Shittalpati
पाल्पामा काँग्रेसका उम्मेदवारहरुको प्रण ‘हामी मालिक होइनौं, जनताका सेवक बन्छौं’

पाल्पा, जनताले चुनेर पठाएका जनप्रतिनिधिहरुलाई मेयर साव/अध्यक्ष ज्यू आदी नामले सम्बोधन गर्ने गरिन्छ । नाममा जसरी सम्बाधेन गरे पनि व्यवहारत : त्यस्तो नहुनु पर्ने हो । तर अधिकांस जनप्रतिनिधि जनताको सेवक हुँ भन्ने नै विर्सेर साव/अध्यक्ष ज्यू नै बन्ने प्रवत्ति यहाँ छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पाल्पामा काँग्रेसबाट उम्मेदवार बनेका केही व्यक्तिहरुले भने त्यस्तो प्रवृत्तिलाई चिर्न आफु जनताको सेवक बन्ने प्रण गरेका छन् ।
मतदाताहरुसँग भोट माग्दै उम्मेदवारहरुले आफु मालिक नभई जनताको सेवक बन्ने साझा प्रण गरेका हुन् । स्थानीय तहको निर्वाचन मिति नजिकिदै जाँदा घरदैलो र चुनावी सभालाई तिव्र बनाएका काँग्रेसका उम्मेदवारहरुले जनता समक्ष मेयर साव, अध्यक्ष ज्यू नभई सेवक बन्ने प्रण गरेका हुन् ।
शनिबार माथागढी गाउँपालिका २ रुप्सेमा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसबाट पालिका अध्यक्षको उम्मेदवार बनेका सन्तोष थापा मगरले पाँच वर्ष जनताकै सेवामा समर्पित भएको र अब पनि जनताकै सेवक बनेर काम गर्ने बताए । उनले पाँँच वर्षभरी जनतासँग निकट भएर जनताकै काम गरेको र फेरी पनि जनताले विश्वास गरेकाले अध्यक्षमा उम्मेदवारी दिएको बताए । थापाले भने‘हामीले माथागढीमा धरै विकास र समृद्धिका क्षेत्रमा काम गरेका छौं, केही सम्पन्न भएका छन् भने केही बाँकी छन् तिनलाई पुरा गर्न र माथागढीलाई देशकै नमूना पालिका बनाउने योजनामा हामी छौं ।’ उपाध्यक्षका उम्मेदवार विजया भट्टराईले जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रण गरेकी छन् । वडा अध्यक्षका उम्मेदवार जनक रिजेलले पनि पाँच वर्षसम्म जनताकै काम गरेको र अब पनि जनताकै सेवामा आफुलाई लगाउने बताए । उता माथागढी ४ झडेवामा पनि काँग्रेसले घरदैलोलाई व्यापक बनाएको छ । वडा अध्यक्षका उम्मेदवार मधु पराजुलीले घरदैलोमा पुग्दा जनताको उत्साहजनक समर्थन पाएको बताए ।


रामपुरमा पनि नेपाली काँग्रेसका उम्मेदवारहरुले घरदैलोलाई निरन्तरता दिएका छन् । नगर प्रमुखका उम्मेदवार रमणबहादुर थापा, उपप्रमुखका उम्मेदवार बालकुमारी थापा सहित वडा अध्यक्ष, सदस्यहरु मतदाहरुसँग भेटघाट गरिरहेका छन् । उनीहरुले वडा नं. ७ मा चुनावी सभा समेत गरे । सभालाई सम्बोधन गर्दै मेयराका उम्मेदवार रमणबहादुर थापाले पाँचवर्षमा धेरै कामहरु सम्पन्न भएको भन्दै बाँकी केहीअधुरा काम पुरा गर्न काँग्रेसका उम्म्ेदवारलाई विजयी गराउन आग्रह गरे । उप्रप्रमुखकी उम्मेदवार बालकुमारी थापाले रामपुर क्षेत्र भित्रका महिला तथा अल्पसंख्यक पीछडिएको वर्ग तथा समुदायको उत्थानका लागि काँग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताइन् ।
यस्तै काँग्रेसबाट तानसेन नगरपालिकाको प्रमुखमा उमेदवार बनेका सन्तोष लाल श्रेष्ठले जनताले अनुभूत गर्ने गरी काम गर्ने प्रण गरेका छन् । उनले सिंहदरवारको अधिकार घर–घर सम्म पुर्याउने बताए । शनिबार तानसेनको वडा नं. ९ मदनपोखरामा घरदैलो गर्दै हिडेका उनले शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, विद्युत, कृषि, पर्यटन र रोजगारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रण गरे । श्रेष्ठले जनताको हरेक सुख र दुखमा साथ दिने बताउदै यहाँका जनताको मुहारमा खुसी ल्याउने समेत बताए । बगनाकाली गाउँपालिकामा नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेकी सुनिता अधिकारीले पालिकाका आमनागरिकहरुले नेपाली काँग्रेसको नेतृत्व चाहेको बताएकी छन् । उनले आफु निर्वाचित भएपछि जनताको हरेक समस्यामा सारथी बन्ने प्रण गरेकी छन् । नेपा एसबाट उपाध्यक्षमा उम्मेदवार बनेका खिमानन्द पाण्डेले जनताको विश्वास गठबन्धनमा रहेको बताएका छन् । यहाँ गठबन्धनका उम्मेदवारहरुले ९ वटै वडाका घरदैलो गरिसकेका छन् । उता रम्भा गाउँपालिकाको वडा नं. ३ पिपलडाँडामा गठबन्धनको चुनावी सभा भएको छ । सभामा नेकपा एकिकृत समाजवादीका अध्यक्षका उम्मेदवार दुर्गा अधिकारीले नेतृत्वमा निरन्तर एउटै व्यक्ति हुँदा समाजको भावना बुझ्न नसक्ने भन्दै जनताले गठबन्धनलाई बहुमत दिनु आवश्यक रहेको बताए । काँंग्रेसबाट उपाध्यक्षका उम्मेदवार बनेका बिष्णु थापाले नेपाली काँग्रेसले जनताको मन जितेर काम गर्ने बताए ।
गठबन्धनले रिब्दीकोट गाउँपालिका – ८ फेक पनि चुनावी सभा गरेको छ । सभालाई नेपाली काँग्रेसका जिल्ला सभापति तथा गठबन्धनका संयोजक हिमाल दत्त श्रेष्ठले काँग्रेसले २०७४ सालमा ३७ वडा र ४ पालिका जितेको ईतिहास रहेको भन्दै हाल ५ प्रतिशत मत बढ्दा काँग्रेसको धेरै ठाउँमा जित सुनिश्चित रहेको बताए । पूर्व सांसद हरि प्रसाद नेपालले पालिकाको समृद्धि र लोकतन्त्रको संस्थागत विकास गर्न गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न सबैलाई आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्र नं २ का क्षेत्रीय सचिव कृष्ण आले,नेकपा माओजादीका नेता चिरञ्जीवी अमात्य ,गाउँपालिका अध्यक्षका उम्मेदवार नारायण बहादुर कार्की लगायतले एक पटक गठन्धनका उम्मेदवारलाई विजय गराए हेर्न पालिकावासीलाई आग्रह गरे । पालिका अध्यक्षका उम्मेदवार कार्कीले आफु निर्वाचित भएमा तलब भत्ता नलिने प्रतिवद्धा व्यक्त गरेका छन् ।
यस्तै तिनाउ गाउँपालिका– ५ कोलडाँडामा पनि गठबन्धनको चुनावी सभा भएको छ । सभालाई काँग्रेस लुम्बिनी प्रदेश सदस्य महेन्द्र प्रसाद पाण्डे, चक्र ब्युह थापा, वडा अध्यक्षका उम्मेदवार गणेश रास्कोटी लगायतले गठबन्धनका उम्मेदवारलाई अत्याधिक मतका साथ विजयी बनाउन आग्रह गरे । यस्तै गठबन्धनले रैनादेबी छहरा –१ सिद्देस्वरमा घर दैलो कार्यक्रम गरेको छ । घरदैलोका क्रममा गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका रुक्मागत भट्टराई, उपाध्यक्षका उम्मेदवार युवराज थापा, वडा अध्यक्ष पदका उम्मेदवार सोम बहादुर दर्लामी, प्रदेश कमिटी सदस्य राजेन्द्र बिक लगायतले विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । जिल्लाको निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिकामा समेत गठबन्धनका उम्मेदवारहरु घरदैलोमै व्यस्त छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update