Shittalpati
रेडक्रसको स्वर्ण महोत्सव : सुत्केरीलाई यातायात खर्च

रामपुर (पाल्पा), रामपुर नगरपालिका–७ बत्तरकोतकी अर्चना गौतमले सुत्केरी यातायात खर्चबापत तीन हजार ३ सय ७५ रकम बुझिन् । उनलाई नेपाल रेडक्रस शोसाइटी रामपुर उपशाखामार्फत सो रकम प्राप्त भएको हो । रामपुरदेखि जिल्ला सदरमुकाम तानसेनको लुम्बिनी मेडिकल कलेज प्रभाससम्मको यातायात खर्च रेडक्रस मार्फत पाउँदा उनी खुसी छन् । उनी भन्छिन्, ‘अस्पतालमा सुत्केरी हुन जाँदा लागेको एकतर्फी एम्बुलेन्स यातायातखर्च पाउँदा धेरै सहयोग मिलेको छ, यस्ता कार्यक्रमले अस्पतालसम्म सुत्केरी हुन यातायात खर्च अभावमा पुग्न नसक्ने परिवारलाई ठूलो राहत मिल्नेछ ।’ रामपुर ७ की टीकादेवी भट्टराईले पनि लुम्बिनी मेडिकल कलेजमा सुत्केरी हुन गएबापत तीन हजार ३ सय ७५ रकम बुझेकी छन् ।

एकतर्फी भएपनि यातायात खर्चले आर्थिक अवस्था नाजुक भएका परिवारमा सघाउ पुग्ने जनाउँदै उनले अस्पतालसम्म पुग्ने खर्च कसरी जुटाउने भन्ने पिरलो हटेको प्रतिक्रिया दिइन् । रामपुर नगरभित्रका २२ महिलालाई सुत्केरी सहयोग रकम वितरण गरेको रेडक्रस उपशाखा सभापति मनोरथ भट्टराईले जानकारी दिए । उनका अनुसार रामपुरदेखि तानसेनसम्म सुत्केरी हुन पुगेका १९ लाई प्रतिव्यक्ति तीन हजार ३ सय ७५, रामपुरदेखि बुटवलसम्म तीन जनालाई प्रतिव्यक्ति चार हजार ८ सय ७५ रकम हस्तान्तरण गरिएको हो । ‘रेडक्रसको स्वर्ण महोत्सवको उपलक्ष्यमा सन् २०२१ जनवरीदेखि डिसेम्बर १५ सम्म सुत्केरी भएका महिलालाई एकतर्फी यातायात खर्च उपलब्ध गराइएको छ, यस कार्यक्रममा संस्थाले तोकेको समयमा प्रक्रिया पूरा गरेर आउने जो कोही पनि सहभागी हुन सक्नेछन्, विशेषगरी गरिब आर्थिक अवस्था कम भएका परिवारमा ठूलो सघाउ पुगेको छ’ उनले भनिन् । सो कार्यक्रममा सहभागी हुन अस्पतालमा नवजात शिशु जन्मिएको प्रमाणपत्र, अस्पतालको ‘डिस्चार्ज’ प्रमाण पत्र, एम्बुलेन्सले भाडा बुझेको रसिद, सम्बन्धित वडाको सिफारिस सहित शाखामा पेश गर्नेलाई मात्र यातायातखर्च शाखाले वितरण गर्ने गरेको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापालेसुत्केरीलाई लक्षित गर्दै संस्थाले गरेको यस कार्यक्रमले समाजमा राम्रो प्रभाव पार्ने जनाउँदै रामपुरमा शाखाको भवन नभएको हुँदा भवन निर्माणमा नगर सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिए । गतवर्ष पनि शाखाले १९ जनालाई सुत्केरी यातायात खर्च रकम प्रदान गरेको थियो । –रासस

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update