पाल्पा,नेपालमा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको ज्यान गएको छ । देशका विभिन्न स्थानमा उपचाररत संक्रमितको विहीबार ज्यान गएको हो । साउन १ गते यता नेपालमा १० जनाको कोरानाका कारण ज्यान गइसकेको छ ।
यस्तै एकै दिन ७ सय १० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार ५ हजार २५ नमुना परीक्षणमा ७ सय १० जनामा संक्रमण पुष्टि भएको हो । २ हजार ५ सय ४१ पीसीआरमा ५ सय २४ र २ हजार ४ सय ८४ एन्टीजेन परीक्षणमा १ सय ८६ जना संक्रमित फेला परेका छन् । बुधबार ५ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । २४ घण्टाको अवधिमा २ सय १५ जना निको भएका छन् । सोही अवधिमा २ जनाले ज्यान गुमाएका छन् । संक्रमित संख्या बिहीबारसम्ममा ४ हजार २ सय ३६ पुगेको छ । २४ घण्टाको अवधिमा ५९ हजार ४ सय ७१ जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण दैनिक बढिरहेकोले सावधानी अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले सरकारी, गैर सरकारी सबै कार्यालयहरु तथा मानिसको भिडभाड हुने ठाउँहरुमा अनिवार्य मास्क प्रयोग र प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा मास्क र स्यानिटाइजरको व्यवस्था अनिवार्य गराउनुपर्ने बताएको छ । मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई तथा स्थलगत प्रवेश नाकाहरुमा निगरानी बलियो र प्रभावकारी बनाउन निर्देशन दिएको छ । यस्तै मन्त्रालयले गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने स्थान, विद्यालय, विश्वविद्यालय, धार्मिकस्थलमा पनि मास्कको अनिवार्य प्रयोग गर्न भनेको छ ।