Shittalpati
आज कुसे औंसी, पितालाई विशेष सम्मान गरी मनाइँदै

पाल्पा, प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुसे औँसी पर्व आज पिताको विशेष सम्मान गरी मनाइँदै छ । यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

यस दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भिर्याउने समेत गर्दछन् । शास्त्रोक्त विधिअनुसार ब्राÞमणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतिक मान्दछन् । सृष्टिकर्ता ब्रÞमाजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ । आजका दिन घरघरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।

आजको दिन विशेष गरी आफ्ना बाबुको सम्मान गरिने परम्परा छ । यो दिन बाबु हुनेहरुले आफ्ना बुबाको योगदानको कदर गर्दै सम्मान गर्ने गर्छन् । बाबु नहुनेले भने दिवंगत पितालाई तर्पण, सिदादान र श्राद्ध गरेर एवं पिताप्रति आदर सम्मान गर्ने गर्दछन् । बुवालाई पिता, बाबा, ड्याडी, पापा आदि शब्दले पनि चिनिन्छ । यो दिनलाई अर्को शब्दमा पीतृऔंसी, पीतृदिवस, गोर्कण औंसी, कुशे औंशी आदि पनि भनिन्छ । आमापछिको द्वितीय गुरुका रुपमा शास्त्रले बर्णन गरेको छ । महत्वपूर्ण धार्मिक कार्य गर्नुअघि पनि पितृकै स्मरण गर्ने चलन छ । पीतालाई संरक्षण गर्ने, रक्षा गर्ने र पालनपोषण गर्ने चरित्रका रुपमा शास्त्रमा उल्लेख छ । औशीका दिन आफूलाई कर्म दिने बुवाको मुख हेर्न छोराछोरीहरू बुवा भएको ठाउँमा पुग्ने गरेका छन् । तर गत दुई वर्ष भने कोरोना महामारीका कारण धेरै सन्तानहरु बुबा भएको ठाउँमा पुग्न सकेनन् । यस वर्ष भने महामारी केही सहज भएकाले बाहिर रहेका सन्ततीहरु बुबा भएको ठाउँ जाँदै छन् । बुबालाई भेट्न नसकेकाहरु टेलिफोन तथा विभिन्न सामाजिक इमेल, स्काइप, फेसबुक लगायतका विभिन्न सञ्जाल मार्फत सम्झने र कुराकानी गरेर आशीर्वाद लिने तयारी गरेका छन् । घरमा रहेकाले बाबुलाई भेटेरै आशीर्वाद लिदै छन् ।

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update