पाल्पा,नेपाली काँग्रेसले आगामी निर्वाचनलक्षित अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी काँग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदैछ । भदौ १० गतेदेखि सुरू हुने अभियानका लागि केन्द्रीय कार्यालयले सबै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको हो ।
पहिलो चरणमा भदौ १० देखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेण्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुने छ ।
काँग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई अभियान सुरू हुनुभन्दा दुई दिन अगावै सम्बन्धित जिल्ला पुगेर अभियानलाई सफल बनाउन निर्देशन गरेको छ । केन्द्रीय प्रतिनिधिहरू सम्बन्धित जिल्लामा कम्तिमा पाँच दिनसम्म कार्यक्रमहरूमा सहभागी हुनुपर्नेछ । काँग्रेसले रुपन्देहीमा योगेन्द्र चौधरी, कपिलवस्तुमा चन्द्रबहादुर केसी, पाल्पामा अब्दुल रञ्जाक, अर्घाखाँचीमा गोविन्दराज पोखरेल र गुल्मीमा देवेन्द्रराज कँडेललाई खटाएको छ ।