पाल्पा, जिल्लाको रम्भा गाउँपालिकामा नेकपा (एमाले) ले अग्रता लिइरहेको छ । यो समाचार तयार पर्दासम्म चार वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले ३ वटा वडामा विजयी हासिल गरेर अग्रता लिएको हो । नेपाली काँग्रेस सहितको गठबन्धनले भने एक वटा वडामा मात्र जित हासिल गरेको छ । यहाँका पाँच वटा वडामध्ये चार वडाको मात्रै मतपरिणाम सार्वजनिक भएको हो । वडा १ मा नेपाली काँग्रेसबाट अध्यक्षमा उम्मेदवार बनेका ईश्वर काफ्ले विजयी भएका छन् । उनले एक हजार ६ सय ७३ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका मनबहादुर मश्राङ्गीले एक हजार ४ सय ४४ मत ल्याए । यहाँ खुल्ला महिला सदस्य र दलित महिला सदस्य एमालेबाट र खुल्ला दुई सदस्य काँग्रेसका विजयी भएका छन् । वडा २ को अध्यक्षमा एमालेका चेतबहादुर सुनारी विजयी भएका छन् । उनले ९ सय ३८ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेशप्रसाद प्रसाईंले ७ सय ३६ मत ल्याए । वडा ३ को मतपरिणाम भने आउन बाँकी छ । वडा ४ मा एमालेकै अध्यक्ष कृष्णबहादुर रायमाझीको प्यानल नै विजयी भएको छ । रायमाझीले ८ सय ३४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँंग्रेसका चेतनारायण श्रेष्ठले ५ सय ७७ मत ल्याए । यस्तै वडा ५ मा एमालेको प्यानलै विजयी भएको छ । यहाँ खुमकान्त बस्याल एक हजार १ सय ४० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका विष्णुबहादुर थापा कामुले ७ सय २६ मत ल्याए । चारवटा वडाको मत सार्वजनिक हुँदासम्म एमालेबाट पालिका अध्यक्षका उम्मेदवार विष्णुप्रसाद भण्डारी चार हजार १ सय ८६ मतका साथ अगाडि छन् । गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार दुर्गाप्रसाद अधिकारीेले भने तीन हजार ३ सय ४८ मतले पछाइरहेका छन् । उपाध्यक्षतर्फ एमालेबाट उम्मेदवार बनेकी राधादेवी श्रेष्ठले चार हजार ३ सय ४४ मतसहित अगाडि छिन् भने उनको निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार विष्णुकुमार थापा तीन हजार ६ सय १३ मतले पछाइरहेका छन् । यहाँ विवादका कारण मतगणनामा ढिलाइ भएको हो । जिल्लाका अन्य पालिकामा भने मतगणना सकिएको छ ।