Shittalpati
माथागढीमा बजेट विनियोजनमा पक्षपात गरेको भन्दै काँग्रेसका जनप्रतिनिधि गाउँसभामा अनुपस्थित

पाल्पा,जिल्लाको माथागढी गाउँपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु बजेटमा पक्षपात गरेको भन्दै गाउँसभामा अनुपस्थित भएका छन् । उनीहरु वडा र पालिकास्तरीय बजेटमा आफुहरुलाई विभेद गरिएको भन्दै गाउँ सभामा अनुपस्थित भएका हुन् । एमालेको बहुमत रहेको पालिकामा एक्लौटी रुपमा बजेट विनियोजन गरिएकाले आफुहरु गाउँसभामा उपस्थित नभएको काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु बताउँछन् । पालिकास्तरीय बजेटमा दुर्गम वडालाई विभेद गरिएको र बजेट कार्यकर्तामुखी ल्याइएकाले असतुष्टी जनाउँदै गाउँ सभामा अनुपस्थित भएको कार्यापालिका सदस्य तथा ८ का वडा अध्यक्ष दिलबहादुर ढेंगा मगरले बताए । उनले शितलपाटीसँगको कुराकानीमा  भने‘बहुमतको आडमा जथाभावी रुपमा बजेट विनियोजन गरिएको र दुर्गम क्षेत्रका वडाहरुलाई बेवास्त गरिएको छ ।’

बजेट चिदीपानी र कसेनीका वडामा केन्द्रीत गरिएको तर काँग्रेसले जितेका दुर्गम क्षेत्रका वडामा भने आवश्यकता भन्दा न्यून बजेट विनियोजन गरिएको ढेंगाले आरोप लगाए । बजेट निर्माणका क्रममा आफुहरुले पटक–पटक कार्यपालिकामा कुरा राखे पनि आफुहरुलाई बेवास्त गरिएको उनले बताए । बजेट कार्यपालिकामा छलफल गराएर ल्यानुपर्ने भए पनि त्यसो नगरिएको ढेंगाले बताए । उनले बजेट हार्डकोपीमा नदिएर प्रोजेक्टरको माध्यमबाट कार्यपालिका सदस्यहरुलाई देखाइएको समेत बताए । ढेंगाले भने ‘आफु कार्यपालिका सदस्य भए पनि चालु र पुँजीगत बजेट कति ल्याइएको छ भन्ने समेत थाहाँ छैन । गैरजिम्मेवारपूर्व ढंगले बजेट ल्याइएको छ । यसमा आपत्ति छ ।’ प्रदेश र संघको अनुदानमा समेत आफुहरुको वडालाई बेवास्त गरिएको उनले बताए ।

कार्यपालिकाको बैंठबाट आफ्ना कुराहरु सुनुवाई नभएपछि आफुहरु गाउँसभामा उपस्थित नभएको ७ का वडाध्यक्ष जंगबहादुर दर्लामीले बताए । उनले भने‘बजेटमा हामीलाई विभेद गरियो, बजेट न समानुपातिक रुपमा ल्याइयो नत आवश्यकताको आधारमा नै, आफ्ना कार्यकर्ता पोस्न आफुले जितेका वडाहरुमा बढी बजेट पठाइयो ।’पालिकाका अध्यक्षलाई पटक–पटक बजेटका विषयमा जानकारी गराइए पनि बेवास्ता गरिएको वडाध्यक्ष दर्लामीले बताए । गाउँपालिका अध्यक्ष यम चिदीले भने आफुहरुले सबै वडालाई न्यायोचित ढंगले सम्बोधन गरेको बताए । उनले भने‘नेपाली काँग्रेसका जनप्रतिनिधिहरुले जसरी योजना तथा बजेटमा विभेद गरिएको भन्ने कुरा गर्नु भएको छ त्यो गलत हो ।’ ‘बजेटमा विभेद भएको भए एमालेले जितेको वडा नं २ मा ६५ लाखको बजेट सिलिङ जाँदा काँग्रेसले जितेको वडा न.६ मा ७० लाख गएको छ’ अध्यक्ष चिदीले भने ।

यहाँ एमालेले वडा नं १, २ ,३, र ४ मा जितेको छ भने काँग्रेसले ५, ६, ७ र ८ मा जितेको छ । बजेट सिलिङ वडा नं १ र ३ मा ८० /८० लाख, वडा नं २ मा ६५ लाख, ४ मा ७५ लाख, ५, ७, ८ मा ६५ /६५ लाख र ६ मा ७० लाख पठाइएको छ । २३ गते बोलाइएको गाउँसभामा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु उपस्थित नभएपछि २६ गतेका लागि सारिएको थियो । २६ गते पनि उनीहरु नआएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु मात्रै बसेर गाउँसभा गरिएको छ । गाउँ सभामा नेकपा एमालेका २४ र काँग्रेसका २० सदस्य रहेका छन् ।

 

प्रकाशित मिति: सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update