पाल्पा, पाल्पाका ७ राजनीतिक दलहरुले स्थानीयतह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मर्यादित, विश्वनीय र भयरहित बनाउन साझा प्रतिवद्धता व्यक्त गरेका छन् । पाल्पा विकास केन्द्रले तानसेनमा गरेको अन्तक्र्रिया तथा रेडियो बहस कार्यक्रममा बोल्दै जिल्लाका राजनीतिक दलहरुले निर्वाचन आचार संहिता पूर्ण रुपमा पालन गर्ने, राजनीतिक दलहरु बिच स्वच्छ भयरहित वातावरणमा प्रचार–प्रसार गर्ने, आ–आफ्ना कार्यकर्ताहरुलाई संयमित भएर चुनावी अभियानमा लाग्न संयुक्त रुपमा प्रतिवद्धता व्यक्त गरेका हुन् । राजनीतिक दल र उम्मेदवारबिच एक आपसमा सम्मानजनक व्यवहार गर्ने, मान प्रतिष्ठा इज्जतमा आच आउने किसिमका गतिविधीहरु नगर्ने र भइहालेमा तत्काल रोक्ने प्रतिवद्धता उनीहरुले गरेका छन् ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव रामजी पोखरेल, नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेकपा माओवादी केन्द्रका सह इन्चाज अनिल किशोर घिमिरे, नेकपा एकिकृत समाजवादीका सचिव मोहनलाल गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कुवँर, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य नर्मती सिंजाली र राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष नारायण बहादुर कुवँरले स्वच्छ, निष्पक्ष भयरहित स्थानीय निर्वाचनका लागि , आयोगले जारी गरेको आचार संहिता पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । यहाँका ७ दलले प्रचार–प्रसारमा बालवालिकाहरु प्रयोग नगर्ने, जुलुस आमसभा कोणसभा बैठक भेला वा अन्य कार्यक्रमलाई एक अर्काे दलले बाधा नपु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले आगामी दिनमा पनि सबै विषयवस्तुमा मिलेर काम गर्ने समेत बताएका छन । विकास केन्द्रका कार्यक्रम संयोजक किरण कौशलले केन्द्र , जिल्लामा राजनीतिक दलहरुबिच देखिएको मेलमिलाप, सहकार्य, गाउँस्तरमा नेता कार्यकर्तासम्म पु¥याउन जिल्लास्तरका नेताहरुले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।