Shittalpati
नेवारी संस्कृति :  पिचास चतुर्दशी पाँहा चन्हे

मदन देउराली

आज चैत्र कृष्णपक्षको पिचास चतुर्दशी हो । यसलाई काठमाडांै उपत्यकाका नेवार जातिको पाँहा चन्हे अर्थात् पाहुना मनाउने एक प्रमुख चाडका रुपमा लिने गरिन्छ । यस दिन पिचासरुपी भगवान श्री महादेवको पूजा आराधना गरी भगवानलाई विशेष भोज चढाइन्छ । हुन त भगवान श्री महादेव सौम्यरुपमा महादेव, भोलेनाथ, शिव शंकर, करुणामय, कैलाशपती आदी–आदी तर रौद्ररुपमा महाकाल भैरव, बटुक भैरव आदि नामले चिनिन्छ । मद्यपान, माँसको सेवन नगर्ने देवताको रुपमा श्रीमहादेवलाई लिइन्छ । तर पिचास चतुर्दशीको एक दिन महादेवले पिचास रुपधारण गरी मद्यपान मांसको सेवन गर्नु हुन्छ भनिन्छ । यस दिन नेवार भक्तजनहरु लुुक महाद्योको अर्थात् लुकेको महादेवको पूजा आराधना गर्दछन् । यस पर्व मनाउनुको प्रमुख कारण हाम्रा वरपर घुमिरहने दुष्ट आत्माहरुबाट छुटकारा पाउने हो भनिन्छ ।

आयुर्वेद शास्त्र अनुसार कहिलेकाही कतिपय यस्ता रोगहरु देखा पर्दछन् जस्मा कुनै शारीरिक कारणहरु देखिदैनन् तर दैनिक कष्ट दिई रहन्छन । यस्ता विरामीहरुलाई भूत प्रेत, बोक्सी आदि दोषजन्य रोग भनेर भनिन्छ । चतुर्दशीको दिन भूतप्रेत, पिचास, बोक्सीहरु जागृत हुन्छन् र मानिसहरुलाई विभिन्न प्रकारले शारीरिक दुख कष्ट दिन्छन् । हुनत स्वास्थ्यको दृष्टिकोणले चैत्र महिनादेखि गरम बढ्दै जाँदा विभिन्न प्रकारका रोग व्याधिहरु फैलिदै जान्छन् । उहिले आजको जस्तो स्वास्थ्य उपचारका लागि सुविधा थिएन, त्यसैले विमार भएमा दुष्ट आत्माहरु, लागो, बोक्सी आदिले दुःख दिएको भनेर धाँमी, झाँक्री, देवी आदिको पूजा आजाबाट मात्र रोग निको हुने विश्वास मानिसहरुमा थियो र त्यस्को लागि उनीहरुले भने अनुसार सामग्रीहरुको जोहो गरी दिने गर्दथे । पिचास चतुर्दशीलाई स्वास्थ्यको दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको छ । आफ्नो घर वरपर सफा सुग्घर राख्न सर्वसाधारणलाई सचेत गराउन पनि रछ्यानमा भगवान महादेवको प्रतिकको कल्पना गरिएको भनिन्छ ।

किंवदन्ति अनुसार एकपटक महादेव यस्तै फोहरमा लुक्नु भएको थियो । पौराणिक ग्रन्थका अनुसार भगवान शिवजीले एकपटक भष्मासुर नामक राक्षसलाई उनको तपस्यादेखि खुसी भएर जसको शिरमा हात राख्ने छ भष्म हुने छ भनेर वरदान दिनु भएछ । वरदान पाएपछि यस्को परीक्षण गर्नलाई आफ्नो अगाडि शिवजीलाई नै देखि शिव कै शिरमा हात राख्न जाइ लागेछन् । त्यो देखेर शिवजी डराएर भाग्दै जाँदा रछ्यानमा लुकेर ज्यान बचाए छन् । उक्त कुरा भगवान विष्णुले थाहा पाएर मोहिनी स्त्रीरुप धारण गरी भष्मासुरलाई भुल्याई आफ्नै शिरमा हात राख्न लगाई भष्म गराए छन् । पछि शिवजीलाई रछ्यानबाट निकाली सफा गरी पवित्र बनाई पूजा गरेछन् । त्यसदिनदेखि यस दिनलाई पिचाश चतुर्दशी भन्ने गरिएको तथा लुकेर बसेको
(लुकु महाद्यो) लुकुवा महादेवको पूजा गर्न थालिएको भनिन्छ । भगवान महादेव रछ्यान अर्थात् फोहोरमा लुकेको हुनाले पनि यो फोहरसँग सम्बन्धित भएकाले सरसफाइ हुनु पर्छ भन्ने सन्देश दिनको लागि पनि यो चतुर्दशी मनाइएको भनिन्छ । काठमाडौंका नेवारहरुले भूत प्रेत पिचाशबाट मुक्तिका लागि यस दिन आफनो घर आगन सफा गरी फोहर फ्याकिएको ठाउँमा लुकेर बसेको महादेवलाई आÞवान गरी जाँड रक्सी लसुन, अदुवा, मासु आदि राखी महादेवलाई चढाई विधिपूर्वक पूजा गर्दछन्, प्रसाद लिने गर्दछन् तथा भोज खाने चलन रहेको छ । महादेवले माँसाहार हुनको लागि पिचाश रुप लिनु भएको हुनाले यस दिनलाई पिचाश चतुर्दशीको रुपमा मनाउने गरिएको भनिन्छ । माता पार्वतीे श्री भगवान महादेवकी अर्धागिनी शक्ति कि देवी हुनुहुन्छ उहाँलाई पूजा आराधना गर्दा बलि दिई मद्यपान, माँसले पूजा गर्ने गरिन्छ तर महादेवको पूजा गर्दा माँस, मद्यपान राखिदैन र बलि पनि दिइदैन । किम्वदन्ती अनुसार एकदिन माता पार्वतीले भगवान श्री महादेवलाई आफु उहाँको अर्धागिनी भएतापनि आफ्नो पूजामा बलि तथा मद्यपान सबै सेवन गर्ने तर महादेवको पूजामा यस्ता केही नहुँदा आफुलाई अपठ्यारो भएको बताउनु हुन्छ । यो कुरा थाहा पाएर भगवान श्री महादेव तोरी फुलेको खेतमा मूलाको फूलको बोटमा लुकेर पिचासरुप धारण गरी सुटुक्क मद्यपान, माँस तथा अन्य खानेकुरा खाएर पार्वतीलाई देखाउनु भएको भनिन्छ ।

यो वास्तवमा लुकेर बसेको महादेवले मासु सहितको भोज खाएको अरु कसैले नदेखोस भनेर तोरी र मूलाको फूलले छोप्ने परम्परा रहेको बताइन्छ । यस दिन माँसाहारको लागि महादेवले पिचास रुप लिनु भएकोले पिचास चतुर्दशी भनि हो भन्ने मान्यता रहेको छ । महाकाल तन्त्र शिव वचन शास्त्र अनुसार यस दिन महादेव (लुकु महाद्यो)लाई मासु, रक्सी, जाँड, लसुन आदि चढाई पूजा गर्ने तथा अजिमाहरुको दर्शन गरेमा सिद्धि प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । यस दिन काठमाडांै वरपर रहेका देवी देवताहरु, अजिमाहरु लगाएत गणेश र भैरवको रथयात्रा गर्ने गरिन्छ । तथा त्यहाँका ज्यापु समुदायले एक प्रकारको नाय खिं भन्ने ढोलक जस्तो बाजा बजाउने गर्दछन् । साझँपख टोलटोलमा रहेका लुकेका महादेवलाई (लुकुमहाद्यो)लाई आह्वान गरी मूलाको, रायोको फूलले पूजा गरी विशेष प्रकारको भोजमा सहित जाँड, रक्सी, लसुन, अदुवा, मासु आदि श्री महादेवलाई चढाएर पूजा गर्दछन् । यो पूजा साँझपख गरिन्छ तथा पूजा पछि भोज खाने चलन रहिआएको छ । लुकुँवी अर्थात् सूर्यास्त पछि गरिने पूजा भएकोले लुकुमहाद्यो भनिएको पाइन्छ । यसरी पूजा गर्दा लुकु महाद्योलाई चढाएको माटोको पालाको बत्ति बालिन्छ तथा यस्को ध्वाँसोबाट गाजल बनाई आँखामा लगाउनाले आँखा तेजिलो हुने र भूतप्रेत पिचास लाग्दैन भन्ने विश्वास पनि रहेको छ । यो पर्व एक किसिमले भेटघाट गर्ने भोज भतेर खाने, रमाइलो गर्ने पर्व भएकाले आज पनि काठमाडौ उपत्यकामा यस दिन आफ्ना विवाह गरी पठाइसकेका चेलीबेटीहरुलाई अरु दिन नबोलाए पनि वर्षको एक दिन अर्थात् आजको एक दिन अनिवार्य रुपमा निम्तो दिई बोलाई भोज खुवाउने गर्दछन् । यस्को भोलिपल्ट काठमाडांैमा घोडेजात्रा गरिन्छ ।

काठमाडांै उपत्यकाबाट विभिन्न समयमा आई तानसेनमा स्थापित भएका केही नेवारहरुले मात्र यो चाड मनाउँछन्, सबैले मनाउँदैनन् । यस दिन विहान श्री रण उजिरेश्वरी भगवती मन्दिर तथा विभिन्न शिव मन्दिरहरुमा गई पूजा आराधना गर्दछन् । त्यसपछि आफ्नो घरमा रहेका सवै देवदेवताहरुलाई पूजा गर्दछन् । पूजा पछि निम्त्याईएका आफ्ना छोरी जुवाँइहरु तथा अन्य सबै परिवार एकै ठाउँमा जम्मा भई पाँहा चन्हेः मनाई भोज खाने गर्दछन् । अस्तु !
         (लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत हुन्।)

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update