पाल्पा, पछिल्लो समय नेपालमा छिट्टाफट्टा रुपमा कोरोना संक्रमित देखिने गरेका छन् । सोमबार पनि १० जना नयाँ कोरोना संक्रमित देखिएका छन् । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार ७ सय ६८ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमा दुई हजार २ सय ३३ जनाको पिसीआर विधिबाट र ५ सय ३५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
१० जना नयाँ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या १ सय ३३ पुगेको छ । सो अवधिमा १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको संख्या नौ लाख ६६ हजार ९ सय ९१ पुगेको छ । संक्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३१ हजार ३ सय ८८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ पुगेको छ । हाल होम आइसोलेशनमा १ सय ३३ संक्रमित छन् । अहिले नेपालमा ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, पर्सा, सप्तरी, रौतहट, बारा, धनुषा, दोलखा, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, रुकुमपूर्व, कपिलवस्तु, प्युठान, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, मुगु, बाजुरा, दार्चुला, बझाङ र डडेलधुरा एक जना पनि संक्रमित छैनन् ।