Shittalpati
कोरोना

मन बहादुर खत्री
इस्मा–२, हस्तिचौर, मैनडाँडा, गुल्मी

कोरोना उब्ज्यो चिनको बुहान विश्वमा फैलियो
सचेत रहे छुदैन यस्ले  विश्वास् छ बलियो ।
ननिस्कौं यसै बाहिर कतै भिड्भाड्मा नपसौं
बाध्यता भए निस्कन कतै नाकमुखमा मास्क कसौं ।।

लगाऔं आफैं उपाय धेरै सकिन्छ जोगिन
आशंका लागे परीक्षण गरौं नखोजौं तर्किन ।
सामान्य रुघा कोरोना भन्दा निकै नै फरक छ
आत्तिनु धेरै पर्दैन कोही उपचार पुग्दछ ।।

लागेमा सुक्का खोकी र थकान सिगान बगेमा
सय प्वोइन्ट चार ज्वरो आएमा बस्नु एकान्त कोठामा ।
दुख्दछ टाउको पखाला लाग्छ लक्षण जानौं है
निर्देशन जे छ सरकारको यहाँ सबैले मानौं है ।।

दुखेर घाँटी अप्ठेरो सास फेर्न नि भएमा
घोलेर पानी कागतीसँग ठीक हुन्छ खाएमा ।
अदुवा, बेसार, लसुन, प्याज औषधी खाइरनू
सावुन पानी प्रयोग गरी बार्बार हात धुनू ।।
 
हाच्छिंयु गर्दा नाकमुख छोप्नु पर्दछ रुमालले
नाकमुख आँखा नछुनु खाली भुलेर हातले ।
बाहिरबाट आएका बन्धु बस्नू है अलग्गै
चौध दिन पछि लाग्दछ पत्ता छ छैन छर्ल·ै ।।

तात्तातो खाना तात्तातो पानी नियमित खाएमा
छुदैन यस्ले हातमा पञ्जा काम गर्दा लाएमा ।
नखानू मासु नखानू अरु जीवजन्तु नछुनू
पर्दछ हामीबीचको दूरी तीन फिट रहनु ।।          
बनेर शान्त बसौं है हामी केही हुन्न साथीभाइ
सुरक्षित बनौं जहाँ छौं त्यही कोरोना भगाई ।
सरकारले धेरै गरेको छ है चौतर्फी प्रबन्ध
नमस्कार गरौं हटाऔं सारा शारीरिक सम्बन्ध ।।

नबनौं कोही लाचारी यहाँ सचेत बनौं है
बाँचेर आफू आफन्त सारा दुनियाँ बचाउँ है ।
सम्भव भए घरैमा बसी अनलाइन काम गरौं
हल्लाको पछि नलागौं कोही सत्यमा भर परौं ।।

नेपाली हामी सचेत रहे लाग्दैन कोरोना
विधिवत् हात धोएमा मात्र लाग्दैन कोरोना ।
निडर बनौं सुग्घर रहौं बढाऔं आत्मबल
भाइरस हो यो सामान्य खाले छदैछ अस्पताल  ।।

घरैमा बसौं ननिस्कौं कतै भेट्घाट नगरौं
सिर्जनशिल बनौं रचना गरौं चिन्तामा नपरौं ।
समय आयो धैर्यता गर्ने आत्तिनु हुँदैन
जीवन शैली सुधारे मात्रै कोरोना हुँदैन ।।

जहाँ छौं हामी बसौंन त्यही सुरक्षित बनेर
पाइँदैन मुक्ति कोरोनाबाट भागाभाग गरेर ।
सुरक्षा आफ्नो आफैले गरौं दुनियाँ जोगाऔं
जुटेर सबै बनेर ज्ञानी कोरोना भगाऔं ।।

हुन्छ नि निको छोएनि यसले तुरुन्त मरिन्न
प्रबन्ध सबै गर्दैछ सरकार अलपत्र परिन्न ।
जोखिम यस्को घटाउन यहाँ देशै भो लकडाउन
कर्तव्य हामी सबको हो यहाँ पुराउने योगदान ।।

प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update