भरत शर्मा
पाल्पा, तानसेनको प्रभासमा सञ्चालित लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालले बीमा बापतको उपचार सेवा बन्द गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तब्यमा २०७९ साउन १ गतेबाट सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै स्वास्थ्य बिमा कार्यक्रम उपलब्ध गराउने भएपछि सरकारको निर्णयबाट उक्त सेवा उपलब्ध गराउन नसकिने भन्दै अस्पतालले सेवा बन्द गरेको हो ।
अस्पतालले मंगलबार एक सूचना जारी गर्दै मगलबार राति १२ बजेदेखि लागु हुने गरी बीमा बापतको उपचार सेवा बन्द गरेको जनाएको छ । सरकारले अस्पतालाई दिनुपर्ने २४ करोड समेत भुक्तानी नगरेको र बजेट वक्तब्यमा सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै स्वास्थ्य बिमा कार्यक्रम उपलब्ध गराउने भनेपछि आफुहरुले स्वाथ्य बिमाको उपचार सेवा बन्द गरेको अस्पतालका अध्यक्ष गोपाल प्रसाद पोखरेलले बताए । स्वास्थ्य बिमा बापत उपचार गर्दा त्यसको भुक्तानी प्राप्त हुने वा नहुने अन्यौल भएकाले बिमा कार्यक्रम बन्द गर्नु परेको उनको भनाई छ । सरकारले नै लापरवाही गर्दा निजी अस्पतालहरुले भटाभट स्वास्थ्य बिमाको उपचार सेवा बन्द गर्ने स्थिति बनेको अध्यक्ष पोखरेल बताए । ‘स्वास्थ्य बिमाले सर्वसाधारण जनताहरुलाई उपचारमा धेरै सजिलो भएको थियो तर सरकार जनताको मामलामा गम्भीर नबन्दा अस्पतालहरूले उपचार रोक्नुपर्ने अवस्था बनेको छ’, उनले भने । स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपनि शुल्क तिरेर गरिने उपचार सेवा भने जारी रहने अस्पतालले जनाएको छ । सरकारले प्रति परिवार वार्षिक ३ हजार ५ सय रुपैयाँ लिएर स्वास्थ्य बिमा गरी परिवारका पाँच जना सदस्यलाई वार्षिक १ लाख बराबरको निःशुल्क उपचारको व्यवस्था गरेको थियो । यसबाट सर्वसाधारणले स्वास्थ्य उपचारमा ठूलो राहत महशुस गरेका थिए । स्वास्थ्य बिमाबापतको उपचारका लागि सरकारले देशभरका ४ सय ५० स्वास्थ्य संस्थासँग सम्झौता गरेको छ । स्वास्थ्य बीमा कार्यक्रमको लागि सरकारले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ५० करोड विनियोजन गरेको छ ।
महिनौं हुँदा समेत पाएनन् कर्मचारीले तलब
लुम्बिनी मेडिकल कलेजका कर्मचारीले महिनौ हुँदा समेत तलब नपाएको गुनासो गरेका छन् । गत २०७८ चैत्र देखि कर्मचारी र स्वास्थ्यकर्मीले तलब नपाएको सम्बन्धित कर्मचारीहरु बताउँछन् । उनीहरुका अनुसार विगत एक वर्षदेखि अस्पतालले सञ्चयकोष समेत जम्मा गरिदिएको छैन । मंहगीको मारमा परेको बेला विगत ४/५ महिनादेखि तलब नपाउँदा घरपरिवार र बालबालिकाको दैनिकीमा समस्या आएको नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले बताए । अस्पतालका अध्यक्ष गोपाल पोखरेल पनि कर्मचारीहरुलाई समयमै तलब दिन नसकेको बताए । उनले स्वास्थ्य बिमा उपचार बापतको भुक्तानी नहुँदा कर्मचारीलाई तलब खुवाउन समस्या भएको एनजेडीलाई जानकारी गराए । ‘सरकारले करोडौं रकम महिनौंसम्म भुक्तानी नदिँदा अस्पताल धरासयी बन्ने अवस्थामा पुगेको छ, कर्मचारीहरुलाई समयमै तलब खुवाउन सकिएको छैन, अन्य भुक्तानीहरु रोकिएका छन्, उपचार सेवा नै प्रभावित हुने अवस्था बनिसकेको छ,’ अध्यक्ष पोखरेलले भने । सरकारले अस्पतालहरुलाई बिमामार्फत उपचार गर्न लगाएर रकम भुक्तानी नदिएपछि बाध्य भएर स्वास्थ्य बिमाको उपचार सेवा समेत बन्द गर्नु परेको उनले बताए ।