रामचन्द्र रायमाझी
पाल्पा,
न भित्र खोक्रो न बाहिर बोक्रो, गुलियो कसार
हनुमान ढोका उघारी हेर्दा लागेछ असार ।।
छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउन्जेल
जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यु छइन्जेल ।।
असारै खाउला दुधिलो मकै, साउने खाउला खीर
घरमा छैन शितलु बचन, मनमा छैन थीर ।।
छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला ।।
गाउँले झ्याउरे भाकामा असारे गीत गुन्गुनाउँदै किसानले हिलोमा काम गरिरहेको दृश्यले जो कोहीलाई पनि लोभ्याउने गर्दछ, यो सबैका लागि रहरको विषय पनि हो । यी र यस्तै गीत असार/साउनमा खेतमा घन्किने गरेको गुल्मीको इस्मा गाउँपालिका २ का ९५ वर्षीय देवबहादुर पाण्डेलाई याद आउँछ । उनी आफैंलाई पनि नाच्ने, गाउने र रमाइलो गर्ने गरेको सम्झना ताजै छ । ‘मज्जाले हिलोमा छुपुछुपु खेल्दै र धान रोप्दै अनि दही चिउरा खाँदै हामी असार पन्ध्रमा रमाइलो गथ्यौं’, पाण्डेले पुराना दिनहरु संझदै भने ‘खेतको आलीमा सबैजना बस्थ्यौँ, घरबाट ल्याइएको दही र चिउरालाई नाग नागिनी र देवतालाई चढाएर खाने गरिन्थ्यो ।
असार पन्ध्र गते धान रोपेर थकित भएपछि खेतको डिलमा बसी आलुको अचारसँगै दही चिउरा खाएर लय हालेर असारे गीत गाउँदाको रौनक कम्ती रमाइलो हुदैनथ्यो ।’ ‘उहिले मनोरञ्जनका साधन केही थिएनन्,’ उनले भने, ‘त्यही भएर केटाकेटी, अधवैंसे, बूढापाका सबै यस्तै गीत गाएर रमाइलो गर्थे ।’ सेराफाँटमा चार हलको मेलो रोप्न पनि अन्यत्र जाँदा फुर्सद नहुने उनले सुनाए । तर हिजो आज भने पुराना भाकाहरु सुन्न छोडिएको पाण्डे बताउँछन् । पाल्पा देउगीरका लोक बहादुर रायमाझीलाई असार १५ गते बाउसे गर्न जाँदाको क्षण ताजै छ । ‘हिलोमा चलेर आउँदा लोद परी फर्किन्थ्यौ, तर दही चिउरा खाएपछि र अरुले रमाइलो गरेको देखेपछि पीडा र थकान भुल्थ्यौँ उनी भन्छन् । रायमाझी र पाण्डेको जस्तै असार पन्ध्रतेकोे अनुभव धेरैको छ । यि त केही उदाहरण मात्र हुन । पछिल्लो समयमा असारे भाका लोप हुँदै गएको छ । उहिलेका असारे भाका कमैले मात्र गाउँछन् । पहिलेपहिले रोपाइँ हुने घरमा अघिल्लो दिनदेखि नै बाजागाजाको जोडजाम हुन्थ्यो । रोपाइँमा गाइने असारे भाकाको बेग्लै मिठास गुञ्जिन्थ्यो ।
तर समयक्रमसँगै रोपाइँ गीत हराएका छन् । रोपाहारका रूपमा लहरै खेत रोपिरहेका महिला, खेत जोत्ने हली, बाउसे र आली ताछ्ने युवाहरू सबै मिलेर असारे भाका गाउने चलन थियो । गीत गाउँदै, एकअर्कामा हिलो छ्याप्दै जुहारी खेल्दै गरिएको रोपाइँ निकै रमाइलो हुन्थ्यो । तर हिजो आज आधुनिकतासँगै असारे मौलिक गीतका ति भाकाहरु विस्तारै हराउँदै जाँदा पुराना पुस्ताहरु भने चिन्तित छन् । कुनै बेला असार लागेसँगै असारे गीतहरु गुञ्जायमान हुने पाल्पा र गुल्मीका फाँटहरुमा पछिल्लो समय धान रोपाइँमा देखिने मौलिक गीत गाउने संस्कृति हराउँदै गएको छ । परम्परागत कृषि प्रणाली हराउदै जाँदा रोपाइँको रौनक नै हराउदै गएको हो । केही वर्ष अघिसम्म वर्षायाम सुरु भएसंगै हलो, जुवा, हलगोरु, बाउसे र रोपाहारहरु खेतमा हुँदा रोपाइँको चहलपहल रहे पनि अहिले यो विस्तारै हराउँदै गएको हो । बढ्दो आधुनिकीकरण र युवा पुस्ता विदेश पलायन भएपछि खेतमा धान रोपाइँका लागि हलोजुवा, हल, गोरु र बाउसेको अभाव देखिएको किसानहरु बताउँछन् । छङ्छङ् बगेको वर्षे भेल, खोल्साखाल्सी सुसाएर निस्केको आवाज, छहरा पहराको हरियालीले रोपाँइको समय सम्झाउँछ ।
असारे भाका ठाउँ र समुदायअनुसार फरक फरक लयमा गाइने भए पनि सबै गीतले किसानको मर्म पोख्छ । आजको दिन मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार पन्ध्र पनि हो । यो दिनलाई धान दिवसका रुपमा समेत मनाइन्छ । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार पन्ध्रलाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार पन्ध्र मनाउँछन् ।