Shittalpati
‘तानसेन ३ लाई नमूना वडा बनाउँछु’

कृष्ण पोखरेल
पाल्पा, तानसेन नगरपालिका ३ मा स्वतन्त्र उम्मेदवारी दिएका भुगोल प्रसाद बैजु( श्रेष्ठ)ले वडालाई देशकै नमूना वडा बनाउने बताएका छन् । योजना, घोषणापत्र सहित जनतासँग मत माग्दै घरदैलो गरेका बैजुले वडा अध्यक्षमा निर्वाचित भएमा वडाको समृद्धि र विकास गरी देशकै नमूना वडा बनाउने संकल्प गरेका हुन् ।

उनले नगरपालिकाबाट पाउने सम्पूर्ण सेवा सुविधा तथा तलव वडाका विरामीहरुलाई अस्पताल लैजान र मृत्यु भएका व्यक्तिहरुलाई घाटसम्म लैजानको लागि खर्च गर्ने प्रतिवद्धता जनाएका छन् । नगरवासीसँग लिइने कर आधा घटाई, करको दायरा फराकिलो बनाउने, वडाको पूर्ण सरसफाई गरी नमूना वडा बनाउने, ढल बाटो घाटो, विजुलीलाई व्यस्थित गर्ने, वडा भित्रका मठ मन्दिर, चौपारीहरु संरक्षण गर्ने, वडाका टोल क्लव, आमा समुहलाई निःशुल्क तालिम सञ्चालन गरी घर घरमै रोजगारी सिर्जना गर्ने, श्रीनगरडाँडा व्यस्थित पर्यटकीय स्थलको रुपमा विकास गर्ने, डाँडालाई पिकनिक स्पोट, बालबालिका पार्कको रुपमा विकास गर्ने संकल्प उनले गरेका छन् । दलबाट निर्वाचित नेताहरु, पार्टीको नीति भन्दा बाहिर गएर काम गर्न नसक्ने भएकाले वास्तविक जनताको हक हितका लागि तानसेन ३ वडावासीले आफुलाई मत दिन मतदाताहरुसँग बैजुले अपिल गरेका छन् ।

लोकतन्त्र,प्रजातन्त्रमा दलीय व्यवस्था बलियो भए पनि संविधानले स्वतन्त्र नागरिकहरुलाई पनि उत्तिकै अधिकार दिएको छ । यही बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा तानसेन नगरपालिकामा ७२ जना जनप्रतिनिधीको लागि नगर प्रमुखदेखी वडा सदस्य पदमा १८२ जना उम्मेदवारी परेको छ । जसमा १७५ जना विभिन्न दलबाट उम्मेदवारी परेको छ भने ७ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । राजनीतिक दलमा ठाउँ नपाएका, समाजमा छुट्टै पहिचान बनाएका व्यक्तिहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दिई आफ्ना, मुद्दा, योजना, नारा, कार्यक्रम लिएर जनता माझ पुगेका छन् । वडामा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार बाबुरत्न शाक्य, नेकपा एमालेको तर्फबाट महेशलाल शाक्य र नेकपा एकिकृत समाजवादीबाट प्रेम कुमार शाही वडा अध्यक्षको चुनावी मैदानमा छन् । उनीहरुले पनि आ–अफ्ना एजेण्डा सहित मतदातासँग मत मागिरहेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update