तानसेन, बौद्ध दर्शनमा पवित्र मानिएको दानको महत्व दर्साउने ‘जुग पञ्चदान’ पर्व तानसेनमा मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन पाल्पासहित देशैभरका बौद्धमार्गी नेवार समुदायले यो पर्व मनाउने गर्दछन् ।
तानसेनमा पनि बरजु गुठी पाल्पाको आयोजनामा तानसेनमा रहेका बुद्ध विहारहरुमा जुग पञ्चदान कार्यक्रम गरी उत्साहपूर्वक यो पर्व मनाइएको हो । तानसेनमा बसोबास गर्ने शाक्य, बज्राचार्य र बुद्धाचार्यहरुका कूलपुत्रहरु, नेपाल परम्परागत बौद्ध धर्म संघ पाल्पा शाखाका अध्यक्ष गुरु पुरोहित चिनियामान बज्राचार्य, गुरुजुहरु,गुठीका सम्पूर्ण पदाधिकारी, सदस्यको उपस्थितीमा कार्यक्रम गरिएको थियो । तानसेनस्थित श्री धर्मचक्र महाविहार बडिज्ञान टोलमा भेला भई र्याली र ढिमे बाजागाजासहित आनन्द विहार, महाचैत्य विहारमा पुगी जुग पञ्चदान गरिएको थियो । दीपंकर बुद्ध यात्राको क्रममा परम्परागत गुँला धाः बाजा, दाफा भजन श्रृङ्गभेरी बाजा आदि सांगीतिक समूहहरुले आ–आफ्नो बाजाको प्रदर्शनी गर्ने प्रचलन रहेको छ ।
सबैको उत्साहजनक सहभागीतामा पञ्चदान पर्व मनाइएको बरजु गुठीका अध्यक्ष सुरेशमान बुद्धाचार्यले बताए । विशेषतःशाक्य बुद्धाचार्य, बौद्धाचार्य र बौद्ध धर्मावलम्बीहरुले २०७९ श्रावण १३ देखि भाद्र १२ सम्म पर्ने गुंला धर्म पर्वमा दान, शिल र भावनामा बिताउनु पर्ने र पुण्य सञ्चय गर्ने समयमा जुग पञ्चदान गर्ने परम्परा रहेको गुठीका अध्यक्ष बुद्धाचार्यले बताए । उनका अनुसार बौद्धमार्गीहरुले आफू बुद्धका अनुयायी भएको कारण आफूले आर्जन गरेको आयको केही अंश दानका लागि राख्ने र सोही दान पञ्चदान पर्वमा दान गर्ने प्रचलन रहँदै आएको छ । दान दिएर पुण्य कमाउन इच्छा हुने दानी दाताहरुबाट विहारहरुमा रहेको दानशालामा दान दिने व्यवस्था मिलाइएको थियो । यस दिन शाक्य, बज्राचार्य र बुद्धाचार्यहरुका कूलपुत्रहरुले दान वाक्य पाठ गर्दै दान दिने र लिने गरिन्छ । दान दिने र लिने दुबै पक्षलाई पुण्य प्राप्त हुने कथन रहेको छ । तर पछिल्लो समय दान वाक्य पाठ गर्ने संस्कृति विस्तारै हराउँदै जान थालेको छ । संस्कृति हराउँदै जान थालेपछि बरजु गुठी पाल्पाले भने यसको संवद्र्धन र प्रवद्र्धन गर्न हरेक वर्ष यो कार्यक्रम गर्दै आएको जनाएको छ ।