Shittalpati
गठबन्धनका उम्मेदवार घरदैलो अभियानको अन्तिम चरणमा

पाल्पा, वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि पाल्पाका विभिन्न पालिकाका गठबन्धनका उम्मेदवार घरदैलो अभियानको अन्तिम चरणमा पुगेका छन् । गाउँ गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन घरदैलो अभियानमा केन्द्रीत उम्मेदवारले प्रचारप्रसारलाई अन्तिम चरणमा पुर्‍याएका हुन् । मौनअवधि सुरु भएपछि प्रचारप्रसार गर्न नपाउने भन्दै उम्मेदवारलाई मतदाताको घरदैलोमा पुग्ने चटारो छ । आफ्नो पालिकाभित्रका वडा–वडा र घर–घरमा मत माग्न व्यस्त उम्मेदवार मौन अवधि सुरु हुनुपूर्व नै सबै मतदाताको घर–घरमा पुगिसक्ने योजनामा छन् ।

‘करिब करिब सबै वडामा घरदैलो सकिएको छ’, सत्तारुढ गठबन्धनका तर्फबाट बगनासकाली गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा उम्मेदवारी दिएकी सुनिता अधिकारीले भनिन् । ‘बाँकी रहेको केही मतदाताको घरदैलोमा भोलिसम्म पुग्ने लक्ष्य छ ।’ मौन अवधि सुरु नहुञ्जेलसम्म प्रचारप्रसार जारी रहने उनको भनाइ छ । यस्तै माथागढी गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार बनेका सन्तोष थापा मगरले पनि आफुहरुको घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको बताए । ‘हामीले पालिकाका करिब सबै वडामा घरदैलो गरिसकेको र बाँकी रहेका वडामा घरदैलो गरिरहेका छौं’, उनले भने ।

गठबन्धन दलका उम्मेदवार आफ्नो पार्टीको घोषणापत्र र एजेण्डा बोकेर मतदाताको घर–घरमा पुगिरहेका छन् ।गठबन्धनले रिब्दीकोट गाउँपालिका वडा –१ मा घरदैलो अभियान सकेको छ । आइतबार घरदैलौ सकेर कोण सभा गरिएको छ । कोण सभालाई नेपाली काँग्रेसका जिल्ला सभापति तथा गठबन्धन दलका संयोजक हिमाल दत्त श्रेष्ठले सम्बोधन गर्दै काँग्रेस कमजोर भएर गठबन्धन गरेको नभई आवश्यकता एवं लोकतन्त्रको रक्षाको लागि गरेको बताए । केपी ओलीले नेपालको संसदलाई विघटन गरेर संसदलाई भङ्ग गर्न खोजेको बताउदै हाल गठबन्धनको विधि र पद्दतीको विकास भएको उनले बताए । कार्यक्रममा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्व सांसद हरि प्रसाद नेपाल, नेकपा माओवादीका नेता अनिल किशोर घिमिरे लगाएतले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार नारायण बहादुर कार्कीले रिब्दीकोट गाउँपालिकाको कृषिबाट सम्भावना खोजेर कृषिको आधुनिकरण गर्ने, पर्यटन क्षेत्रको रूपमा विकास गर्ने,रोजगारको अवसर सिर्जना गर्ने,छुन्फान डाँडालाई पर्यटकिय क्षेत्रको रूपमा विकास गर्ने, शिक्षा,स्वास्थ्य,यातायात,विद्युत्, सञ्चारको विस्तार गर्ने बताए । गाउँपालिका उपाध्यक्षका उम्मेदवार कान्ता अधिकारीले न्यायिक समितिमा रहि महिला हक हित र अधिकारको सुनिश्चितता लागि काम गर्ने,भष्टचारमुक्त गाउँपालिका बनाउने उद्घोष गरिन् । कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार रामचन्द्र पाण्डेले पुलको निर्माण गर्ने,शैक्षिक गुणस्तर वृद्धि,सडक स्तरन्नोती गर्ने,घर्ले क्षेत्रको सडक निर्माण प्राथमिकताका साथ निर्माण खेल मैदानलाई व्यवस्थापन गर्ने,व्यवस्थित क्रिया पुत्री भवनको निर्माण,स्वास्थ्य इकाई सञ्चालन गर्ने बताए । आइतबार गठबन्धनले तिनाउ गाउँपालिका ६ पाटन र अर्खलेमा चुनावी सभा गरेको छ । यहाँ पनि गठबन्धनले घरदैलो र चुनावी सभालाई अन्तिम चरणमा पु¥याएको छ । पाटन र अर्खलेमा भएको चुनावी सभालाई नेकपा एकिकृत समाजवादीका तिनाउ अध्यक्ष दुर्गा भण्डारी, वडा अध्यक्ष टोम बहादुर पुन , माओवादी नेता शंकर भण्डारी, काँग्रेस नेता पूर्ण बहादुर कार्की, अध्यक्षताका उम्मेदवार राजेश श्रेष्ठ र उपाध्यक्षका उम्मेदवार लाल बहादुर थापाले सम्बोधन गरे ।

यस्तै गठबन्धनले तानसेन वडा नं. १४ अर्गलीमा पहिलो चरणको घरदैलो कार्यक्रम सकेको छ । घरदैलोपछिको कोण सभालाई नेपाली काँग्रेसका जिल्ला सभापति तथा गठबन्धनका संयोजक हिमालदत्त श्रेष्ठले सम्बोधन गरे । सभालाई सम्बोधन गर्दै श्रेष्ठले नेकपा एमालेसँग पाँच वर्षमा तानसेनमा विकास गरे भनेर आउने आट नभएको बताए । ‘पाँच वर्षमा तानसेन नगरमा यो राम्रो काम गरेँ भनेर जनताको घरदैलोमा आउने हिम्मतसमेत एमालेसँग छैन,’– उनले भने । उनले विसं २०७४ को स्थानीय तहको निर्वाचनमा तानसेनमा समेत नेकपालाई जनताले अवसर दिए पनि नगरको विकासमा सोचेजस्तो काम गर्न नसकेको बताए । उनले एक पटक कांग्रेसलाई अवसर दिनसमेत आम मतदातासँग आग्रह गरे । उनले नेकपा सरकारले जनताले दिएको मतको सम्मान गर्न नसकी संसद् विघटन गरेको बताए । ‘पाँच वर्ष सरकारको नेतृत्व गर्ने अवसर पाएको नेकपा सरकारले संसद् विघटन गरेर जनतमको अपमान गरेको छ, कांग्रेसलाई अवसर दिए जनताको मतको सम्मान गर्छ,’–उनले भने ।
कार्यक्रममा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद हरि प्रसाद नेपाल,नेकपा माओवादीका जिल्ला अध्यक्ष नेत्र प्रसाद पाण्डे लगाएतले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । मेयर पदका उमेदवार सन्तोष लाल श्रेष्ठले तानसेनका जनताको हरेक सुख र दुखमा साथ दिने बताउदै यहाँका जनताको मुहारमा खुसी ल्याउने प्रतिवद्धता ब्यक्त गरे । वडा अध्यक्षका उम्मेदवार दधिराम न्यौपानेले वडाको शिक्षा,स्वास्थ्य,खानेपानी विद्युतीकरण,यातायात,कृषि,युवा स्वरोजगार बनाउने योजनाहरू अगाडि बढाउने बताए ।

रैनादेवी छहरा –४ मा पनि गठबन्धनका उम्मेदवाहरुले घर दैलो कार्यक्रम गरेका छन् । गठबन्धनकाको तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार रुक्मागत भट्टराई ,उपाध्यक्षका उम्मेदवार युवराज थापा, वडा अध्यक्ष पदका उम्मेदवार लक्ष्मण रायमाझी लगायतले जनताको मतलाई सम्मान गर्न गठबन्धनका उम्मेदवारलाई भोट हाल्न आग्रह गरे । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य यादव बहादुर रायमाझी, नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र बिक, प्रचार प्रसार समितिका उपसंयोजक पदम सोमै लगायतले गठबन्धनका उम्मेदवारलाई जिताउन जनताहरु उत्साहजनक लागि परेकाले भारी मतले विजयी हुने बताए ।

यस्तै माथागढी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले घरदैलोसँगै मतदाता शिक्षा पनि दिदै आएका छन् । अध्यक्षका उम्मेदवार सन्तोष कुमार थापा, उपाध्यक्षका उम्मेदवार विजया भट्टराई, वडा अध्यक्ष, सदस्यहरुले जनतामा मतदान शिक्षा नभएपछि मतदाता शिक्षासगैँ घरदैलो अभियानलाई तिव्रता दिएका हुन् । ‘ जनताको घरमा पुगेर उनीहरुको समस्यालाई प्रत्यक्ष रुपमा बुझेका छौँ, यसपटक निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छैन हामी अहिले नमूना मतपत्र लिएर जनतालाई स्पष्ट पार्न घर दैलोमा पुगेका छौं ’ अध्यक्षका उम्मेदवार थापाले भने ।

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update