Shittalpati
सोमबार ४ सय ५७ जनामा देखियो कोरोना

पाल्पा, नेपालमा कोरोना भाइरसको महामारी ह्वात्तै बढेको छ । सोमबार एकैदिन यो ठूलो संख्यामा संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो । ४ हजार ६ सय ५१ नमूना परीक्षण भएकामध्ये ४ सय ५७ नमूनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआरबाट २ हजार ३ सय ४१ र एन्टिजेन विधिबाट २ हजार ३ सय १० नमूनाको परीक्षण भएको थियो । जसमध्ये पीसीआरबाट ३ सय ८६ जनामा र एन्टिजेन विधिबाट ७१ जनामा संक्रमण देखिएको हो । सोमबार कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । यो अवधिमा ४८ जना कोरोनामुक्त भएका छन् । हाल कोरोना सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ७६ पुगेको छ । मन्त्रालयका अनुसार १५ जना आइसीयूमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ९८ हजार ९ सय जनाले कोरोनाविरुद्ध खोप लगाएको मन्त्रालयले जनाएको छ ।

पछिल्ला दिनहरुमा संक्रमणको दर उकालो लाग्दै गए पनि स्वास्थ्य सतर्कता भने अपनाइएको छैन । मन्त्रालयले संक्रमण बढिरहेकाले सर्तकता अपनाउन भनेको छ । तर त्यसको कोही कतैबाट पनि पालना भएको छैन् । मन्त्रालयले कोरोना संक्रमणबाट बच्न मास्क लगाउन, भौतिक दूरी कायम राख्न, भिडभाड नगर्न भने पनि त्यसको बेवास्त गरिएको छ । भिडभाड अत्यधिक हुने क्षेत्र मै नागरिकहरूले मास्क लगाएका छैन । जान्ने बुझ्नेहरूबाटै स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा अटेरी गर्दा कोरोना संक्रमण बढ्न सक्ने आंकलन गरिएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update