Shittalpati
घरको छतमा तरकारी लगाएर जीविकोपार्जन

रामपुर, तरकारी लगाउनका लागि प्रशस्त जग्गा नै चाहिन्छ भन्ने छैन । आफूमा जाँगर र मेहनत भयो भने घरको छतमा तरकारी लगाएर राम्रो उत्पादन गर्न सकिन्छ । पाल्पा रामपुर नगरपालिका ५ बेझाड बजार बस्ने बिन्दु श्रेष्ठले घरको छतभरी विभिन्न जातका तरकारी लगाएर हरियाली बनाएकी छन् । छतमा तरकारी खेती गर्न थालेपछि उनलाई बिहान साँझ तरकारी किन्नका लागि पैसा खर्चनु परेको छैन । ‘घरको छतमा तरकारी खेती गर्न थालेपछि साँझ बिहान के तरकारी पकाउने भन्ने पिरलो छैन, बजारमा तरकारी किन्न छाडेको दुई तीन वर्ष भयो, घरकै उत्पादनले पुगिरहेको छ’, उनले भनिन् । श्रेष्ठको घरको छत पूरै तरकारी खेतीले ढाकिएको । उनलाई तरकारी लगाउने, गोडमेल गर्ने, टिप्ने, रेखदेख गर्ने गर्दैमा दिन बितेको पत्तो छैन ।

घरमा पुग्ने आफन्त छिमेकीलाई पनि तरकारी कोशेलीका रुपमा दिने गर्छिन् उनी । पुष्पा श्रेष्ठले पनि १०/१२ वर्षदेखि घरको छतमा क्यारी बनाएर तरकारी खेती गर्दै आएकी छन् । पहिला तरकारी खरिदमा उनलाई दैनिक १ सय ५० रकम खर्चनुपथ्र्यो तर अहिले भने आफैँले छतमा उत्पादन गरी बिहान साँझ घरलाई खान पुर्‍याउँछिन् । ‘दिनहुँ तरकारीमै धेरै रकम खर्चनुपथ्र्यो, बजारमा आएका विषादीयुक्त तरकारीले मानव स्वास्थ्यमा पनि असर गर्ने, अहिले त तरकारी किन्ने पैसा बचत भएको छ, आफैँले फलाएको स्वस्थ तरकारी खान पाइएको छ’, श्रेष्ठले अनुभव सुनाइन् । आफूमा जाँगर भयो भने कम मेहनतमा पनि घरको छतमा या कौसीमा तरकारी लगाएर तरकारी किन्ने पैसा बचत गर्न सकिन्छ ।

काठमाडौं पोखरा लगायतका विभिन्न बजारका घरको छतमा तरकारी लगाएको देखेपछि ३० हजारको लगानीमा क्यारी बनाएर तरकारी लगाउन थालेको स्थानीय सूर्यप्रसाद श्रेष्ठले बताए । उनको घरको छतमा अहिले साग, मुला, धनियाँ, सिमी, काउली लगायतका विभिन्न जातका तरकारी छन् । उनले तरकारीमा मलका लागि स्थानीय जातका कुखुरा पनि पालेका छन् ।

मौसम अनुसारका विभिन्न जातका तरकारी उत्पादन गरी घरलाई खान पुग्ने भएपछि बेझाड बजारका नागरिकले घरको छतमा क्यारी बनाएर तरकारी लगाउन थालेका हुन् । घरका छतमा गमला, क्यारी, बोरामा तरकारी लगाएर हरियाली बनाउने गरेका छन् । तरकारी खरिदमा पैसा खर्च गर्नु नपर्ने आफैँले घरमा विषादीरहित उत्पादन गरिएको तरकारीले स्वास्थ्यलाई फाइदा हुने भएपछि अहिले घरको छतमै तरकारी लगाउनेको आकर्षण बढ्दो छ । –रासस

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update