पाल्पा, पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा ६२ जना संक्रमित थपिएका हुन् ।
१ हजार ६ सय २० नमूनाको परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८ नमूनाको पीसीआर र ६ सय १२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । जसमध्ये पीसीआरबाट ५१ र एन्टिजेन विधिबाट ११ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १९ जना कोरोनामुक्त भएका छन् । यस्तै, सक्रिय संक्रमितको संख्या २ सय ६१ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो १४ घण्टामा थप १ लाख ८४ हजार ५४५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन । पछिल्ला केही दिनयता दैनिक जसो संक्रमित बढ्दै गएका छन् । मंगलबार मात्र ४४ जनामा कोरोना संक्रमण देखिएको थियो । विशेषगरी नेपालसँग सीमा जोडिएका भारतका सहरहरूबाट नेपाल भित्रिने नागरिकमा संक्रमण देखिएको छ । मन्त्रालयले संक्रमण बढिरहेकाले सर्तकता अपनाउन आग्रह गर्दै आएको छ । संक्रमण बढेसँगै भारतबाट नेपाल आउनेमा कोरोना परीक्षण सुरु गरिएको छ ।
१४ जनामा हैजा
यस्तै पछिल्ला केही दिन यता काठमाडौंमा हैजाका विरामीहरु समेत बढ्दै गएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २ देखि आजसम्ममा १४ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको जनाइको छ । हैजा पुष्टि भएका पहिलो बिरामीको घर तथा कार्यस्थलबाट भण्डारण गरिएको जारको पानी, जमिनको पानी, धाराको पानीको नमुना परीक्षण गर्दा ‘कोलिफर्म’ भन्ने जीवाणु भेटिएको थियो । यस्तै, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ललितपुरबाट संकलन गरेको १८ वटा पानीको नमुना परीक्षण गर्दा १२ नमुनामा ‘इकोलाई’ जीवाणु भेटिएको पाइएको मन्त्रालयले जनाएको छ । हैजाको कुनैपनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा जान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।