बुटवल, नेपाली कांग्रेसका प्रदेश पाँचको प्रदेशसभा सदस्यहरुले १५ दिनको पारिश्रमिक प्रदेश सरकारले गठन गरेको कोभिड १९ नियन्त्रण तथा रोकथाम कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । चैत महिनाको पारिश्रमिकबाट १५ दिन बराबरको रकम सहयोग गर्ने निर्णय भएको नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका कार्यबाहक नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी गराए । प्रदेश ५ मा नेपाली कांग्रेसका १९ जना सांसद छन् । उक्त रकम कोभिड १९ को नियन्त्रण, उपचार र राहतमा मात्र खर्च हुने बताइएको छ ।
यसअघि प्रदेश सरकारले स्थापना गरेको कोरोना विपद् कोषमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले पनि १५ दिन बराबरको तलब दिने निर्णय गरेका थिए । प्रदेश सरकारको सोमबार बसेको बैठकले दस करोडको विपद् कोष स्थापना गर्ने निर्णय गरेको थियो । त्यस्तै पार्टीले विपदका बेला पार्टी समन्वय र सहकार्यमा गरेर अगाडी जाने जनाएको छ । सरकारले लकडाउनको सूचना जारी गरेपछि पनि अटेर गरेर सडकमा यात्रा नगर्न र हरेक नागरिक आफैं सचेत रहन समेत काँग्रेसले सुझाएको छ ।