पाल्पा, पछिल्लो २४ घन्टामा पाल्पामा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २७ जनाको एन्टिजेन परीक्षण गरिएकोमा तानसेनका थप सात जनामा संक्रमण पुष्टि भएको हो । यहाँका ५ जना महिला र २ जना पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको तथ्याङ्कमा उल्लेख छ । योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या २९ पुगेको छ । सोमबार जिल्लामा थप दुई जना कोरोना संक्रमित निको भएका छन् । रम्भा गाउँपालिकाका एक र तानसेन नगरपालिकाका एक जना संक्रमित निको भएका हुन । यो संगै निको हुनेको संख्या १२ हजार ५३ पुगेको छ ।
यस्तै सोमबार देशभरबाट थप ५ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । परीक्षण भएका ४ हजार ८ सय नमूनामध्ये ५ सय ६८ नमूनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको हो । मन्त्रालयका अनुसार पीसीआरबाट ३ हजार ८४ र एन्टिजेन विधिबाट १ हजार ७ सय १६ नमूनाको परीक्षण भएको थियो । जसमध्ये पीसीआरबाट ४ सय ५३ र एन्टिजेनबाट १ सय १५ जनामा संक्रमण पुष्टि भएको हो । आज कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । हाल कोरोना सक्रिय संक्रमितको संख्या ३ हजार ५ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ६३ हजार ३ सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले अनिवार्य मास्क लगाउन,भौतिक दुरी कायम गर्न र सरसफाईमा विशेष ध्यान आग्रह गरेको छ ।