गुल्मी, गुल्मीको कालीगण्डकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बेदबहादुर थापाले पालिकाका नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने पहिलो निर्णय गरेका छन् । अध्यक्ष थापाले शपथ ग्रहणसँगै सोमबार महत्वकांक्षी निर्णय सार्वजनिक गर्दै निःशुल्क स्वास्थ्य बिमा गर्ने विषयलाई प्राथमिकतामा राखेका हुन् ।
उनले ग्रामीण क्षेत्रमा रहेका नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याउने र उनीहरुको जीवस्तरलाई माथि उकास्ने गरी अगाडि बढेको संकेत गरेका छन् । तीन हजार पाँच घर परिवारका प्रत्येक सदस्यहरुको निःशुल्क स्वास्थ्य बिमा पछि सबै सदस्यको स्वास्थ्य सेवामा पहँुच पुग्ने विषयलाई मध्य नजर गरी सो विषयलाई प्राथमिकताका साथ लागु गर्ने घोषणा गरिएको नवनिर्वाचित अध्यक्ष थापाले बताए । उनले भने ‘आर्थिक अभावका कारण उपचार नपाएर धेरै नागरिकले अकालमै ज्यान गुमाउनु परेको अवस्था छ, त्यो अवस्थालाई समाधान गर्न पालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिने छ ।’ थापाले यसअघि गाउँपालिकको अध्यक्षमा निर्वाचित भएर पाँच वर्ष स्थानीय तहको अनुभव लिइसकेका छन् । उनले संस्थापक अध्यक्ष भएका बेला सुरु भएका केही योजनाहरू सम्पन्न गरेको र केही अधुरा योजना पूरा गर्ने लक्ष्य लिएको बताए । ‘विगतमा सुरु गरेका योजनालाई पूरा गर्नु मेरो कर्तव्य हुनेछ’, उनले भने, ‘आगामी दिनमा अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नेछु ।’ उनले आदिवासी जनजाती, दलित, महिलाहरुका कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छन् । सुशासन र पारदर्शिताका लागि समेत थापाले योजना बनाएका छन् ।
आर्थिक अनियमितता हुन नदिने, सुशासनयुक्त गाउँपालिका बनाउने र भ्रष्टाचारमुक्त गाउँपालिका बनाउन पहल गर्ने उनको योजना रहेको छ । अध्यक्ष थापाले निर्वाचन अघि नै मतदातासमक्ष अघि सारेका आफ्ना प्रतिवद्धता अनुसार नै काम गर्ने बताए । गाउँपालिकामा हालसम्म निःशुल्क एम्वुलेन्स, प्रसुति सेवा, छोरी जन्मेपछि छोरीलाई पेवा राखी दिने कार्यक्रमहरु विगतदेखि नै चलिरहेको र अहिले निःशुल्क स्वास्थ्य बिमा लागु गर्ने घोषणा भएकाले छिट्टै कार्यन्वयनको चरणमा लैजाने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बावुराम पल्लीले बताए । उनले भने ‘यो सुविधा साउन १ गतेदेखि स्थानीय ऐन र कार्यविधी बनाएर कार्यान्वयन गरिने छ ।’ नवनिर्वाचित अध्यक्ष थापाले दोस्रोपटक पदवहाली लगत्तै कार्यालयका कर्मचारी, विभिन्न शाखा उपशाखाका प्रमुखहरुलाई निर्देशन दिदै सर्वसाधारण जनताका साना भन्दा साना समस्याको पहिचान गरी गरिव जनताको घरमा चुलो बले नबोलेको विषयमा समेत ध्यान दिएर सेवा प्रवाह गर्न निर्देशन समेत दिए ।