पाल्पा (रामपुर) । रामपुर क्षेत्रमा सञ्चालनमा रहेका अत्यावश्यक सवारी साधनका चालकहरुलाई भाईरसको संक्रमणबाट बच्ने उपाय बारे जानकारी गराईएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणबाट सुरक्षित रहने उपाय बारे नगरपालिकाले चालकहरुलाई जानकारी गराएको हो ।
रामपुर नगरपालिकाका सवारी चालक, ईलाका प्रहरी कार्यालयका चालक, रामपुर दोस्रो साना शहरी खानेपानी आयोजनाका सवारी चालक तथा एम्बुलेन्स चालकहरुलाई जानकारी गराएको छ । नगरपालिकाको सभाहलमा सञ्चालन भएको गोष्ठीमा रामपुर नगरपालिका स्वास्थ्य शाखा स्वास्थ्यकर्मीहरु पुनम धिताल र कमला श्रेष्ठले क्लोरिन तयार गर्ने तरिका, प्रयोग गर्ने उपाय, प्रयोगको फाईदा र सुरक्षित रहने उपायका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले संकटको घडीमा अत्यावश्यक सवारी साधनका चालकहरु जोखिममा रहने भएकाले उपलब्ध साधनको प्रयोग गर्ने उपायले जोखिम न्यूनिकरणमा सहयोग गर्ने बताए । उनले नगरपालिकाले आवश्यक सुरक्षाका उपायहरु पनि अवलम्बन गर्ने बताए । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रामपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तिर्थप्रसाद ढु·ानाले गरेका थिए ।