Shittalpati
पाल्पामा हेर्ने र घुम्ने ठाउँ बनाऔँ

प्रत्येक वर्षहरुमा जस्तै यसपाली पनि शैक्षिक भ्रमण, अध्ययन अवलोकन भ्रमण, धार्मिक यात्रा आदि आदिका लागि मेचीदेखि महाकालीसम्मका आन्तरिक पर्यटकहरु बग्रेल्ती देखिएन थालेका छन् तानसेन बजारमा । उनीहरु आउँदा, घुम्दा, कहाँ जाने छन्, के हेर्ने छन् थाहा छैन ? कसैलाई चासो पनि छैन् तानसेन आएर के हेर्छन् भनेर । कुरा त धेरै गर्छन् यहाँ यो छ त्यो छ भनेर गफ दिन्छन् । हरियाली श्रीनगरडाँडा छ जहाँबाट सफा मौसममा लामो हिमश्रृंखला हेर्न सकिन्छ, । टाढा–टाढा, अग्ला होचा पहाडहरु, तरेली परेका खेतहरु, कचौरा आकारको माडीफाँंट आदि आदि । विशाल टुँडिखेल छ, ऐतिहासिक कलात्मक अमरनारायण मन्दिर छ, राणाकालिन आठ कुने शीतलपाटी छ, नेपालमा नै सबभन्दा ठूलो मूलढोका छ, पश्चिम नेपालको राणाकालिन दरबार छ, नेपाल अंग्रेज युद्धको विजयको प्रतिक श्री रणउजीरेश्वरी भगवती मन्दिर छ, सेरोफेरोमा जाने हो काठमांडौ उपत्यकाबाट सेन राजाले ल्याएको पाल्पा भैरब छ, भगवान श्री नारायण ऋषिकेशव मन्दिर छ, रम्भापानी मन्दिर छ,, विशाल शिवासनधाम छ,, सिद्धबाबा मन्दिर छ, माण्डव्य आश्रम छ अझ पर रामपुरमा ताल पोखरा छन् आदि आदि त्यही हो । तर भ्रमणमा आउनेहरुले यी सबै हेर्न जान्छन त ? यी सबै बारे उनीहरुलाई थाहा छ त ? हो पुरानो सहर थियो त्यसबेला तानसेन हेर्न लायकको । सुरम्य हावापानी, न्यानो रमाइलो वातावरण, मिजासिला मानिसहरु, टुँडिखेलदेखि कैलाशनगरसम्म र दाँया बाँया पुराना आकर्षक कलात्मक झ्याल ढोकाहरु भएका पुरानो किसिमको झिगटीले छाएका घरहरु, उकाली ओराली ढुंगा छापिएका बाटाहरु । त्यसैले त आन्तरिक भन्दा पनि बाह्य पर्यटकहरु लोभिन्थे यस्ता पुराना संरचनाहरुले भरिएको तानसेनलाई देखेर ।

तर समयसँगै आज तानसेन अर्कै भैसकेको छ । एकातिर विश्वव्यापी तापक्रम वृद्धि अर्कोतिर आधुनिकीकरणले गर्दा आज तानसनेको तापक्रममा फरकता आइसकेको छ भने पुराना घरहरुको नाम निसाना कतै छैन् । जताततै कंक्रिटको जालो भैसकेको छ तानसेन । पूर्ववती स्थानीय सरकारको पालामा पुरानै ढुंगे बाटाहरुको सहर भनेर चिनाउन पिच बाटोलाई भत्काएर तानसेनलाई ठाउँ ठाउँमा च्याप्टे ढुँगाहरु छापिएका छन् जुन राम्रै देखिन्छन् । साँगुरो तानसेन अहिले पूर्व पश्चिम कंकिटको जालो नयाँ –नयाँ घरहरुको लर्को देखिन्छ । प्रत्येक वर्ष कति आन्तरिक अनि वाह्य पर्यटकहरु तानसेन आउँछन् कसैलाई थाहा छैन किनकी यहाँ त्यस्तो रेकर्ड राख्ने चलन नै छैन् । आजकल विभिन्न जिल्लाहरुले प्राकृतिक दृष्यावलोकन गर्ने ठाउँ नभएता पनि जताततै ठोस कृतिम संरचनाहरु बनाएर भए पनि पर्यटकहरुलाई आकर्षित गरिरहेका छन् । पुराना संरचना त छँदै छन् त्यसमाथि नयाँ–नयाँ संरचनाहरु पनि बन्दैछन् । कति जिल्लाहरुले भगवान शिवको, भगवान बुद्धको, संकटमोचन बजरंगवली हनुमानको विशाल मूर्तिहरु बनाएर पर्यटकहरुलाई एकपटक पुग्नै पर्ने गराइरहेका छन् । हुन पनि हामी यति धर्मभिरु छौं कि कहिं कतै भगवानका मूर्तिहरु छन् भन्ने थाहा भयो भने एकपटक पुगिहालम भनिन्छ । हो पर्यटकहरुले हेर्न खोज्ने भनेको ठोस संरचनाहरु नै तिनै हुन् । तानसेनमा ठोस संरचना के –के छन् त भनियो भने शितलपाटी, मूलढोका, तानसेन दरबार त्यति हो त अरु अमरनारायण मन्दिर, रण उजीरेश्वरी मन्दिर भनौ भने शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरुलाई मन्दिरप्रति त्यति चासो हुँदैन फेरि गइ हाले पनि दिनभरि त ति मन्दिरहरु बन्दै हुन्छ अनि के हेर्ने अनि किन जाने । भएको एउटा श्रीनगरडाँडा हो कोही जान्छन् कोही जाँदैनन । उनीहरुले बुझ्छन् त्यहाँ के छ भनेर खाली एउटा भ्यूटावर अरु पीकनिक गर्ने ठाउँ हेर्ने कुरा त खासै केही छैन् अनि किन जाने । पूर्ववर्ति स्थानीय सरकारको पालामा श्रीनगरलाई बनाउने भनेर लामो समयको लागि लिजमा दिइएको छ । तर अझै व्यवस्थि तगर्न सकिएको छैन ।

एउटा धार्मीक पर्यटकिय गन्तव्य आजसम्म अलपत्र छ, ओझलमा छ । तेल्घाको गुफाचौरमा भगवान श्री गणेशको विशाल मूर्ति स्थापना गर्ने भनेर त्यत्रो धूमधाम गरियो तर आज यत्रो वर्ष भैसक्यो त्यो कार्य आजसम्म पूरा हुन सकेको छैन । न त मूर्ति नै विधिवतरुपमा स्थापना भयो त न मन्दिर नै बन्यो आजसम्म न त त्यहाँसम्म पुग्न बाटोको सुविधा नै भयो सबै अलपत्र । अब अर्को पर्यटकिय गन्तव्य भनेको रानीमहल हो । अहिले बाटोको केही सुविधा भएकाले नजिक नजिकका थुप्रै आन्तरिक पर्यटकहरु रानीमहल जाने गरेको देखिन्छ तर टाढा–टाढाबाट आएकाहरु आन्तरिक पर्यटकहरु भने शायद जानकारी नभएकाले जाँदैनन् । उनीहरुको सेडयूलमा तानसेनबाट बाहिर जाने हुँदैन । अहिले रानीमहल पहिले भन्दा राम्रो भएको छ । पहिला खाली दरबार मात्र थियो अहिले जनरल खड्ग शमशेरको रानी तेजकुमारीको ठूला–ठूला फोटोहरु तथा त्यसबेला प्रयोगमा आएका केही सामग्रीहरु रहेका छन् । रानीमहललाई भारतको आगराको ताजमहलसँग तुलना गर्ने गरिन्छ । तर ताजमहल र रानीमहलमा केही फरक छ भन्ने बारेमा शायद धेरैलाई थाहा छैन । प्रत्येक वर्ष लाखौ पर्यटकहरु यहाँ पुग्दछन् । पाल्पाका अन्य कतिपय धार्मिक तथा पर्यटकिय गन्तव्य अझै सबैको पहँचमा पुगेका छैन । तानसेनलाई पहाडको रानी, दार्जिलिंगसँग पनि तुलना गरिन्छ । हो मनमोहक तानसेनको बाहिरी आवरणका फोटोहरु हेर्दा के कम छ र तानसेन अरु ठाउँ भन्दा जस्तो लाग्छ तर यो त बाहिरी रुप मात्र भयो भित्री रुप हेर्ने हो भने पाल्पा आएर के हेर्ने भन्ने हुन्छ । त्यसैले अब ढीलो नगरी कृतिम भए पनि थुप्रै संरचनाहरु बनाउन आवश्यक देखिन्छ । केही समय अगाडि फेसबुकमा श्रीनगरमा बनाउन सकिन्छ भनेर डेकोर स्टुडियो प्राली काठमाडौंले ८० फुट अग्लो शाक्य मुनी भगवान बुद्धको मूर्तिका साथै ओम माने पेमेका प्रतिक राखिएको तथा पानीका फोहरा सहितका बगैचा बनाएको डिजाइन यति राम्रो थियो । यदि त्यो बनेको भए श्रीनगर बौद्ध पर्यटकहरुका साथै थुप्रै थुपै्र अन्य पर्यटकहरुको घुँइचो लाग्थ्यो होला । एकपटक भए पनि अवश्य श्रीनगर पुग्थे होला । एउटा खास पर्यटकिय गन्तय बन्थ्यो होला तर त्यो केवल एउटा डिजाइन मात्र भयो त्यसलाई कार्यान्वय तिर कसैको ध्यान गएन । श्रीनगरमा नै बुद्धकालिन पारिलेयक बन बनाइएको छ । बौद्ध मार्गीहरु वर्षको एकपटक गएर सरसफाइ गर्छन् तर यसको अन्य विकास तिर ध्यान दिन सकेका छैनन् । यसका अलावा नजिकैको पाल्पा भैरव, विशाल शिवासनधाम, रम्भापानी मन्दिर, आदि–आदि तिर खास आन्तरिक पर्यटकहरुको दृष्टि परेको छैन । यो सबै प्रचार–प्रसारको कमी हो जस्तो लाग्छ । पाल्पा आउने जो सुकै भए पनि सबैको हात हातमा पाल्पा तानसेनको ब्रसर हुनु पर्छ, होटल, रेष्टुरेन्टहरुमा जताततै राखिनु पर्छ, बाहिर अन्य जिल्लाहरुमा जताततै पाल्पाको पर्यटकिय गन्तव्य, सो ठाउँको दूरी, लाग्न सक्ने समय, उपलव्ध यातायातका साधनहरु, हेर्ने कुराहरु, होटल रेष्टुरेन्टको उपलव्धता आदि –आदि उल्लेख गरिएको भए मात्र आउन चाहने पर्यटकहरुले आफनो सेडयूल मिलाउन सक्छ नत्र पाल्पाले कहिले पनि पर्यटन पर्वद्धन गर्न सक्दैन । तानसेन नगरपालिका अगाडिको विशाल करुवाले पर्यटकहरुलाई आकर्षित गरिरहेको छ । फोेटो सेसन गर्नेहरुको भीड लाग्छ । अहिले टुँडिखेलमा पनि जेष्ठ नागरिक पार्क, बाल उद्यान बन्दै छ टुँडिखेल परिक्रमा गर्न टायल विछयाइएको छ राम्रो हुँदैछ । यसका साथै आफ्नै भवनको वरिपरि पनि आकर्षक रंगिविरंगी फूलहरुको बगैंचा बनाउन सकिन्छ । तर बनाइएको छैन । अहिलेका मेयर उपमेयर लगाएत युवा प्रतिनिधिहरुले नयाँ ठोस संरचनाहरु बनाई तानसेनलाई खास पर्यटकिय गन्तव्य बनाउन पहल गर्नु पर्छ । यहाँ केही पुराना झिगटीले छाएका घरहरु कलात्मक झ्याल ढोकाको संरक्षणको लागि विशेष आर्थिक सहयोग दिएर भए पनि मम्र्मत गराई राख्न सके अवश्य पनि यो एउटा सकारात्मक कदम हुन सक्ने छ । एउटा ठोस संरचना जनरल खड्ग शमशेरको ऐतिहासिक चिनो शितलपाटी अनि यसको संरक्षणमा लागेका विभिन्न संस्थाले तानसेनको इज्जत थामी दिएका छन् । रंग रोगन गरेर रंगविरंगी फूलहरुको बगैंचा बनाइ दिएर । तर अगाडिको अग्लो ऐतिहासिक मूलढोका वर्षौदेखि विरामी छ । तत्कालिन पाल्पाका लागि तैनाथवाला जनरल बद्रिनरसिंह राणाले शुरुवात गरेको यो ढोका जनरल खड्ग शमशेरको पालामा पूरा भएको भनिन्छ । बर्षौदेखि रंग रोगन नपाएर ढोकाको दाँया बाँयाको पिलर बर्षाको पानी झारपातले कालो भएको छ । छानामा झारपात उमे्रको छ भित्रको खम्बा चर्किएको छ तर यसलाई सुन्दर बनाउन पूर्ववती स्थानीय सरकार कसैको ध्यान गएन । एउटा जाबो संरचनालाई प्रत्येक वर्षरंग रोगन गरेर चिटिक्क पारेर राख्न सकिन्थ्यो होला नि तर भएन । त्यही भित्रको गोरख वाटिका चिटिक्क छ । सेनाको पहलमा भएकाले अत्यन्त सुन्दर रचना तयार भएको छ । दरबार परिसरमा बसेर फोटो खिच्नेहरुको घुँइचो लाग्छ । दरबार भित्रको संग्रहालयले केही समय भए पनि पर्यटकहरुलाई भुलाउने प्रयास गरिराखेको छ तर सामग्रीहरुको जोहो अझ गर्नु पर्छ  । दरबार अगाडिको बगैंचा राम्रो छ तर बाटोहरु पनि राम्रो बनाउन बाँकी छ । अमरनारायण परिसर भित्रको ठूलो पोखरीमा मुक्तिनाथको झल्को दिने १०८ धारा, भगवान शिवको मूर्ति राख्ने भनेर गरिरहेको कार्य वर्षौंदेखि अझै अलपत्र छ । यस्ता संरचनाहरु त जति छिटो बनाउन सकिएको भए एउटा पर्यटनको गन्तव्य बन्न सक्थ्यो । आजकाल जताततै केवलकार बनाउन लहर चलिरहेको छ । तानसेनमा पनि बतासेडाँडादेखि रानीघाट र त्यहाँबाट आलमदेवी सम्मको केवलकारको कुरा पनि सुनियो त्यस्तै तानसेन बजारदेखि श्री गणेशधाम गुफाचौर तेल्घासम्मको केवलकारको कुरा पनि सुनियो तर सबै गफै मात्र रहेछ । प्रयास कतैबाट भएन । यसको लागि त स्थानीय निकायको पहल आवश्यक हुन जान्छ । नयाँ हेर्ने ठाउँ घुम्ने ठाउँ भएमा मात्र पर्यटकहरुको तानसेन बसाई लामो हुन सक्छ जसको फाइदा सबैले लिन सक्छ नत्र कुरा मात्र बढी भन्न्ने हुन्छ अनि जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान चरितार्थ नहोला भन्न सकिन्न । अब हेर्दै जाउँ अबका स्थानीय सरकारले पर्यटन प्रवद्र्धनका लागि के कति नयाँ संरचनाहरु बनाइ पर्यटकहरुलाई आकर्षित गर्ने हो कि पूर्ववती स्थानीय सरकारले झैं पर्यटकिय संरचना बनाउनु को सट्टा अन्य काममा व्यस्त हुने हो की त्यो त समयले बताउला ।
(लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update