Shittalpati
‘कृषि र पर्यटनको विकास गरी रैनादेवीमा समृद्धि ल्याउँछु’

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षमा उम्मेदवार रुक्मागत भट्टराईले कृषि र पर्यटन क्षेत्रको विकास गरी पालिकामा समृद्धि ल्याउने बताएका छन् । पाल्पाको राजनीतिक र सामाजिक क्षेत्रमा समेत परिचित भट्टराईले यहाँको सम्भावना कृषि र पर्यटनको रहेकाले त्यसको विकास गरी रैनादेवीको समृद्धि र विकास गर्ने बताए । एनजेडीसँगको कुराकानीमा भट्टराईले आफु प्रशासनिक, राजनीतिक र सामाजिक क्षेत्रमा कार्य अनुभव समालेको भएकाले पनि पालिकाको विकास र समृद्धि गर्ने विषयमा आफुसँग उपयुक्त भिजन रहेको बताए ।

सबैका प्रिय र प्रभावकारी नेताका रुपमा छवि बनाएका भट्टराईले कोरोना महामारीका बेला समस्यामा परेका नागरिकहरुलाई राहत व्यवस्थापनदेखि कोरोना परीक्षणमा सहयोग गरी उदाहरणी कार्य गरेका थिए । पालिकालाई पर्यटन क्षेत्रको रुपमा विकास गरी पालिकाको समृद्धि र रोजगारी प्रवद्र्धन गर्ने उनको संकल्प रहेको छ । भट्टराईले आफु निर्वाचित भएको खण्डमा सीप विकासका कार्यक्रमसँगै कृषिलाई व्यवसायिक बनाउने दिशामा प्राथमिकता रहने बताए । उनले नेपालमा बजेट विनियोजन हुने तर त्यसको कार्यान्वयन पक्ष कमजोर हुँदा विकासले गति लिन नसकेकाले आफुले त्यसतर्फ ध्यान दिने बताए । शिक्षा, स्वास्थ्यसँगै वैदेशिक रोजगारीमा गएका युवाहरुलाई गाउँमै रोजगारी सिर्जना गर्न सक्ने कार्यक्रम समेत ल्याउने भट्टराईको संकल्प छ । जेष्ठ नागरिकहरुलाई घरदैलोमै सेवा प्रवाह गर्ने, रैनादेवी गोखुङ्खा, सिद्धेश्वर, भुवनपोखरी तालपोखरा लगायतका क्षेत्रमा रहेको खानेपानी समस्या समाधान गर्ने लक्ष्य रहेको उनले बताए ।

रैनादेवी छहरामा २०१६ साल कार्तिक १५ गते जन्मिएका भट्टराई सरल र सहज स्वभावका नेताको रुपमा परिचित छन् । पछिल्लो समय नेपाली राजनीतिमा उदाएका प्रतिभाशाली नेता भट्टराई आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधैं समाज र जनाताप्रति समर्पित छन् । स्थानीय वेद बेदाङ्ग माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा सुरु गरेका उनी समाजमा विभिन्न क्षेत्रको नेतृत्व गर्दै आएका छन् । भट्टराई २०४४ सालमा नेपाल निजामती कर्मचारी संघको सदस्य भएका थिए । उनी रैनादेवी छहरा गाउँपालिका क्षेत्रको छहरा, सिद्धेश्वर, सोमादी, भुवनपोखरी, जुठापौवा, फेक र झिरुबासको साविक गाविस कार्यालयमा सचिवका रुपमा कार्य समेत गरे । मालपोत कार्यालय तथा यातायात सेवा कार्यालय पाल्पामा समेत कार्य गरेका भट्टराईसँग प्रशासनिक अनुभव समेत छ । उनी द्वन्द्वकालको समयमा २०५६ सालमा जिल्लाकै पहिलो अपहरणमा पर्ने कर्मचारी समेत हुन् । उनी कर्मचारी रहँदादेखि नै विभिन्न संघ संस्थाको नेतृत्व गर्दै आएका थिए । भट्टराईसँग नेतृत्व गर्ने क्षमता भएकै कारण उनी राजनीतिमा समेत संलग्न रहे । सानै उमेरदेखि राजनीतिमा दख्खल राख्ने भट्टराई नेपाली काँग्रेसमा लामो समयदेखि सक्रिय रहँदै आए । पार्टीमा सक्रिय रहेकै कारण उनी नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट नेपाली काँग्रेस क्षेत्र नं. २ (ख) का सभापतिमा निर्वाचित भए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update