सहितको पर्यटकीय नगर बनाउने बताएका छन् । उनले तानसेन आफैमा सुन्दर र शान्त भएकाले यसलाई स्मार्ट सिटीको रुपका विकास गरी अगाडि बढ्ने आफ्नो योजना रहेको बताए ।
शितलपाटिसँगको कुराकानीमा घिमिरेले तानसेन पर्यटकीय सम्भावना बोकेको शहर भएकाले त्यसको विकास गरी पर्यटकीय नगर बनाउने संकल्प गरेको बताए । नगर सरकारले सञ्चालन गरेका सबै किसिमका महत्वपूर्ण योजनालाई निरन्तरता दिई समयमै पुरा गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । तानसेनका १४ वटै वडाबाट अधिकतम सेवा प्रदान गरी नागरिकलाई घरदैलो सेवा प्रदान गर्ने, वडाबाटै योजना सम्झौता, अनुगमन मूल्याङकन तथा बजेट निकास गर्ने, कृषि उत्पादन बढाउन, सबै किसिमका कृषि उत्पादनमा अनुदानको व्यबस्था गर्ने, श्रीनगरडाँडामा सेनकालीन ऐतिहासिक दरवार पुननिर्माण गर्ने, ठाउँ–ठाउँमा सुन्दर पार्क निर्माण गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने, पाल्पा दरबार संग्रहालयमा पर्यटकीय पूर्वाधार विकास गरी आर्कषक मनोरम केन्द्र बनाउने योजना आफ्नो रहेको मेयरका उम्मेदवार घिमिरेले बताए । यस्तै उनले तानसेनको पुरानो बजार क्षेत्र नारायणस्थान, शित्तलपाटी, बसन्तपुर, सिल्खानटोल, टक्सारटोलका घरहरु निर्माण गर्दा अगाडिको भाग पुरानै शैलीमा निर्माणको व्यवस्था मिलाउने, यस क्षेत्रमा ठूला सवारी साधन निषेध गरी दर्शकीय पर्यटन क्षेत्रको रुपमा विकास गर्ने, ढाकाको राजधानी पाल्पालाई उत्सवको रुपमा मनाउने, सोही अनुसार ढाका उद्योग स्थापनादेखी विशेष सहुलियतको व्यबस्था गरी हजारौ व्यक्तिहरुलाई रोजगारी लागि आवश्यक समन्वय र सहयोग गर्ने बताएका छन् । घिमिरे लामो समयदेखी कम्युनिष्ट पार्टीको राजनीतिमा सक्रिय रहँदै आएका छन् । उनी नेकपा एमालेका जिल्ला अध्यक्ष समेत हुन् ।
२०३६ साल देखी राजनीतिमा सक्रिय घिमिरे शैक्षिक, राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय रहदै आएका छन् । सरल स्वभाव, इमान्दार, कर्तव्यनिष्ठ, स्वच्छ छवी भएका घिमिरेले एमविए विषयमा स्नाकोत्तर गरेका छन् । २०३५ सालमा नेकपा पार्टीसँग संगठित हुँदै २०३६ सालमा युथ लि·को सदस्य भई काम गरेका घिमिरे २०३६ मै अनेरास्ववियु पाल्पाको संस्थापक अध्यक्ष भई काम गरेका थिए । २०३९ सालमा पार्टीको पूर्ण कालीन सदस्य भई तानसेन नगर कमिटीको सदस्य, २०४० सालमा तानसेन नगर कमिटीको पार्टी प्रमुख सचिव, २०५२ सालमा तानसेन नगर कमिटीको इन्चार्ज, नेकपा एमालेको जिल्ला कमिटी सदस्य र कार्यालय सचिव भई काम गरेका व्यक्ति हुन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update