आज घण्टाकर्ण । यो गठामुग नेवार समुदायको वर्षको पहिलो चाड हो । घर परिवार सबैको ग्रह, दशा कटाउने दिन पनि हो यो पर्व । गत दुई वर्ष कोरोना महामारीका कारण यो पर्व मनाइएन । यसपाली भने पर्व मनाउन लागिएको छ । नेवारी समुदायमा घण्टाकर्णलाई दुई रुपमा चित्रण गरिएको छ । एउटा घण्टाकर्ण अर्को गथामुग । तर दुबैको रुप एउटै, सेलाउने प्रक्रिया पनि एउटै । घण्टाकर्ण, गथामुग बारे रोचक किंवदन्तीहरु छन् । परापूर्वकालमा एउटा देवद्रोही विधर्मी राक्षस थियो । उ देवी देवताको नाम र धर्मकर्मका कुरा सुन्नु पर्छ भनेर कानमा ठूला–ठूला घण्ट झुण्डयाएर हिड्थ्यो र देवीदेवताको आवाज सुन्ने वित्तिकै जोड जोडले कान हल्लाइ घण्ट बजाउँथ्यो । कानमा घण्टा झुण्ड्याएर हिड्ने हुँदा त्यसको नाम घण्टाकर्ण रहन गएको भनिन्छ । त्यो राक्षस गाउँबाट बाहिर जंगलमा बस्थ्यो र दोबाटो चौबाटो आदिमा ढुकेर बाटामा हिड्ने बटुवासँग जगात (कर) असुल्थ्यो र कर नदिने मानिसलाई मारेर खाई दिन्थ्यो । त्यस नरभक्षि राक्षसको शिकार प्रायः असहाय महिला र बालबालिका हुन्थ्यो । यसरी पूरै मानव वस्ती घण्टाकर्णको आतंकबाट आजित भएको देखेर एकजना तान्त्रिक भ्यागुताको रुप धारण गरी घण्टाकर्ण भएको ठाउँमा पुगे ।
त्यसबेला घण्टाकर्ण भोकले छटपटाउँदै चौबाटोमा मानिसलाई ढुकेर बसेका थिए । घण्टाकर्णको आहारा भइने डरले त्यसबेला मानिसहरु घरमा नै लुकेर बसेका थिए । घण्टाकर्णले भ्यागुतालाई भेटेर मानव वस्ती जाने बाटो देखाई दिन अनुरोध गर्यो । भ्यागुतारुपी तान्त्रिकले त्यस घण्टाकर्ण राक्षसलाई गाउँको बाटो देखाउने भनेर दलदल धाप भएको बाटो हुँदै लिएर गए । जाँदा जाँदै त्यो घण्टाकर्ण राक्षस दलदल हिलोमा गाडियो बाहिर निक्सन सकेन । रातभर त्यो घण्टाकर्ण चिच्याउँदै वितायो । भोलिपल्ट गाउलेहरु आई त्यो दुष्ट राक्षसलाई ढुंगाले हानी मारी दिए । त्यही दुष्ट घण्टाकर्ण राक्षसलाई मारेको सन्दर्भमा यो पर्व मनाइएको मानिन्छ । अद्यापि उपत्यकामा जनै पूणिमाको दिन भ्यागुतालाई पूजा गर्ने दाल भात खुवाउने चलन छ । अर्को हो गठामुग, गठेमंगल । हुन त कतिपयले गठा मुग नभनेर गँथामुग भन्ने पनि गर्दछन् । नेपाल भाषामा गँ भनेको घण्टा था भनेको बजाउने र मुग भनेको हथौडा । यसरी घण्टा बजाउने हथौडा भन्ने गरिन्छ तर वास्तवमा गँथामुग नभएर गथामुग हो भनिन्छ । कसैले गथामुग भनेको दोबाटो, चौबाटो चौक पनि भन्ने गरेको पाइन्छ र त्यही अनुरुप उपत्यकाका कतिपय ठाउँहरु यो नामसँग मिल्ने गरेको पनि पाइन्छ । कसैले ग को अर्थ घर था को अर्थ स्तम्भ र मुगको अर्थ बलियो पनि भन्ने गरेका छन् । सबैको आ–आफनो तर्क रहेको छ ।
त्यसबेला उपत्यकामा जताततै प्रशस्त मात्रामा उब्जाउ जमिन थिए र उब्जनी पनि प्रशस्त मात्रामा हुन्थ्यो, जनसंख्या कम थियो । स्थानीय वासिन्दाहरुलाई वर्ष दिनको लागि सबै कुराको जोहो गर्नु पर्ने भएकाले वर्षातको मौसम अवधि भर खेतिपातीमा व्यस्त हुन्थे । बर्षाको बेला रोपाइँको समयमा घाम पानी हिलो केही नभनी मरीमरी खेतीपातीको काम गर्थे । कुनै कारणवंश खेतिपाती राम्रो भएन वा बिग्रिएमा अन्नको संकट पर्दथ्यो तथा वर्ष दिनको लागि आवश्यक वस्तु जोगाड गर्न सक्दैन थियो । त्यसैले बढी मिहेनत गरेर भए पनि काम सिध्याउनु पथ्र्यो । तर काम सजिलो हुँदैन थियो । डल्ला फोर्नु, माटो सम्याउनु, कुलो लगाउनु, धान रोप्नु आदि आदि सबै गर्नुपथ्र्यो । त्यो पनि सबै काम हातैले गर्नुपथ्र्यो । फेरि उपत्यकामा गोरुको प्रयोग गरिदैन । गोरुलाई भगवान पशुपतिनाथको बाहन भएकाले गोरु जोत्न हुँदैन भन्ने मान्यता अद्यापि काठमाडौं उपत्यकामा छ । यो बेलामा घरका कोही सदस्य मरे भने पनि खेतीको काम नसिद्धिएसम्म त्यस लाशलाई सुकुलमा बेरेर राख्थे र रोपाइँको काम सकिएपछि मात्र शतगति गर्न लैजाने र काजक्रिया गर्दथे । नेवारी भाषामा यसरी मरिमरि काम गर्ने लाई सिना ज्या भनिन्छ अर्थात् मरी मरी काम गर्ने भनिन्छ । यसरी कतिपय कामहरु सबै आफैले मात्र गर्न पनि सक्दैन थिए अनि त्यसबेला बलिया बलिया मानिसहरुको आवश्यकता पर्दथ्यो । तर घरका सबै सदस्यहरु पनि बलिया हुँदैनथे । त्यसैले काम गराउन तान्त्रिकको मद्दतले भूतको आह्वान गर्दथे र सो भूतलाई घरमा भित्राइन्थ्यो । त्यस भूतलाई मिठो मिठो ख्वाई खेतिपातिको काममा लगाउँथ्यो । खेतिको काम सकिएपछि त्यसलाई फिर्ता पठाउनु पथ्र्यो तर सो भूत जान मान्दैन थियो । फेरि पालेर राख्ने हो भने पनि यसले धेरै खाना खाई दिन्थ्यो । त्यसैकारण त्यसलाई श्रावण कृष्ण चतुदर्शीको दिन तान्त्रिक विधिबाट भगाइन्थ्यो । त्यसैले आजको दिन चाहे काठमांडौ उपत्यका होस् या बाहिर नेवार बस्ति भएका ठाउँ होस् या विदेशमा रहेका नेवार समुदायले घर भित्र रहेका सम्पूर्ण अपवित्र वस्तु, भूतप्रेत, पिसाच, राक्षस, उपियाँ उडुस तथा रोग व्याधि आदिलाई विधिवत पन्छाई आफनो वासस्थान, टोल, छिमेक र बाटोघाटो सफा बलियो एवं सुरक्षित बनाई राख्न यो पर्व मनाउँछन् । आफ्नो घर आगन, घरका कोठा, छिडी आदि सफा गर्ने, लिपपोत गर्ने र पवित्र बनाएर आफनो इष्टदेवको स्थापना गर्ने पूजा गर्ने गर्दछन् । त्यसैले भनिन्छ घरका अँध्यारा कुना र फोहोरमा मानिसलाई दुःख दिने राक्षस, दुष्ट आत्मा एवं भूतप्रेतको कारक समेत भएको हुँदा घरका कुनाकुनामा जम्मा भएको फोहोरलाई आजको दिनमा निकाली सफा गरिन्छ । यि भूतहरुलाई श्रावण कृष्ण चतुर्दशीको दिन तान्त्रिक विधि अनुसार नै भगाइन्छ । गथामुग भनेको भूतहरु बस्ने सामुहिक ठाउँ हो पनि भनिन्छ । यिनीहरु यसदिन चौबाटो, दोबाटोमा बस्छन रे । त्यसैले यस दिन टोलटोलको चौबाटो, दोबाटोमा प्रतिकात्मक भूतको पुतला राक्षस जस्तो बनाई दिनभर राखिन्छ । यसरी भूत बनाउनलाई उपत्यकामा नर्कट, छवाली, बाँस आदिको राक्षसरुपी पुतला बनाई डरलाग्दो मुखको आकृति बनाई राखिन्छ । साँझपख त्यसभेगका सबैसँग जगाति मागि पुतलामा आगो लगाई तानेर लगि खोलामा वा खोल्सातिर लगि फालिन्छ त कतै दोबाटोमा लगी आगो लगाइन्छ । कतै करिब चार पाँच जनाले बोक्ने गरी ठूलो राक्षस बनाई लिएर जान्छन् । स्थानीयहरु बच्चाहरु हात हातमा छवालीको मुठा बनाई त्यसमा आगो बालि आफ्नो घरको कुना काप्चा जताततै भूत बाहिर निस्की भनेर उक्त गठामुग सँगसंगै गई कोहीले दोबाटोमा लगेर जलाउँछन् आफुले लगेको छवालीको राँको पनि उही फालेर सेलाउँछन् । यसदिन साँझ राती जताततै भूतहरु भेट हुन सक्ने र दुख दिन सक्ने भएकाले सबैले अनिवार्य रुपमा फलामको औंठी लगाउँछन् भने भूत घरमा नआउस भनेर आफनो घरको मूलढोकाको माथि तीन खुट्टे किल्ला ठोक्दछन् । त्यसदिन कोही पनि बाहिर निस्कदैनन् ।
तानसेन बजारमा पनि घण्टाकर्ण गथामुग बनाउने चलन पहिले देखि नै छ तर अहिले आएर कुनै –कुनै टोलमा मात्र बनाउँछन् । यहाँ तितेपाटी घाँसको तीन खुट्टे राक्षसको जस्तो पुतला बनाई राक्षसकै अनुहारको फोटो टाँसी दिनभर टोलटोलको दोबाटो, चौबाटोमा राखिन्छ । सो राक्षसको पुतलामा कसैले जौ, तिल, चामल, नुन, बेसार, कालो कपडा दक्षिणा राखि आफ्ना परिवारका सबै सदस्यहरुलाई ढोगाई सबैको ग्रह दशा कटोस् भनेर पूजा गर्दछन् भने बाटो हिड्ने बटुवाहरुले पनि आफनो ग्रह दशा कटोस् भनेर स्वेच्छाले दक्षिणा चढाउने गर्दछन् । तानसेनको यो पुरानो मौलिक चलन विस्तारै लोप हुन थाले पछि देउराली साँस्कृतिक अध्ययन प्रतिष्ठानले केही वर्षदेखि आफै घण्टाकर्ण बनाई शित्तलपाटी भीमसेन मन्दिर अगाडि राख्ने गरेको छ । त्यसको अलावा नारायण युवा क्लवले नारायणटोलमा तथा बसपार्क समूहले वसपार्कमा राख्ने गरेको छ । अरुले राख्न छोडिसके पनि प्रतिष्ठानले जसले पनि घण्टाकर्ण बनाएर राखेमा पुरस्कार दिने व्यवस्था गरेको छ । दिनभरी गथामुगलाई दोबाटो, चौबाटोमा ठड्याएर राखिन्छ र साँझपख यसलाई सेलाउन लैजानु अघि सो काममा संलग्न एक जना युवाले उक्त टोलमा भएका घर–घरमा जगाती (कर) माग्दछन् । त्यसपछि साँझपख यस घण्टाकर्ण गथामुगलाई भूँइमा ढलाएर मुखमा आगो लगाएर घिसार्दे तल्लो टोलकाहरुले तीनधारामा र माथिल्लो टोलकाहरुले होलमङ्दीमा लगेर फाल्छन् या जलाएर सेलाउँछन् । अस्तु (लेखक देउराली सास्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)