गुल्मी, नेपाली काँग्रेसले गुल्मीका दुई पालिकामा विजयी हासिल गरेको छ । दुई पालिकाको अन्तिम मतगणना सार्वजनिक हुँदा काँग्रेसले जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मीदरवार गाउँपालिकामा विजयी हासिल गरेको हो । रेसुङ्गा नगरपालिकामा नेपाली काँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थी नगर प्रमुखमा निर्वाचित भएका छन् ।
पन्थीले आठ हजार ६ सय १४ मत ल्याएर नगरप्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटत्म प्रतिद्धन्द्धी नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले ७ हजार ३ सय २० मत ल्याएका थिए । उपप्रमुख नेपाली काँग्रेसकै अमृतादेवी कुवँरले आठ हजार १९ मत ल्याएर निर्वाचित भएकी छन् । उनको प्रतिद्वन्द्वी एमालेकी रीता पाण्डेले ७ हजार २ सय ३१ मत ल्याइन् । नगरपालिकामा २३ हजार ५ सय ३१ जना मतदाता रहेकोमा १६ हजार २ सय ३९ जनाले मतदान गरेका थिए । यहाँका १० वटा वडामा नेपाली काँग्रेसका र ४ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । रेसुङ्गा नगरपालिका २ मा नेपाली काँग्रेसका हिराबहादुर थापा, ३ मा बाबुराम खत्री, ४ मा लिलाधर आचार्य, ५ मा दुर्गाप्रसाद खनाल, ७ मा रामजी पन्थी, ९ मा कृष्णप्रसाद पाण्डे र १० मा रामबहादुर बस्नेत, १२ मा चेहरसिंह टन्डन, १३ मा हुमबहादुर बस्नेत, १४ मा धनबहादुर पुन निर्वाचित भएका छन् । नेकपा एमालेका तर्फबाट रेसुङ्गा १ मा रामप्रसाद पन्थी, ६ मा गनबहादुर गुरुङ र ८ मा निरञ्जन थापा काउछा, ११ मा खुमबहादुर राना विजयी भएका छन् । ०७४ सालमा सम्पन्न निर्वाचनमा नेकपा एमालेले नगरप्रमुख, उपप्रमुख र ६ वटा वडामा वडा अध्यक्ष जितेको थियो ।
यस्तै गुल्मीदरवार गाउँपालिकामा पनि काँग्रेसका उम्मेदवार विजयी भएका छन् । यहाँ अध्यक्षमा सरोज थापाले ६ हजार १ सय ६६ मत ल्याए भने नेकपा एमालेका उम्मेदवार कृष्ण भुसालले ५ हजार ६ सय २ मत ल्याए । यस्तै यहाँ उपाध्यक्षमा काँग्रेसबाट तारा थापा निर्वाचित भएकी छन् । उनले एमालेको उम्मेदवार सुशिला पुनलाई ५ सय ९९ मत अन्तरले हराइन् । ताराले ६ हजार १ सय ८८ मत पाउँदा सुशिलाले ५ हजार ५ सय ८९ मत पाइन् । गुल्मी दरबार गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली काँग्रेस र ३ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेसबाट वडा १ मा राजेन्द्र कंडेल, ३ मा रामबहादुर थापा, ६ मा मुकेश थापा र ७ मा शालिकराम टण्डन निर्वाचित भएका छन् । नेकपा एमालेबाट वडा २ मा विष्णु गौतम, ४ मा देविराम पोखरेल र ५ मा गुणनिधी पौडेल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ यसअघि पनि काँग्रेसले जितेको थियो ।